रक्सीले मातेर मजदूरको हत्या, १२ घण्टामै अभियुक्त पक्राउ


मेचीकाली

बनेपा– काभ्रेको बनेपा नगरपालिका वडा नं. १ घिमिरेगाउँ नजिकै आइतबार बिहान एउटा शव भेटियो । हत्या गरेर फालिएको अवस्थामा भेटिएको उक्त शव सिन्धुलीको मरिण गाउँपालिका ५ घर भई बनेपा नगरपालिका वडा नं. १  मा मजदुरी गर्दै आएका ५५ वर्षका दूधलाल थिङको थियो ।

शव फेला परेलगत्तै अनुसन्धानमा जुटेको प्रहरीले १२ घण्टाभित्रै हत्याका अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ । तालिमप्राप्त कुकुरसहित अनुसन्धानमा जुटेको प्रहरीले थिङको हत्यामा संलग्न रहेका भक्तपुरको चाँगुनारायण नगरपालिका– ८ का २१ वर्षीय समिर राय र काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका–१ का २२ वर्षीय ईश्वर विकलाई पक्राउ गरेको हो ।

उनीहरुलाई आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ । शनिवार राति राय र बिक मादक पदार्थ सेवन गरेर घर फर्कँदै थिए । बाटोमा उनीहरुको भेट थिङसँग भयो । सोही क्रममा उनीहरुबीच सामान्य भनाभन भएको थियो । भनाभनकै क्रममा रक्सीले मातेका राय र बिक मिलेर दूधलालमाथि कुटपिट गर्न थाले । दुईजना मिलेर कुटपिट गरेपछि ढुंगाले हानेर दुधलालको हत्या गरेको पाइएको  ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।  घटनापछि लुकेर बसेका दुवै युवालाई आईतबार राति पक्राउ गरिएको सुवेदीले बताए ।

 घटनामा संलग्न रहेका ईश्वरले दुधलालको हत्या गर्दा प्रयोग गरेको सर्ट, पाइन्टमा रगत लागेको कपडा लुकाएर राखेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले मृतक दुधलालले प्रयोग गरेको पाइन्ट, भेष्ट, चप्पल, ब्याग, ज्याकेट बरामद गरेको गरेको छ ।  दुधलालको हत्यामा संलग्न भएको भन्दै मृतकका छोरा ज्याम्जो थिङले आईतबार प्रहरीकोमा कर्तव्य ज्यान कसुरमा जाहेरी दिएको प्रहरीले जनाएको छ । थिङको हत्याको आरोपमा पक्राउ परेका दुवैलाई मुलुकी फौजदारी अपराध संहिता २०७४ को ज्यान सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया



थप समाचारहरु