काभ्रे– काठमाडौँको किर्तिपुर नगरपालिका––५ का ५० वर्षीय विनोद खड्गीको हत्यामा संलग्न तीन जनालाई जन्मकैदको सजाय भएको छ । खत्रीलाई हनी ट्रयापमा पार्ने मुख्य अभियुक्त सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–२ घर भई हाल मध्यपुर ठिमी नगरपालिका–९ बस्ने मनिषा महत, महोत्तरी जिल्ला गौशला नगरपालिका–६ घरभई हाल भक्तपुर कौशलटार बस्ने आशिष पासवान र बाग्लुङ गलकोट नगरपालिका–७ घरभई हाल काठमाडौँ कोटेश्वर बस्ने प्रतिक गौतमलाई जन्मकैदको फैसला भएको हो ।
काभ्रेपलाञ्चोक जिल्ला अदालतले महत, पासवान र गौतमलाई जन्मकैदको फैसला गरेको अदालतका स्रेस्तेदार इन्दिरा कार्कीले जानकारी दिइन् । उनीहरुले जनही २ लाख रुपैयाँका दरले पीडित पक्षलाई क्षतिपूर्ति दिनुपर्ने र जनही २८०० रुपैयाँ पीडित राहत कोषमा जम्मा गराउने आदेश पनि अदालतले दिएको छ ।* पासवानको साथको स्कुटर जफत गरेर जाहेरवालाले पाउने फैसला पनि भएको छ ।
यो प्रकरणमा मतियारको रुपमा मुद्दा चलाइएका काठमाडौँ शङ्करापुर नगरपालिका–५ का सरिन घिमिरेलाई पनि अदालतले दोषी ठहर गरेको छ । उनलाई सजाय निर्धारणका लागि अर्को पेशी तोकिएको छ । यो प्रकरणमा संलग्न भनिएका अंशु खान र शिवम सिं राजपुत फरार रहेका छन् भने अन्य प्रतिवादीहरु रोशनी महत, सञ्जय खत्री, मेनुका महत र दिपेश पौडेलले सफाई पाएका छन् ।
के हो घटना विवरण ?
काठमाडौँ किर्तिपुर नगरपालिका–५ मा मासु पसल सञ्चालन गर्दै आएका खड्गीलाई उक्त समुहले २०८१ असोज ५ गते राती अपहरण, फिरौती रकम असुल गरी हत्या गरेका थिए । असोज ५ गते मनिषाले बिनोदलाई मेरो नागरिकताको प्रतिलिपी बनाउन जान सहयोग गर्नुपर्यो भनी बिनोदलाई खाना खानको लागि कोठामा बोलाएकी थिईन् । कोठामा खाना खाएर बसेका बिनोदलाई कुटपिट गरी घाईते बनाई ३० लाख रुपियाँ फिरौती रकम मागेका थिए ।
सुरुमा ३० लाख रुपियाँ फिरौती माग गरेपनि मनिषाले ३० लाख रुपियाँ बढी हुन्छ १० लाख मागौँ भन्दा विनोदले आफुसँग त्यती पैसा नभएकोले पाँच लाख दिन तयार रहेको बताउँदै आफ्नोमा काम गर्ने कर्मचारीलाई फोन गरी पाँच लाख रुपियाँ लिई राधेराधेमा रहेको भाटभटेनी अगाडि आउने व्यक्तिलाई रकम समेत दिन आफ्ना कर्मचारीलाई भनी फिरौती वापत पाँच लाख रुपियाँ बुझाएका थिए ।
फिरौती रकम लिएपछि मनिषा, अन्सु, शिवम, आशिष र प्रतिक मिलेर यसले हामीलाई भोलीको दिनमा छोड्दैन यसलाई मारेर फालिदिम भन्ने योजना बनाएर असोज ५ गते राती मृतकको हात, खुट्टामा डोरीले बाँधी खड्गीको संवेदनशिल अङ्गलगायतको शरीरका विभिन्न भागमा कुटपिट गरी भक्तपुरको गुण्डुमा लगेर छातीलगातको संवेदनशिल अङ्गमा इट्टाले हानी हत्या गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
हत्यापछि उक्त शवलाई उनीहरुले पाँचखाल–८ स्थित ४९ किलोमा लगि फालेका थिए । विनोदको हत्यापछि असोज ६ गते अन्सुले मनिषालाई १ लाख, प्रतिकलाई १० हजार आशिषलाई २० हजार र अन्सुले आफ्नो दिदी रोश्नी महतलाई ५० हजार गरी एक लाख ८० हजार रकम बाँडेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।