काभ्रे–राज्यको ढुकुटीले स्वास्थ्य बीमा कार्यक्रम थेग्न नसकेको खबरहरु आइरहँदा स्वास्थ्य बीमालाई असफल बनाउन सरकार नै अग्रसर भएको छ । बीमा गरेका बिरामीलाई सरकारी स्वास्थ्य संस्था गएपछिमात्रै निजी तथा सामूदायिक अस्पताल जानुपर्ने बाध्यकारी व्यवस्था ल्याउँदै सरकारले बीमा कार्यक्रमप्रतिको आकर्षण घटाउने योजना बनाएको हो । सरकारले ऐन र नियमावली संशोधन गर्दै स्वास्थ्य बीमा कार्यक्रममा सरकारी स्वास्थ्य संस्थाबाट मात्रै प्रथम सेवा विन्दुको सेवा लिन पाउने व्यवस्था गरेको छ ।
नयाँ व्यवस्थाका कारण नेपालकै उत्कृष्ट अस्पतालहरुको सूचीमा पर्ने काभ्रेको धुलिखेल अस्पताललाई प्रथम सेवा विन्दु तोकेका साढे २ लाख भन्दा बढी बिरामी प्रभावित हुने भएका छन् । धुलिखेल अस्पताललाई प्रथम सेवा विन्दु तोकेर २ लाख ५३ हजार ६ सय ८८ जनाको स्वास्थ्य बीमा भएको छ । अब नयाँ व्यवस्थापछि सामूदायिक अस्पताल धुलिखेल अस्पतालको प्रथम सेवा विन्दुबाटै विशेषज्ञ र अत्याधुनिक परिक्षण लगायतका उपचार सेवा लिँदै आएका सेवाग्राहीले अब ती सेवा लिनको लागि रिफरल (प्रेषण पत्र) लिनुपर्नेछ । प्रथम सेवा विन्दु तोकिएका सरकारी स्वास्थ्य संस्थामा उपलव्ध नहुने विशेषज्ञ सेवा लिन मात्रै सेवाग्राहीले धुलिखेल जस्ता रिफरल अस्पताल जानुपर्ने छ ।
नयाँ व्यवस्थापछि धुलिखेल अस्पतालले आज पत्रकार सम्मेलन गर्दै साउन १ गतेदेखि सरकारी स्वास्थ्य संस्थाबाट रेफरल सिट (प्रेषण पुर्जी) लिएरमात्रै बीमामार्फत उपचारका लागि आउन सेवाग्राहीलाई आग्रह गरेको छ । काभ्रेमा ५ वटा स्वास्थ्य संस्थाबाट प्रथप सेवा विन्दुको रुपमा सेवा लिने व्यवस्था गरिएको छ । जसमा पनौती नगरपालिकामा तीनवटा स्वास्थ्य संस्था (खोपासी प्राथमिक स्वास्थ्य केन्द्र, सुन्थान प्राथमिक स्वास्थ्य केन्द्र, पनौती प्राथमिक स्वास्थ्य केन्द्र), धुलिखेलस्थित धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र र नमोबुद्धस्थित मेथिनकोट अस्पताल रहेका छन् । अब निजी तथा सामूदायिक अस्पतालमा जाने बिरामीहरु सुरुमा यीमध्ये कुनै एक स्वास्थ्य संस्थामा गएर स्वास्थ्य परिक्षण र उपचार गराउनुपर्नेछ । यी स्वास्थ्य संस्थामा उपचार सम्भव नभएमात्रै धुलिखेल अस्पताल लगायत बीमामा आवद्ध अन्य निजी तथा सामूदायिक अस्पतालहरुमा जानुपर्ने बाध्यता सिर्जना भएको छ ।
पत्रकार सम्मेलनमा अस्पतालका निर्देशक डा. बलराम मल्लले साउन १ गतेदेखि नयाँ व्यवस्था अनुसार सेवा लिन आउनेलाई प्रेषण पुर्जी (रिफरल सिट) लिएर आउन अनुरोध गरे । उनका अनुसार, विमा सेवा शुरु गरेको ६ बर्षको अवधीमा धुलिखेल अस्पतालले १० लाख ६४ हजार ५ सय ९४ जनालाई सेवा दिइसकेको छ । ९ लाख ६७ हजार ८ सय ३ जनाले बहिरंग (ओपीडि) विभाग, ४२ हजार ९ सय ३१ जनाले अन्तरंग (इनपेसेन्ट) विभाग र ५३ हजार ८ सय ६० जनाले आकस्मिक विभागबाट सेवा लिएको अस्पतालले जनाएको छ । स्वास्थ्य विमा लागू भएका अन्य स्वास्थ्य संस्था भन्दा गुणस्तरीय सेवा भएको कारण विरामीको रोजाइमा धुलिखेल अस्पताल पर्दै आएको छ ।
एक वर्षदेखि अस्पतालले बीमाको भुक्तानी पाएन
पत्रकार सम्मेलनमा धुलिखेल अस्पतालका अधिकारीहरुले एक वर्षदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाएको बताए । धुलिखेल अस्पतालले चालु आर्थिक वर्ष सुरु भएदेखि नै भुक्तानी रकम पाउन सकेको छैन । चालु आर्थिक वर्षमा स्वास्थ्य बीमाको ६९ करोड रुपैयाँ भुक्तानी नभएको डा. मल्ले जानकारी दिए । सरकारले भुक्तानीमा ढिलाई गरिरहे पनि अस्पतालले बिरामीको सेवामा कुनै कसर बाँकी नराखेको मल्लले बताए । पत्रकार सम्मेलनमा डा. सुमनराज ताम्राकार लगायतले स्वास्थ्य बिमामा गरिएको पछिल्लो व्यवस्थाले पार्ने प्रभावबारे धारणा राखेका थिए ।