काभ्रे–काभ्रेको पनौती–१ रयालेका हरिप्रसाद सापकोटाको ९१ वर्षको उमेरमा हिजो आइतबार निधन भयो । छोरा नभएका र छोरीहरुमात्रै रहेका सापकोटालाई दागवत्ती कसले देला र काजकिरिया कसले गर्ला भन्ने चर्चाका बीच उनका छोरीहरुले दागवत्ती दिएर दाहसंस्कार गरे ।
जब काजकिरिया गर्न छोरीहरु नै अग्रसर भए तब समाजले त्यसलाई स्वीकार्न चाहेन । तर, प्रगतिशिल छोरीहरु किन पछि हट्थे र ! समाजको बहिस्कारको चेतावनीकाबीच उनीहरु बाबुको किरियामा बसेका छन् । बनेपा नगरपालिकाकी उपप्रमुखसमेत रहेकी स्वर्गीय हरिप्रसादकी छोरी बिमला सापकोटा र उनका बहिनीहरु निर्मला सापकोटा तथा राधिका सापकोटा आफ्ना बाबुको किरियामा बसेका छन् ।
आफूहरु किरियामा बस्दै गर्दा बहिस्कार गर्ने मिटिङ बसिरहेको थाहा पाएपछि बिमलाले सामाजिक सञ्जालबाटै आक्रोशसमेत व्यक्त गरेकी छन् । उनले लेखेकी छन्, 'महिला माथिको बिभेद कहिले अन्त्य हुन्छ आफ्नु बाउको काजकृया गर्दा सामाजिक बहिष्कारको मिट्ङ हुदै छ । यो समाज र दाजुभाइ भन्नेहरुले हामीलाई पिडा माथि पिडा थप्ने बहस र बैठक तुरुन्त रोक्न अनुरोध छ ।हामीले अरु कसैको बंशमा दखल गरेका छैनौ हामी अब थप पिडा सहन सक्ने अवस्था मा छैनौ ।'
उनले आफहरु बहिस्कार हुन तयार रहेको भन्दै कानुन र संविधानविपरितको काम नगर्न चेतावनीसमेत दिएकी छन् । आफूहरुले गरेको यो कार्यले हजारौं छोरीहरुमाथि न्याय हुने बिमलाले उल्लेख गरेकी छन् । उनले थप लेखेकी छन्, 'ख्याल गर तिमीहरूले चलाएको बहस कानुन र सबिधानको पनि बर्खिलाब छ । हामीले गरेको यो कामले हजारौं छोरि माथि न्याय हुनेछ ।खबरदार यो छ्लफल र बहस रोकि हाल हामि बहिसकार हुन तयार छौ ।१३ दिन हाम्रो बुवाको घरमा बसेर काजकिरिया गर्न देउ पिडा नदेउ १३ दिन पछि सधाको लागि माइतिको ढोका बन्द गरेर कर्म घर फर्कने छौ । समाजको डर लाग्ने हरु कृपया हामिलाइ साथ दिनु पर्ने बाध्यता नसमझनु होला तपाईं स्वतन्त्र हुनुहुन्छ ।'
सापकोटा दिदिबहिनीहरु किरियामा बसेको र उनीहरुलाई सामाजिक बहिस्कारको प्रयास भएकोप्रति धेरैले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन् । सापकोटा दिदिबहिनीको कदमलाई समर्थन गर्दै सामाजिक सञ्जालमा हजारौं पोष्टहरु शेयर भएका छन् ।
छोरीहरुको काजकिरिया गर्न सुरुमा सापकोटा परिवारका पुरोहितले अनुमति दिएका थिए । तर, समाजले पुरोहितलाई पनि बहिस्कार गर्ने खालको धम्की दिएपछि उनी पनि पछि हटेको र अर्का पुरोहितबाट काजकिरियाको काम भइरहेको छ । अहिले पुरोहित दिपक सुवेदीले काजकिरिया गरारइरेका छन् ।