काभ्रे– काभ्रेमा चार महिनामा ५३ जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेले फैसला कार्यान्वयन अभियान अन्र्तगत चार महिनामा त्रिपन्न फरार प्रतिवादी पक्राउ गरेको हो ।
कार्यालयका प्रहरी नायव उपरीक्षक रविन विष्टले फैसला कार्यान्वयन अभियान अन्र्तगत साउनदेखि कात्तिक मसान्तसम्म ५३ फरार प्रतिवादी पक्राउ गरेको बताउनुभयो । उहाँले प्रहरीले सबैभन्दा बढी बैङ्किङ कसुरका २३ जना, चेक अनादरका १४ जना, अभद्र व्यवहारका एक जना, ठगी मुद्दाका एक, लागु औषध (गाँजा) दुई जना, सामुदायिक क्षेत्रका अबैध रुख कटान एक जना र लेनदेन मुद्दाका तीन जना फरार प्रतिवादी पक्राउ गरिएको बताउनुभयो । यस्तै झुटा विवरण पेश गरी नागरिकता प्रमाणपत्र लिएको र लिखत सम्बन्धी कसुरका एक जना, झुटा विवरण पेश गरी नागरिकता प्रमाणपत्र लिएको मुद्दाका दुई जना, सवारी ज्यान मुद्दाका एक, बहुविवाहका एक जना पक्राउ गरेको हो ।
प्रहरीले न्यूनस्तरको खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण गरेको मुद्दाका एक र करार बमोजिम रकम दिलाई पाउ मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । प्रहरीले बैङ्किङ कसुरमा दुई वर्ष, लागु औषध (गाँजा) मा एक वर्ष, लेनदेनमा पाँच वर्ष, बहुविवाहमा एक, करार बमोजिम रकम दिलाई पाउन मुद्दाका दुई वर्षका प्रतिवादी पक्राउ गरेको हो । प्रनाउ विष्टले पक्राउ परेका विभिन्न मुद्दाका प्रतिवादीबाट १२ वर्ष आठ महिना सात दिन कैद सजाँय असुल गर्न बाँकी रहेको बताउनुभयो ।
पक्राउ परेका प्रतिवादीमध्ये बैङ्किङ कसुरमा दुई करोड ६५ लाख १३ हजार एक सय, चेक अनादरमा ३४ हजार, ठगीमा ३५ हजार लागु औषधमा पाँच हजार, अबैध रुख कटानमा एक लाख दुई हजार आठ सय, सरकारी छाप दस्तखत किर्तेमा ५० रुपियाँ जरिवाना असुल गर्नुपर्ने रहेको छ । त्यसैगरी झुटा विवरण पेश गरी नागरिकता प्रमाणपत्र लिएको र लिखत सम्बन्धी कसुरमा १५ हजार, बहुविवाहमा पाँच हजार, न्यूनस्तरको खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरणमा ५० हजार गरी कुल दुई करोड ६७ लाख ५९ हजार ९५० जरिवाना असुल हुनेछ ।
यसैबीच काभ्रेपलाञ्चोक प्रहरीले गत असोज २३ र २४गते भएको जेनजी समूहको आन्दोलनका क्रममा विभिन्न सरकारी, प्रहरी कार्यालय भवन, सम्पतिमाथि तोडफोड, आगजनी र लुटपाटमा संलग्न रहेका करिब दुई दर्जनलाई पक्राउ गरेको छ । प्रनाउ विष्टले तोडफोड, आगजनी र लुटपाटमा संलग्न रहेका व्यक्तिलाई म्याद थप गरी अनुसन्धान अघि बढाइएको बताउनुभयो । उहाँले पक्राउ परेका व्यक्तिलाई अपराधिक उपद्रवमा मुद्दा चलाइएको बताउनुभयो । पक्राउ परेकामध्ये हाल १८ जना प्रहरी हिरासतमा रहेका छन् ।