केयूमा अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन हुँदै


मेचीकाली

धुलिखेल–काठमाडौं विश्वविद्यालयले नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय उपकुलपति सभा आयोजता गर्ने भएको छ । यही यही फागुन ३–५ (फेब्रुअरी १५–१७) मा उत्तर क्षेत्रीय अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन हुन लागेको हो । 

कार्यक्रम धुलिखेलस्थित विश्वविद्यालयको मुख्य परिसरमा आयोजना हुनेछ । भारतीय विश्वविद्यालय संघको आयोजना तथा काठमाण्डौ विश्वविद्यालयको तत्वावधानमा आयोजित सभा तथा सम्मेलनमा नेपाल, भारत, बाङ्लादेश, मलेसिया, थाइल्यान्ड, लगायत देशका १५० विश्वविद्यालयका उपकुलपति तथा शिक्षाविद्हरुको उपस्थिति रहने छ । विश्वले उच्चशिक्षाको क्षेत्रमा भोगिरहेको समकालीन मुद्दा “भूमण्डलीकरण र उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण” मूल–विषय रहेको उक्त सभामा उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, अन्तर–विश्वविद्यालय सहकार्य, वैश्विक उच्च शिक्षा नीति आदि विषयमा छलफल हुनेछन् । 

हालसम्म करीब २२७ सहभागीहरू सहभागिताका लागि आउने निश्चित भएको विश्वविद्यालयले जनाएको छ । सभा तथा सम्मेलनमा अधिकांश सहभागीहरू भारतीय विश्वविद्यालयबाट हुनेछन् भने दक्षिणपूर्वी एसियाली क्षेत्र, युरोप र अफ्रिकाका विश्वविद्यालयका प्रतिनिधि समेत सहभागी हुनेछन् । अन्तर्राष्ट्रिय उपकुलपति सभाले उच्च शिक्षण संस्थामा भूमण्डलीकरणको प्रभाव पत्ता लगाउने, अन्तर्राष्ट्रिय सहयोग र विचारहरूको आदानप्रदानलाई प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ । 

सभाको अवधिमा सहभागीहरूले उच्च शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्ने प्रभावकारी रणनीतिहरूको बारेमा छलफल गर्नेछन् जसमा, विद्यार्थी आदानप्रदान, संयुक्त अनुसन्धान, र पाठ्यक्रम विकास सहितका विषयहरु समावेश छन् ।अन्तर्राष्ट्रिय उपकुलपति सभामा मुलतः तीन प्राविधिक सत्रहरू हुने काठमाडौं विश्वविद्यालयले जनाएको छ । 


प्रतिक्रिया



थप समाचारहरु