काभ्रेमा मानवअधिकार वर्ष पुस्तकको अर्धवार्षिक समिक्षा


मेचीकाली

काभ्रेपलाञ्चोक-अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशको  आयोजनामा २०८१ असार २६ गते बनेपामा नेपाल मानवअधिकार वर्ष पुस्तक २०२५ को अर्धवार्षिक पूर्व समिक्षा कार्यक्रम सम्पन्न भयो ।

पूर्व समिक्षा कार्यक्रममा इन्सेक प्रतिनिधिले संकलन गरेका व्यक्तिगत हत्या, बलात्कार, यौन दुव्र्यवहार, कुटपिटबाट घाइते, अभद्र व्यवहार, बाल विवाह, जातिय विभेद, आर्थिक अधिकार, घरेलु हिंसा र पत्रकारलाई धम्की दिएको समेत एकसय २९ वटा घटनाका विषयमा जानकारी दिइएको थियो ।

पूर्व समिक्षा कार्यक्रममा मानवअधिकार सञ्जाल काभ्रेपलाञ्चोकका संयोजक भोजराज तिमल्सिनाले विगत वर्षहरुको तुलनामा यस वर्ष व्यक्तिगत हत्या, वालिका बलात्कार र यौन दुव्र्यवहारका घटना बढेको बताउनुभयो । अभिलेख भएका घटनाको अध्ययनबाट जिल्लाको बनेपामा सबैभन्दा बढी घटना, खानीखोला र बेथानचोक गाउँपालिकामा कम भएको पाइएबाट आर्थिक मन्दिको विषयलाई बढी ध्यान दिन जोड दिनुभयो ।

पूर्वसमिक्षा कार्यक्रममा इन्सेकका पूर्व जिल्ला प्रतिनिधि हिरामान लामाले आफ्नो व्यक्तित्व विकास इन्सेकको बाल क्लवबाट भएको बताउँदै सामाजिक सञ्जालको प्रभावकारी प्रयोगबाट कानुन कार्यान्वयनको पाटोमा सहजीकरण गर्न अनुरोध गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय धुलिखेल महिला, बालवालिका तथा जेष्ठ नागरिक शाखाकी राजकुमारी श्रेष्ठले घरेलु हिंसाका घटनामा कमी आएको उल्लेख गर्नुभयो । अग्रज पत्रकार सुरेश हुमागाईले कानुन र पाठ्यक्रममा केही सुधार गरेर समुदाय र विद्यालयमा सचेतनाका कार्यक्रम संचालन गर्न जोड दिनुभयो ।

गैरसरकारी संस्था महासंघ काभ्रेकी अध्यक्ष गंगा दोेङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष मोतिराम तिमल्सिनाले आर्थिक मन्दिका कारण समाजमा हिंसा र आत्महत्याका घटना बढेको उल्लेख गर्दै वित्तिय संस्थाहरुलाई अनुशासित र मर्यादित बनाउन आवश्यक भएकोमा जोड दिनुभयो ।

कार्यक्रममा माइती नेपाल काभ्रेपलाञ्चोककी सुपरभाइजर गायत्री गौतम, महिला अधिकारकर्मी निर्मला काफ्ले र कल्पना विश्वकर्माले वर्ष पुस्तकमा समेट्नुपर्ने विषयबस्तुका विषयमा आफ्नो भनाई राख्नु भएको थियो । कार्यक्रमको संचालन इन्सेक प्रतिनिधि सुमित्रा आचार्यले गर्नुभएको थियो । समिक्षा कार्यक्रममा १४ जना पुरुषसहित ३० जनाको सहभागिता थियो ।



छ महिनामा संकलित घटनाको समिक्षा

छ महिनाको अवधीमा व्यक्तिगत हत्याका ६ वटा घटनामा ३ जना पुरुषसहित सात जनाको हत्या भएको पाइयो । होटलमा ल्याएर बलात्कार गरी हत्या गरिएकी ममता सुवेदी  तथा मुख र छातिमा फलामको तारले बाँधेको र जलेको अवस्थामा पाँचखाल नपा–४ विराजे खोल्सामा फेला परेका ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका–५ टिकाथली बस्दै आएका ५४ वर्षीय विष्णुप्रसाद सुवेदीको हत्याका आरोपितहरूको अझै पहिचान भएको देखिन्न । मादकपदार्थ खाएको तालमा निगालोको लठ्ठिले टाउकोमा प्रहार गरी पतिको हत्या गरेको आरोप लागेकी नमोबुद्ध नगरपालिका–५ कानपुरकी ४० वर्षीया कमला परियारलाई बयान लिंदा प्रहरीलाई गालीगलौज र अपशव्द बोलेको भनी एकसय रुपैया धरौटी लिएर छाडियो । फलामको रड र रथको चुकुल प्रहार गरी हत्या भएका केही कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको देखिन्छ । हत्याका आरोपी केहीलाई अभद्र व्यवहारको मुद्दा लगाएर थुनामा राखी अनुसन्धान गरेर कर्तव्य ज्यानसम्वन्धी मुद्दा लगाएको देखिन्छ ।


