बनेपामा हलिं नेवा गुथिको राष्ट्रिय सम्मेलन हुँदै


मेचीकाली

काभ्रे–विश्वभरका नेवा समुदायको साझा संस्था हलिं नेवा गुथिको राष्ट्रिय सम्मेलन काभ्रेको ऐतिहासिक शहर बनेपामा आयोजना हुने भएको छ ।

हलिं नेवा गुथिं काभ्रे मिसा कचाको आयोजनामा यही फागुन ९ गते शनिबार सम्मेलन हुन लागेको हो । सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको सम्मेलन आयोजक समितिले आज बनेपामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । 

पत्रकार सम्मेलनमा काभ्रे मिसा कचा अध्यक्ष अल्का जोशीले सम्मेलनलाई सफल बनाउन सम्पूर्ण नेवा समुदाय र आम काभ्रेबासीमा अपिल गरिन् । काभ्रे जिल्लाकै गौरवको रुपमा सम्मेलन सम्पन्न गर्नेगरी तयारी अघि बढाइएको जोशीले बताइन् । 

सम्मेलनमा देशभरका ८० भन्दा बढी शाखाबाट ८ सयदेखि १ हजार जनासम्म प्रतिनिधि सहभागी हुनेछन् । सम्मेलन बनेपाको कायस्थ बेंक्वेटमा हुनेछ । त्यसअघि बनेपामै सांस्कृतिक पदयात्रासमेत आयोजना हुनेछ । नगर परिक्रमा गर्ने सांस्कृतिक पदयात्रामा लाखे नाच, धिमे बाजा, लाखे प्याख, नेवारी बाँसुरी, नायश्वि बाजा पनि सहभागी गराइने छ ।

फागुन ९ गते शनिबार बिहान ९ः०० बजे बनेपा वकु गणेशस्थान (रेडक्रस पोखरी) बाट नेवारी साँस्कृक्तिक झाँकी पदयात्रा सुरु गरी बनेपा नगर परिक्रमा पछि समयबजीको व्यवस्था गरिएको आयोजकले जनाएको छ । १२ः१५ बजेबाट प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरुको उपस्थितिमा औपचारिक उद्घाटन हुने सम्मेलनको सभापतित्व केन्द्रीय अध्यक्ष सुरेश सैजुले गर्नेछन् । कार्यक्रममा नेवारी परम्परा झल्किने साँस्कृतिक नृत्य, गित, कविता, कथा प्रस्तुतीका साथै सहभागी नेवाः साथीहरु आपसी सद्भाव आदान प्रदान गरी सन्ध्यामा नेवारी भोज (सुकु भ्वयः) खाइसकेपछि सो कार्यक्रम सम्पन्न हुनेछ । कार्यक्रमले काभ्रे जिल्लाका विभिन्न स्थानहरुको पर्यटन विकासका उल्लेख्य भुमिका खेल्नेछ भन्ने विश्वास लिइएको आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा गुथिका केन्द्रीय अध्यक्ष सुरेश सैंजूले हलिं नेवा गुथि संसारभर रहेका नेवा समुदायको साझा संस्था भएको र नेवा संस्कृतिको संरक्षण संवद्र्धनमा गुथिले काम गर्दै आइरहेको बताए । उनले गुथिले विभिन्न सामाजिक कार्यहरुसमेत गर्दै आइरहेको बताए । उनका अनुसार १७ वर्षअघि स्थापना भएको गुथिले देशका विभिन्न जिल्लाको बस्तीहरुमा नेपालभाषा लिपि, संस्कृति, रहनसहन, व्यवसाय, संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्दै आइरहेको छ । गुथिको नेपाल र अन्य मुलुकमा गरी १ सय ४७ वटा शाखा रहेका छन् । 

हलि नेवा गुथि काभ्रे मिसा कचाकी संस्थापक अध्यक्ष इश्वरी वादे श्रेष्ठले प्रत्येक २ वर्षमा गुथिको नेतृत्व परिवर्तनको सम्मेलन आयोजना हुने र यसपटक भने साधारणसभामात्रै हुने जानकारी दिइन् । नेवा संस्कृति, रितिथिति बचाउन सम्मेलनले महत्वपूर्ण योगदान गर्ने अपेक्षा लिइएको उनको भनाई छ ।


प्रतिक्रिया



थप समाचारहरु