धुलिखेलमा पूर्व प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग अन्तर्क्रिया


मेचीकाली

धुलिखेल-काठमाडौं विश्वविद्यालयको कानून सङ्काय अन्तर्गतको नेपाली कानूनी साहित्य समितिले सामाजिक प्रतिरक्षा समाज नेपाल (पिडिएस् नेपाल) सँगको सहकार्यमा यही पौष १९ गते बिहीबार पूर्व प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँगको अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा पूर्व प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफू अधिवक्ता हुँदाको समयदेखि नेपालको प्रधान न्यायाधीशजस्तो गरिमामय पदमा बहाल रहँदासम्मको कानूनी क्षेत्रको जीवनयात्रा सम्पन्न गरिरहँदा आफूले भोगेका र सिकेका कुराहरुका बारेमा गहकिलो मन्तव्य व्यक्त गर्नुभएको थियो। न्यायिक शुद्धिकरणमा आफूले निर्वाह गरेको भूमिका र आफू सर्वोच्च अदालतको न्यायाधीशको रुपमा कार्यरत रहँदा आफ्नै नेतृत्वमा तयार पारेको प्रतिवेदनको बारेमा प्रकाश पारिरहँदा न्यायिक क्षेत्रमा विद्यमान समस्या, चुनौती एवम् समाधानका सन्दर्भमा पनि उल्लेख्य कुराहरु व्यक्त गर्नु भएको।


"न्यायाधीशको नियुक्तिमा वा न्याय सम्पादनकै कार्यमा पनि गरिने राजनैतिक हस्तक्षेपका कारण स्वतन्त्र न्यायपालिकाको अवधारणामा आघात पुग्न जाने देखिन्छ। यसरी निर्देशित न्यायपालिकाले प्रभावकारी ढंगमा न्याय सम्पादन गर्न नसक्ने हुदाँ न्यायपालिकाको स्वतन्त्रता अत्यन्तै महत्वपूर्ण कार्य हो।"  भन्दै पूर्व प्रधानन्यायाधीश कार्कीले स्वतन्त्र न्यायपालिकाको औचित्यका सन्दर्भमा पनि प्रकाश पार्नु भएको थियो।


उहाँले हाम्रो कानूनमा भएका केही कमी कमजोरी माथि पनि प्रकाश पार्नु भएको थियो। उहाँले  हाम्रो कानूनले न्यायाधीशलाई धेरै तजविजी अधिकार प्रदान गरेको छ जसका कारण न्याय सम्पादनमा एकरुपता नरहन सक्ने समस्याप्रति पनि ध्यानाकर्षण गराउनु भएको थियो। 


कानून विषय अध्ययनरत विद्यार्थीहरुको बाहुल्यता रहेको उक्त कार्यक्रममा सम्माननीय पूर्व प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले यिनै भविष्यका कर्णधारहरुलाई प्रोत्साहित गर्दै एउटा राम्रो कानून व्यवसायीमा हुनुपर्ने विशेषताका बारेमा पनि आफ्ना कुराहरु राख्‍नुभएको थियो। उहाँले न्यायलयमा एउटा राम्रो संस्कारको विकास गरेर त्यसमा अडिग रहन सक्ने भए न्यायलयको शुद्धिकरण हुनसक्ने कुरा उल्लेख गर्दै आफ्नो मन्तव्यमा पूर्णविराम लगाउनुभयो। 


पुस्तकका ठेलीबाट पनि उजागर नहुने जीवन उपयोगी व्यवहारिक शिक्षा प्रदान गरेर पूर्व प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले कानूनका विद्यार्थीको उदीयमान भविष्यको पानसमा ज्ञानको दियो प्रज्जवलित गर्न मद्दत गर्नुभएको छ। उहाँको गहकिलो मन्तव्य र यस अन्तरक्रियात्मक कार्यक्रमको सहभागिताको फलस्वरुप दर्शक एवं श्रोताहरुको ज्ञानको दायरा अवश्य पनि फराकिलो भएको हुनुपर्दछ।


समारोहमा काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति र विश्वविद्यालयको स्कुल अफ ल का डिनको समेत गरिमामय उपस्थिति  भएको थियो।

प्रतिक्रिया



थप समाचारहरु