काभ्रे–सञ्चारकर्मीको क्षमता विकास, पत्रकार महासंघको संस्थागत विकाससहितका विषयलाई केन्द्रमा राख्दै नेपाल नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाको तीन वर्षे कार्ययोजना तयार भएको छ ।
शाखा अध्यक्ष विनोदकुमार न्यौपाने नेतृत्वको कार्यसमिति, शाखाका पूर्वअध्यक्ष एवं सल्लाहकार परिषद सदस्यहरु भोजराज तिमिल्सना, इश्वरीप्रसाद ओझा, भोला थापा, महेशराज पौडेल, नारायण सापकोटा, मोतिराम तिमल्सिना, बद्रिप्रसाद तिमल्सिना, प्रेससम्वद्ध संघसंगठनका अध्यक्ष एवं प्रतिनिधीको उपस्थितीमा सम्पन्न रणनीतिक योजना निमाूणसम्वन्धी कार्यशालाले कार्ययोजना निर्माण गरेको हो । कार्यशाला पनौती ११ स्थित थुम्की रिसोर्टमा दुई दिनसम्म सञ्चालन भएको थियो । कार्यशालाले जेष्ठ पत्रकारलाई वृत्ति प्रदान गर्ने, कल्याणकारी कोषको रकम वृद्धि गर्ने, सञ्चारकर्मीको क्षमता अभिवृद्धिमा जोड दिन तालिमहरु सञ्चालन गर्ने लगायतका १३ वुँदे कार्ययोजना निर्माण गरेको हो ।
कार्यक्रमकै अवसरमा थुम्की रिसोर्ट प्रालिले नेपाल पत्रकार महासंघ काभ्रे शाखाको नवनिर्वाचित कार्यसमितिलाई सम्मानसमेत गरेको छ । रिसोर्ट सञ्चालक लक्ष्मण तिमल्सिनाले अध्यक्ष विनोदकुमार न्यौपानेलाई सम्मानपत्र प्रदान गरेका थिए ।
यस्ता छन् कार्ययोजना
१. नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको भवन निर्माणलाई ३ महिनाभित्र पूर्णता दिइनेछ ।
२. नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको निर्माणाधिन वेबसाइट ३ महिनाभित्र नै पुरा गरी पुराना अभिलेख, पत्रकार महासंघका सदस्यहरुको डिजिटल प्रोफाइलसहित महासंघका सम्पूर्ण गतिविधि र जानकारीहरु प्रकाशन गरिनेछ ।
३. जिल्लास्थित सञ्चार माध्यमको संस्थागत विकास, व्यवसायिक उन्नयनको लागि महासंघबाट समन्वयकारी भूमिका निर्वाह गरिनेछ। लोककल्याणकारी विज्ञापन लगायतका विषयमा समन्वय गरिनेछ ।
४. वार्षिक रुपमा कम्तीमा दुईपटक विभिन्न संघसंस्था तथा स्थानीय सरकारसँगको सहकार्यमा पत्रकारहरुका लागि क्षमता अभिवृद्धिको लागि विधागत तालिमहरु सञ्चालन गरिनेछ ।
५. पत्रकार महासंघ काभ्रेपलाञ्चोकको कार्यालयमा ऐतिहासिक दस्तावेज, पत्रिका एवं पुस्तकहरुसहितको लाइब्रेरी स्थापना गरिनेछ ।
६. नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाको स्थापनादेखि हालसम्म भएका सम्पूर्ण बैठकका निर्णयहरुको अभिलेखीकरण गरिनेछ।
७. नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकले विगतमा प्रदान गर्दै आएका पुरस्कार एवं सम्मान कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
८. जिल्लाका सबै स्थानीय सरकारहरुसँगको सहकार्यमा जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाहरुसंग स्थानीय तहका सवालहरुमा अन्तरक्रिया, अभिमुखिकरण, तालिम लगायतका कार्यक्रम सञ्चालन गरिनेछ।
९. पत्रकारिता क्षेत्रमा महिला तथा दलित, जनजाती लगायतका समुदायको उपस्थितिलाई बढाउन सरोकारवालाहरुसंगको सहकार्यमा कार्यक्रमहरु तय गरिनेछन् ।
१०. सञ्चारिका समूह, क्रियाशिल पत्रकार महिला लगायतका पत्रकार क्रियाशिल पत्रकार महिलासँग सम्बन्धित संघसंस्थासँगको सहकार्य र समन्वयमा तालिम, अन्तरक्रिया लगायतका विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
११. पत्रकारसँग सम्बन्धीत विभिन्न संगठनसँगको सहकार्य र समन्वयलाई विशेष जोड दिदै समय समयमा छलफल अन्तरक्रिया लगायतका कार्यक्रम सञ्चालन गरिनेछन् ।
१२. नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको रु. ५ लाखको कल्याणकारी कोषलाई तीन वर्षभित्र १५ लाख रुपैयाँको बनाउन जोड दिनेइछ ।
१३. ६५ वर्ष पुगेका जेष्ठ पत्रकारका लागि वृत्ती प्रदान गर्न कोष स्थापना गरिनेछ ।
१४. जिल्लामा सञ्चालित सञ्चारमाध्यममा जनशक्ति व्यवस्थापन, रोजगारी सिर्जना, खोज, अनुसन्धान लगायतका कार्य गर्न आमसञ्चार तथा पत्रकारिता पढाई हुने शैक्षिक संस्थाहरुसंग सहकार्य अघि बढाइनेछ ।
१५. खोज, अनुसन्धान र लेखन क्षमता अभिवृद्धिको लागि लेखनवृक्ति, प्रोत्साहन रकम प्रदान गरिनेछ ।
१६. विभिन्न संघसंस्थासंगको सहकार्यमा पत्रकारको दुर्घटना विमा, स्वास्थ्य विमा लागू गरिनेछ ।