विश्व हुलाक दिवसमा उत्कृष्ट कर्मचारी सम्मानित


मेचीकाली

धुलिखेल-जिल्ला हुलाक कार्यालय काभ्रेपलाञ्चोकले १५१ औं विश्व हुलाक दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । 

दिवसको अवसरमा कार्यालयले धुलिखेल वडा नं १२ स्थित मानव सेवा समाज सेवा घरमा आश्रितहरुलाई खाना, कपडा र फलफुल वितरण, कार्यालय परिसर सरसफाईका साथै उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गरिएको हो । 

सेवा घरमा रहेका ५० जना जेष्ठ नागरिकलाई खाना खुवाएर, टिसर्ट र फलफुल वितरण गरिएको जिल्ला हुलाक कार्यालय काभ्रेका प्रमुख हुलाक अधिकृत दिपककुमार नेपालीले जानकारी दिए । 

बिहिबार कार्यालयमा नै आयोजित कार्यक्रममा कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गरियो । 

गत फाल्गुनदेखि जेठ महिनासम्म कार्यसम्पादन मुल्याकंनबाट उत्कृष्ट भएका जिल्ला हुलाक कार्यालयका एलिसा पुलामी, सरिता बजगाई, रिना तोलाङ्गे, जयन्ती भण्डारी, बनेपा हुलाक कार्यालयका भोजकुमारी लामा, रोशीका सन्तोषी अधिकारी, महाभारतका दिनेशकुमार थापामगरलाई सम्मान गरियो । श्रावण महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने हुलाक कार्यालय पनौतीका प्रमुख प्रेमप्रकाश खत्री, अतिरिक्त हुलाक कार्यालय देविटारका डाँक बहाक सानुमाया तामाङ र भाद्र महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने हुलाक कार्यालय बनेपाका दिपक खड्का र अतिरिक्त हुलाक कार्यालय नालाका सुनिल श्रेष्ठ र अवकाश प्राप्त कर्मचारी सुजनबहादुर राई दनुवारलाई सम्मान गरियो । नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोदकुमार न्यौपानेले उनीहरुलाई सम्मान गरेका थिए । 

अध्यक्ष न्यौपानेले सन्देश, सूचना आदानप्रदानको भरपर्दो माध्यम हुलाकको महत्व अझै रहेको भन्दै यसको कार्यक्षेत्र समेत बढ्दै गएको बताए । 

हुलाक अधिकृत नेपालीले हुलाक एउटा संस्कृति भएको भन्दै उनले यसलाई निरन्तरता दिन सके सूचनाको हक प्रत्याभूती हुन सक्ने बताए । उनले स्मार्ट हुलाकको अवधारणा आएको भन्दै हुलाक कार्यालय बनेपालाई  स्मार्ट कार्यालय बनाउन लागिएको बताए ।

प्रतिक्रिया



थप समाचारहरु