२५ लाखको एउटा झोला खोज्दा काभ्रे प्रहरीले भेट्टाएको थियो अर्कै २५ लाख !


मेचीकाली

बनेपा– जिल्ला प्रहरी कार्यालय काभ्रेमा हिजो मंगलबार आफूहरुको २५ लाख रुपैयाँ लुटिएको भन्दै एउटा सूचना प्राप्त भयो । आइटिपार्क नजिकैको जंगलमा लुटिएको २५ लाख र लुटेराको खोजीमा प्रहरी तत्कालै परिचालन भयो । र, प्रहरीले केही समयमै काभ्रेको साँगाबाट २ जनालाई २५ लाख रुपैयाँसहित पक्राउसमेत ग¥यो । 

प्रहरीको अनुसन्धानले त्यतिबेला अर्कै मोड लियो, जब त्यो २५ लाख रुपैयाँको ‘कनेक्सन’ दिउँसो जंगलबाट लुटिएको नभई अवैध सुनको कारोबार गर्नेसम्म देखियो । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार साँगाबाट बरामद २५ लाख रुपैयाँको कनेक्सन बनेपामा अवैध रुपमा सुन र चाँदीका गहना बनाउने गिरोहसँग देखिएको छ । यद्यपि त्यसको असली मालिक को हो भन्ने खुलिसकेको छैन भने आज गिरोहमा संलग्न थप ५ जना पक्राउ परेका छन् । 

प्रहरीले हिजो सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका बस्ने बर्ष २१ को राजन धमला र जिल्ला सप्तरी छिनमस्त गाउँपालिका ६ बस्ने बर्ष ३८ को संजय कुमार साहलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो । अनुसन्धानकै क्रममा बनेपा नगरपालिका वडा नं. ७ परिवार नियोजन चोकमा रहेको आदिरत्न शाक्यको घर भाडामा लिएर सञ्चालन गरिएको मनकामना ज्वेलर्स एण्ड मेकिङ सेन्टरमा प्रहरीले आज छापा मारेर गिरोहमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेको हो । हिजो साँगाबाट पक्राउ परेकाहरुमाथि अनुसन्धानको क्रममा उनीहरुको सम्वन्ध मनकामना ज्वेलर्स एण्ड मेकिङ सेन्टरमा भइरहेको अबैध रुपमा सुनका गहना बनाउने गिरोहसँग देखिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएस्पी मिन बहादुर घले नेतृत्वको टोली सुनका गहना बनाउने कारखानामा छापा मार्न पुगेको थियो ।

प्रहरीले उक्त ज्वेलर्सका संभारतको पश्चिम बंगाल राज्य मदनपुर जिल्ला पसवाई ग्राम पञ्चायत दासपुर थाना घर भएको बर्ष ४७ को दिपंकर मैतीको कोठाबाट सुन जस्तो देखिने पहेलो धातुका गर–गहना ६ सय ७८ दशमलव ८३ ग्राम, भारतिय रुपैया २५ हजार ३ सय १० र नेपाली रुपैयाँ १ लाख २१ हजार ५ रुपैयाँ बरामद गरेको छ । 

यस्तै भारतको पश्चिम बंगाल मेदिनिपुर निजामपुर घर भई पाँचखाल ४ बस्ने बर्ष ३० को सुमन सासमोलको साथबाट २३ दशमलव ०८० ग्राम सुनको धातु जस्तो देखिने टुक्राहरु, जोतभन्साम घर भइ बनेपा न.पा. ७ बस्ने बर्ष ३८ को ऋषीकेश गोड्सेको कोठाबाट चाँदी जस्तो धातु ३ सय २७ दशमलव ७५० ग्राम बरामद भएको छ भने उनीहरुसँगै बर्ष २२ को बिजय घोराई र बर्ष ३८ को दिपंकर साउ पनि पक्राउ परेका छन् । पक्राउ परेका सातै जनालाई राजस्व अनुसन्धान विभाग पठाइएको छ । 

कसको लुटिएको थियो त २५ लाख ?

जिल्ला प्रहरी कार्यालयमा २५ लाख रुपैयाँ लुटिएको सुचना दिने व्यक्ति बुटवल निवासी हुन् । उनीहरु सस्तो दरमा डलर साट्न पाइने भन्दै २५ लाख रुपैयाँसहित बनेपा आएका थिए । डलर साट्ने गिरोहले आइटीपार्क नजिकै जंगलमा उनीहरुलाई लगेर एउटा रुपमालमा बेरिएको पोको डलर भन्दै दिएका थिए । उक्त पोको दिएसँगै २५ लाख रुपैयाँ लिएर २ जना फरार भएका थिए । केही तल पुगेर हेर्दा पोकोमा डलर नभई नेपाली २० रुपैयाँ दरका नोट अन्दाजी १४ हजार रुपैयाँ रहेको पाएपछि ठगिएकाहरुले प्रहरीमा खबर गरेका थिए । ठगीमा परेकाहरुको निवेदन लिएर २५ लाख रुपैयाँ लिएर भागेकाहरुको खोजी कार्य भने जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 


प्रतिक्रिया



थप समाचारहरु