काभ्रे — दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै काभ्रे मोबाइल व्यवसायी संघले मोबाइल व्यवसायीलाई प्रोत्साहन तथा व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले विशेष उपहार योजना सञ्चालनमा ल्याएको छ।
संघका अनुसार योजनाअन्तर्गत रु. ५०० वा सोभन्दा बढी मूल्यको मोबाइल तथा अन्य सामान खरिद गर्ने प्रत्येक ग्राहकले निःशुल्क कुपन प्राप्त गर्नेछन्। प्राप्त कुपनमार्फत ग्राहकले विभिन्न आकर्षक उपहार जित्ने अवसर पाउनेछन्।
योजनामा इलेक्ट्रिक स्कुटर, मोबाइल, ३२ इन्चको टेलिभिजन, एयरबड्स तथा पावर बैंक लगायतका उपहार समावेश गरिएको छ। यस योजनाले पर्वको समयमा ग्राहकलाई थप आकर्षित गर्नुका साथै मोबाइल व्यवसायीहरूको व्यापार प्रवर्द्धनमा सहयोग पुग्ने संघको अपेक्षा छ।
काभ्रे मोबाइल व्यवसायी संघका अध्यक्ष मधुर दाहालका अनुसार उक्त उपहार योजना पौष ४ गतेसम्म सञ्चालन हुनेछ। योजनाको अन्त्यपछि पौष ११ गते शनिबार विशेष कार्यक्रममार्फत उपहार विजेताहरूको घोषणा गर्ने तयारी गरिएको छ।