काभ्रेका सत्र हजार सात सय बालबालिकालाई पोलियोको खोप


मेचीकाली

काभ्रे– सरकारले अघि सारेको आईपिभी (इनएक्टिभेटेड पोलियो भ्याक्सिन) खोप अभियान अन्र्तगत काभ्रेपलाञ्चोक जिल्लाका सत्र हजार सात सय बालबालिकाहरुलाई पोलियो रोग विरुद्धको खोप लगाइने भएको छ । जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोककाले जेठ १३ देखि २६ गतेसम्म सञ्चालन हुने आईपिभी खोप अभियानमा जिल्लाका १७ हजार ७५९ बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइने जानकारी दिइएको हो । 

जनस्वास्थ्य कार्यालयका प्रमुख रागीश्री कक्षपति श्रेष्ठले नेपालमा आईपिभी खोप सेवा २०७१ सालदेखि सुरु भएपनि २०७३ जेठदेखि २०७५ भदौसम्म विश्वव्यापी रुपमा नै उक्त खोपको अभाव भएका कारण त्यस अवधिमा आईपिभी खोप लगाउन छुटेका बालबालिकालाई पोलियोको जोखिमबाट बचाउनका लागि आईपिभी खोप अभियान सुरु गरिएको बताउनुभयो । उहाँले अभियान अन्र्तगत सिकिस्त बिरामी र पहिला खोप लगाउँदा समस्या देखिएका बालबालिकालाई भने खोप नलगाइने बताउनुभयो । उहाँले खोप अभियान अन्र्तगत २०७३ बैशाख महिनादेखि २०७५ असोज महिनासम्म जन्मिएका बालबालिकाहरुलाई मात्रै उक्त खोप लगाइने बताउनुभयो । सरकारले उक्त अवधिमा जन्मिएका देशभरका करिब १४ लाख ६२ हजार ७१२ जनालाई खोप लगाउने लक्ष्य लिएको छ । 

कार्यालयका खोप अधिकृत पार्थमणी न्यौपानेले धुलिखेल नगरपालिकाका एक हजार ३०६ जना, बनेपा नगरपालिकाका चार हजार ९७९ जना, पनौतीका दुई हजार ९१० जना, पाँचखालका दुई हजार २०२ जना, मण्डनदेउपुरका एक हजार १७१ जना, नमोबुद्ध नगरपालिकाका एक हजार १४६ जना बालबालिकालाई उक्त खोप लगाउने लक्ष्य राखेको बताउनुभयो । यस्तै अभियानमा रोसी गाउँपालिकाका ८९१ जना, बेथानचोकका ५४० जना, खानीखोलाका ६२३ जना, महाभारत गाउँपालिकाका ६८८ जना, तेमाल गाउँपालिकाका ४८९ जना, भुम्लु गाउँपालिकाका ४९३ जना र चौरी देउराली गाउँपालिकाका ३२१ जनालाई खोप लगाउने कार्यालयको लक्ष्य रहेको छ । आईभिपी खोप अभियानका लागि जिल्लामा ५११ वटा खोप केन्द्र, ५९१ जना शिक्षकलाई तालिम दिइने, २६१ जना स्वास्थयकर्मीलाई तालिम प्रदान गरिनेछ भने अभियानमा ५११ जना स्वास्थ्यकर्मी, एक हजार २२ जना स्वयम्सेवक, १६ जना सुपरभाइजर र स्वास्थ्य संस्था तहमा १६५ जना सुपरभाईजर खटिने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया



थप समाचारहरु

 

बनेपामा टिभिएसको नयाँ शोरूम