प्रथम केयू रनिङ शिल्ड स्कुल अफ मेडिकल साइन्सेजको कब्जामा


मेचीकाली

धुलिखेल– काठमाडौं विश्वविद्यालयको प्रथम रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा विश्वविद्यालयका ७ सङ्कायका अलावा विभिन्न आङ्गिक क्याम्पसका खेलाडीको सहभागिता थियो । प्रतियोगितामा क्रिकेट, फुटबल, भलिबल, बास्केटबल, दौड, हाइ जम्प, लङ जम्प, शर्टपुट, ब्याडमिन्टन, टेबल टेनिस, चेश, आदि खेल भएका थिए । 

प्रतियोगितामा सबैभन्दा बढी ११ स्वर्ण पदक प्राप्त गर्ने स्कुल अफ मेडिकल साइन्सेजले यस वर्षका लागि रनिङ शिल्ड जितेको छ । उक्त सङ्कायले महिलातर्फ १०० मिटर दौड, पुरुषतर्फ १०० मिटर दौड, पुरुषतर्फ २०० मिटर दौड, पुरुषतर्फ हाइ जम्प, महिलातर्फ हाइ जम्प, पुरुषतर्फ लङ जम्प, महिलातर्फ टेबल टेनिस, महिलातर्फ भलिबल, पुरुषतर्फ भलिबल, महिलातर्फ क्रिकेट र पुरुषतर्फ क्रिकेटमा स्वर्ण पदक जितेको हो । 

त्यसैगरी स्कुल अफ लले ८ स्वर्ण पदक प्राप्त गरी दोस्रो स्थान हासिल गरेको छ । यस सङ्कायले महिलातर्फ २०० मिटर दौड, महिलातर्फ ४०० मिटर दौड, महिलातर्फ ५००० मिटर दौड, महिलातर्फ ८०० मिटर दौड, महिलातर्फ ब्याडमिन्टन, महिलातर्फ चेश, पुरुषतर्फ चेश, र महिलातर्फ फुटबलमा स्वर्ण पदक जितेको छ । 

स्कुल अफ म्यानेजमेन्टले ४ स्वर्ण पदक प्राप्त गरी तेस्रो स्थान हासिल गरेको छ । यस सङ्कायले पुरुषतर्फ ८०० मिटर दौड, महिलातर्फ शर्टपुट, पुरुषतर्फ टेबल टेनिस, र पुरुषतर्फ बास्केटबलमा स्वर्ण पदक जितेको हो । 

त्यसैगरी स्कुल अफ साइन्सले २, मणिपाल कलेजले २, स्कुल अफ इन्जिनियरिङले १, स्कुल अफ आर्ट्सले १ र बिराट मेडिकल कलेजले १ स्वर्ण पदक जितेका छन् ।  प्रतियोगितामा करीब दुई हजार खेलाडीले भाग लिएका थिए । 

प्रतियोगिताका विजेतालाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा अच्युत वाग्ले, तथा विभिन्न सङ्कायका पदाधिकारीले पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगिता विश्वविद्यालयको विद्यार्थी कल्याण परिषद्ले सञ्चालन गरेको हो । 


प्रतिक्रिया



थप समाचारहरु

 

सुरु भयो चण्डेश्वरी जात्रा

 

ठमेल काव्योत्सव सम्पन्न