आइजीपी फुटबल रनिङ ट्रफी : डिएभी स्कुल र एनपिएस दाङ विजयी


मेचीकाली

साँगा– नेपाल पुलिस स्कुल साँगा काभ्रेको आयोजनामा मंसिर १८ देखी संचालन भईरहेको ३०औं अन्तर माध्यामिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी प्रतियोगिता २०८१ को दोस्रो दिन तिन खेलहरु सम्पन्न भएका छन् । 

आज भएको दिनको पहिलो खेलमा डिएभी स्कुल जावलाखेलले नेपाल पुलिस स्कुल सामाखुसीलाई २–० गोल अन्तरले हरायो । विजयी टिमका लागी खेलको ८औं मिनेटमा अनुज थापा र खेलको ३१औं मिनेटमा आर्नवमान क्षेत्रीले गोल गरे । म्यान अफ दि म्याच विजयी टिमका अनुज थापा घोषित भए । दिनको दोस्रो खेलमा पहिलो पटक प्रतियोगितामा भाग लिईरहेको नेपाल पुलिस स्कुल दाङले सागाँको स्थानीय विद्यालय ग्रेसल्याण्ड स्कुललाई ३–० गोल अन्तरले हरायो । एकतर्फी खेलमा विजयी टिमको लागि खेलको तेस्रो मिनेटमैगोल गर्दै  नविन ओलीले खाता खोले । खेलको २८औ र ५७ औ मिनेटमा म्यान अफ दि म्याच देब बहादुर ओलीले गोल गरि अग्रता तेब्बर पारेका थिए । 

दिनको तेस्रो तथा अन्तिम खेलमा गत संस्करणको विजेता सैनिक आवासिय महाविद्यालय भक्तपुर र यो बर्षको नवप्रवेशी बालउद्दार मावि बुढानिलकण्ठले गोलरहित बराबरि खेलेका छन् । निकै रोमान्चक खेलमा दुवै टिमबाट गोल गर्ने धेरै अवसरहरु सिर्जना भए तापनि गोल हुन नसक्दा उपाधीको दावेदार टिम मानिएको सैनिक स्कुल १–१ अंक बाड्न बाध्य रह्यो । उत्कृष्ट खेल कौशन प्रदर्शन गरेको बालउद्दार माविका खेलाडी किस्मत राई म्यान अफ दि म्याच घोषित भए । 

भोली तेस्रो दिन पनि तिन खेल खेलिनेछ । पहिलो खेलमा नेपाल पुलिस स्कुल धरानले विकटेश्वर स्कुलको सामना गर्नेछ । दोस्रो खेलमा नाइटिङ्गेल स्कुलले मनकामना स्कुलसँग प्रतिस्पर्धा गर्नेछ भने अर्को खेलमा आयोजकको टिम नेपाल पुलिस स्कुल ब्लु र ल्याब स्कुल आमने सामने हुनेछन् । लिग कम नकआउट आधारमा सञ्चालन भईरहेको यो प्रतियोगिता पौषको पहिलो सातासम्म चल्नेछ । 

प्रतियोगिताका विजेताहरूलाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने टिमहरूले क्रमशः ६० हजार, ४० हजार र  २०,००० पाउनेछन् । साथै, उत्कृष्ट खेलाडीहरूलाई व्यक्तिगत विधामा विशेष पुरस्कार प्रदान गरिनेछ । 


प्रतिक्रिया



थप समाचारहरु

 

बनेपामा ल्होछार मेला हुने