'ज्ञानकुञ्ज रोड रेस'को छैटौँ संस्करण वैशाख २६ गते


मेचीकाली

बनेपा-ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान बनेपाले प्रत्येक वर्ष आयोजना गर्दै आएको ज्ञानकुञ्ज रोड रेस प्रतियोगिताको छैटौं संस्करण यही वैशाख २६ गते हुने भएको छ ।

प्रतिष्ठानले प्रत्येक वर्ष  माध्यमिक शिक्षा परिक्षा (एसईई) दिएर बसेका विद्यार्थीलाई सहभागी गराउँदै ज्ञानकुञ्ज रोड रेस आयोजना गर्दै आएको छ । विगतका वर्षमा जेठको अन्तिममा हुँदै आएको रोड रेस यसपटक एसईईको नतिजा चाँडै आउने भएकाले वैशाखमा नै हुन लागेको आज बनेपामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

रोड रेसमा छात्रातर्फ ३ दशमलव ६ किलोमिटर र छात्रतर्फ ७ किलोमिटर दौड प्रतियोगिता हुने प्रतिष्ठानका प्रबन्ध निर्देशक प्रताप वैद्यले जानकारी दिए । पाँचौं संस्करणमा २ सय ५० जना विद्यार्थी सहभागी थिए । 

छात्रहरुको ७ किलोमिटर दौड पनौतीबाट बनेपा पुरानो बजार हुँदै ज्ञानकुञ्ज स्कुलसम्म हुनेछ भने छात्राहरुको दौड बनेपा तिनदोबाटोबाट शुरु भइ गणेस्थानबाट चण्डेश्वरी मन्दिर पुगि पुरानो बजार हुँदै विद्यालयमा आएर टुंगिनेछ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्ने प्रवन्ध निर्देशक वैद्यले जानकारी दिए । प्रतियोगिता व्यवस्थित गर्न २०० जना स्वंयमसेवक, सुरक्षाकर्मी समेत परिचालन हुने उनले जानकारी दिए ।

यसपटकदेखि रोड रेसमा काभ्रे जिल्लाका विद्यार्थी मात्र सहभागी गराइनेछ । रोड रेसमा सहभागी हुन चाहने विद्यार्थीले वैशाख २४ गतेसम्म नाम दर्ता गराउन सक्नेछन् । उनीहरूले एसईईको सक्कल प्रवेशपत्र या विद्यालयका प्रधानाध्यापकद्वारा प्रमाणित प्रतिलिपी पेश गरेर नाम दर्ता गर्न सक्नेछन् ।

प्रतिक्रिया



थप समाचारहरु