भतिजलाई घरमा बोलाएर रक्सी खुवाई निदाएपछि करौतीले घाँटी रेटेको, चुकुल लगाएर बसेको भनी पत्नीलाई कुटेको, नसोधी नागरिकता बनाएको भनी दाजूले बहिनीलाई चिर्पटले हान्दा घाइते भएको, खानेपानीको विषय र बाख्रा चराउन जाँदा चुप्पी प्रहार गरेको तथा होटलमा काम गर्ने महिलाको भिडियो बनाएको भनी कुटपिट गरी घाइते बनाएका घटना यस अवधीमा चर्चामा रहे । फुटपाथका व्यापारीहरूको समूहले नगर प्रहरीहरूलाई हातपात गरेको विषय यस अवधीमा चर्चामा रह्यो । यस अवधीमा समूहमा जम्मा भएर कुटपिट र दुव्र्यवहार गरेका केही घटना जानकारीमा आए । मादक पदार्थ खाएर गाडी तथा एम्बुलेन्स चलाउने चालकलाई पक्राउ गरी सार्वजनिक अपराध मुद्दा चलाएको पाइयो । मादकपदार्थ सेवन गरी झैझगडा गर्नेलाई प्रहरीले अभद्र व्यवहारको मुद्दा लगाएर पक्राउ गरेको भएपनि केही घटनाका आरोपितलाई धरौटी राख्न नसकी कारागार पठाइएको पाइयो । ६ महिनाको अवधीमा प्रहरी कार्यालयहरूमा अभद्र व्यवहारका ३८ र ज्यानमार्ने उद्योगसम्वन्धी ४ थान मुद्दाहरु देखिए । अभद्र व्यवहारका अधिकांश आरोपितहरुलाई धरौटीमा रिहा गरेको पाइयो ।


महिला बलात्कारका १० घटनामा १९ देखी ४५ वर्षसम्मका महिलाहरु पीडित भएका छन् । आरोपितमध्येका ७ जना पुर्पक्षका लागि थुनामा, २ जना फरार र १ जनाले आत्महत्या गरेका छन् । घर डेरा, कार्यालय, जंगल अर्थात एकान्त स्थानमा पतिबाट पत्नी, शिक्षकबाट शिक्षिका, प्रहरीबाट महिला प्रहरी, ससुराबाट बुहारी र सुस्त मनस्थितीकी महिला पनि पीडित भएका छन् । एक वटा सामूहिक बलात्कारको घटना भएको देखिन्छ ।


बुबा, हजुरबुबा, भिनाजु, बसका चालक, साथीभाई, मगन्ते र चिनजानको व्यक्तिबाट बालिकाहरु बलात्कृत भएका छन् । चिनजानको व्यक्तिसँग घुम्न जाँदा ३ वटा घटना भएको देखिन्छ । मन्दिर, घरकोठा, खाली बस, जंगल, बारी, खाली टहरा र होटलमा लगेर वालिका बलात्कृत भएका छन् । ५ देखी १७ वर्ष उमेर समूहका १७ जना वालिका छ महिनामा पीडित भए । बालकद्वारा भएका ३ घटनाका आरोपित सुधार गृहमा पठाइएका छन् भने पुर्पक्षका लागि ११ जना आरोपित थुनामा र ३ जना फरार देखिन्छन् । घटनामा एक जना सुस्त मनस्थितीकी वालिका पनि पीडित देखिन्छिन ।


चिनजानको व्यक्तिबाट भएका यौन दुव्र्यवहारका ४ वटा घटनामा ५ जना वालिका पीडित भए । प्रलोभनमा पारेर दुव्र्यवहार गर्ने केही आरोपित धरौटीमा रिहा भएको देखिन्छ । छ महिनाको अवधीमा जातिय विभेदको एक, बालविवाहको एक, आर्थिक अधिकारमा किशानले दुधको मूल्य नपाएर विरोधमा उत्रिएको, बनमा आगो लगाएको र पत्रकारलाई धम्की आएको समेत गरी ८५ वटा घटना अभिलेख भएका छन् । यसैगरी घरेलु हिंसाका ४४ वटा घटना यस अवधीमा अभिलेख गरिएका छन् । 


प्रतिक्रिया



थप समाचारहरु

 

बनेपामा टिभिएसको नयाँ शोरूम

 

एकतर्फी खुल्यो अरनिको राजमार्ग