करिब चार सय सिञ्चाईका कार्यक्रम सञ्चालन हुने


मेचीकाली

काभ्रेपलाञ्चोक – चालु आर्थिक वर्ष २०८०÷०८१ मा काभ्रेपलाञ्चोक जिल्लामा करिब सय वटा सिञ्चाई आयोजनाको काम सञ्चालन हुने भएको छ । बागमती प्रदेश सरकार र सङ्घीय सरकारले गरेर यस वर्ष जिल्लामा तीन सय पचहत्तर वटा सिञ्चाई योजना सञ्चालन हुने भएका हुन् । जलस्रोत तथा सिञ्चाई डिभिजन कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी ई. दिपक थापाले यस वर्ष जिल्लामा सञ्चालन हुने सिञ्चाई योजना अन्र्तगत सात वटा ठुला सिञ्चाईका योजना रहेको बताउनुभयो । उहाँले यस वर्ष जिल्लाको रोशी गाउँपालिका–४ मा ९० लाख रुपियाँको कटुञ्जेबेशी लिफ्ट सिञ्चाई (सोलार प्रणाली), नमोबुद्ध नगरपालिका–२ मा ९० लाख रुपियाँको काशीखण्ड सिञ्चाई योजना, नमोबुद्ध–६ मा ८० लाख रुपियाँको जाइफल डेडा तल्लोवेशी सिञ्चाई योजनाको काम हुने गरी वजेट विनियोजन भएको बताउनुभयो । यस्तै नमोबुद्ध नगरपालिका–८ मा एक करोड १७ लाख रुपियाँको पिपलटार सिञ्चाई योजना, खानीखोला गाउँपालिका–७ मा ९० लाख रुपियाँको बागमती दुर्लुङ दोभान बोरनवेशी महाँकाल बृहत सिञ्चाई आयोजना, रोशी गाउँपालिका–९ मा ८० लाखको मङ्गलटार लिफ्ट सिञ्चाई योजना र रोशी गाउँपालिका–६ मा दुई करोड रुपियाँको महाभारत सेती सिकारी लेखपानी कालिञ्चोक खार्पाचोक सिञ्चाई योजनाको काम हुने ई. थापाले बताउनुभयो ।
चालु आर्थिक वर्षमा सञ्चालन हुने ठुला सिञ्चाई योजनामध्ये कटुञ्जेवेशी लिफ्ट सिञ्चाई, जाइफल डेडा तल्लोवेशी, र बागमती दुर्लुङ दोभान बोरनवेशी सिञ्चाई योजनाको अघिल्लो आ.व.मा नै डिपिआर भईसकेको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट जिल्लाको पाँचखाल नगरपालिकामा सिञ्चाईका ३८, मण्डनदेउपुर नगरपालिकामा ३९, भुम्लु गाउँपालिकामा २०, धुलिखेल नगरपालिकामा २४, बनेपा नगरपालिकामा १५, पनौती नगरपालिकामा सिञ्चाईका साना ठुला गरी २३ योजनामा बजेट विनियोजन भएको जलस्रोत तथा सिञ्चाई डिभिजन कार्यालयले जनाएको छ । त्यस्तैगरी जिल्लाको नमोबुद्ध नगरपालिकामा २६ वटा, रोशी गाउँपालिकामा ५६ वटा, तेमाल गाउँपालिकामा २५ वटा, महाभारत गाउँपालिकामा २६ वटा, खानीखोला गाउँपालिकामा २१ वटा, बेथानचोक गाउँपालिकामा १३ वटा र चौरीदेउराली गाउँपालिकामा २६ वटा योजना छुट्याइएको छ ।
यस वर्ष प्रदेश सरकारबाट जिल्लामा ठुला, साना गरी ३५२ वटा योजनामा वजेट विनियोजन भएको छ भने सङ्घीय सरकारबाट करिब २५ वटा योजनामा वजेट विनियोजन भएको ई. थापाले बताउनुभयो । कार्यालयले गत आ.व.मा कुल योजनामध्ये ८९ प्रतिशत योजना सम्पन्न गरेको छ । सूचना अधिकारी ई. थापाले गत वर्ष कार्यालयले प्रदेशतर्फका ११३ मध्ये १०८ वटा र सङ्घीय सरकारतर्फका ६० योजनामध्ये ४६ वटा योजनाको काम सम्पन्न गरेको बताउनुभयो । गत वर्ष १३ वटा बहुवर्षिय योजनामध्ये पाँच वटा योजनाको काम सम्पन्न भएको र बाँकी आठ वटा योजनाको काम चालु आ.व.मा सञ्चालन हुने बताउनुभयो ।


प्रतिक्रिया



थप समाचारहरु