पत्रकार हत्याविरुद्ध काभ्रेमा पनि आन्दोलन


मेचीकाली

बनेपा–पत्रकार हत्या र सञ्चारमाध्यममा भएको आगजनी लगायतका ज्यादतीविरुद्ध नेपाल पत्रकार महासंघ काभ्रे शाखा पनि आन्दोलनमा उत्रिएको छ । आन्दोलन कार्यक्रमअन्तर्गत आज बनेपामा विरोध सभा सम्पन्न गरिएको छ । 

हिजो काठमाडौंमा राजावादी शक्तिले गरेको आन्दोलन अराजक र हिंस्रक हुँदा भएको पत्रकार सुरेश रजकको हत्या तथा संचारमाध्यममा भएको आक्रमण र तोडफोडका विरुद्ध देशभर पत्रकारहरु आन्दोलित भएका छन् । सोही क्रममा काभ्रेको बनेपामा बिहान विरोधसभा आयोजना गरिएको हो । आन्दोलन कार्यक्रमअन्तर्गत भोली पत्रकारहरुले कार्यस्थलमा कालोपट्टी बाँधेर काम गर्नेछन् भने पर्सि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइनेछ ।

विरोधसभा अघि पत्रकारहरुले ¥यालीसमेत निकालेका थिए । चारदोबाटोबाट चाँदनीचोक हुँदै पुनः चारदोबाटोमा आएको ¥याली सभामा परिणत भएको थियो । सभामा महासंघका पुर्व अध्यक्षहरु भोजराज तिमल्सिना, भोला थापा, महेशराज पौडेल, मोतीराम तिमल्सिना, नेपाल प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी, प्रेस चौतारी नेपाल काभ्रेका अध्यक्ष केदार तिमल्सिना, प्रेस सेन्टर नेपाल काभ्रेका पुर्व अध्यक्ष रोजन तामाङ, फोनिज काभ्रेका अध्यक्ष इन्द्रबहादुर थापा, सन्चारिका समुह काभ्रेका अध्यक्ष सुनिता सापकोटा, राष्ट्रिय फोटो पत्रकार महासंघ काभ्रेका अध्यक्ष केशवराज पौडेल, सामुदायिक रेडियो प्रशारक मन्चका जिल्ला संयोजक रमेश न्यौपाने, नेपाल तामाङ पत्रकार संघ काभ्रेका अध्यक्ष लोकबहादुर तामाङ लगायतले प्रेस माथी भएका आक्रमण र हत्याको भत्सर्ना गर्दै स्वतन्त्रतापुर्वक सञ्चारकर्म गर्ने अवस्था सृजना गर्न अनुरोध गरेका थिए ।

अध्यक्ष विनोद कुमार न्यौपानेले पत्रकार सुरेश रजकप्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै सञ्चारकर्मीको आवाज जति दबाउने कोसिस गरेपनि संचारकर्मीका कलम नरोकिने बरु आवाज अझै बुलन्द हुने बताए ।


प्रतिक्रिया



थप समाचारहरु