देखिँदै छ आर्थिक मन्दीको असर, काभ्रेमा उद्योग र व्यवसाय दर्तामै गिरावट


मेचीकाली

काभ्रे-मुलुकमा देखिएको आर्थिक मन्दीको असर उद्योग र व्यवसायमा सबैभन्दा बढी परेको छ । विगतमा उद्योग व्यवसाय दर्ता गर्ने र सञ्चालन हुने क्रम बढिरहेका बेला पछिल्लोसमय भने उद्योग व्यवसाय दर्तामी कमी भएको छ । 

भइरहेका उद्योग धन्दा र व्यवसाय धमाधम बन्द हुँदै व्यवसायीहरु पलायन हुने क्रम बढिरहेका बेला पछिल्लो तीन वर्षको तथ्यांकले काभ्रेमा उद्योग दर्ता गर्नेको सङ्ख्या घट्दै गएको पाइएको हो । घरेलु तथा साना उद्योग कार्यालय काभ्रेपलाञ्चोकको पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा कोरोना सङ्क्रमण तथा आर्थिक मन्दीपछि जिल्लामा उद्योग दर्ता गर्नेको सङ्ख्यामा कमी देखिएको छ । 

कार्यालयको तीन वर्ष अर्थात् आर्थिक वर्ष २०७७/०७८ देखि २०७९/०८० सम्मको तीन वर्षको तथ्याङ्कले हरेक वर्ष उद्योग दर्ता हुने क्रम घट्दो देखिएको छ । विगतदेखि महिला, दलित तथा अपाङुगता भएका व्यक्तिको नाममा उद्योग तथा व्यवसाय दर्ता गर्दा ५० प्रतिशत शुल्क छुट दिएका कारण पनि उद्योग तथा व्यवसाय गर्दा गर्नेको सङ्ख्या बढेको थियो भने पछिल्लो समय उक्त सुविधा दिँदा समेत व्यवसाय र उद्योग दर्ता गर्ने कम रहेका छन् । 

कार्यालयका अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा जिल्लामा दुई हजार ५० वटा उद्योग दर्ता भएकोमा आर्थिक वर्ष २०७८/०७९ मा एक हजार ५७५ र पछिल्लो आर्थिक वर्ष २०७९/०८० मा अघिल्लो वर्षको तुलनामा ५८९ वटा कम अर्थात् ९८६ वटा मात्रै उद्योग दर्ता भएको निमिक्त उद्योग अधिकृत यज्ञबहादुर ओलीले जानकारी दिए । उनले जिल्लामा पछिल्लो तीन वर्षमा उद्योग दर्ताका साथै बाणिज्य (व्यवसाय) दर्ता गर्ने व्यवसायी समेत घटेको बताउनुभयो । आर्थिक वर्ष २०७७/०७८ मा जिल्लामा ७१५ वटा बाणिज्य (व्यवसाय) दर्ता भएकोमा आर्थिक वर्ष २०७८/०७९ मा ६१० तथा आर्थिक वर्ष २०७९/०८० मा घट्दो क्रममा जम्मा ३९७ वटा मात्रै व्यवसाय दर्ता भएको निमिक्त उद्योग अधिकृत ओलीले बताए ।

कार्यालयका उद्यम विकास सहजकर्ता रविन्द्रप्रसाद चौलागाँईले कार्यालयको तथ्याङ्क हेर्दा कोरोना, आर्थिक मन्दी सुरु भएपछि जिल्लामा उद्योग तथा व्यवसाय दर्ता गर्ने क्रम घट्दो क्रममा रहेको बताए । उद्योग तथा व्यवसाय दर्ता घटेसँगै आर्थिक मन्दीका कारण व्यापार नभएको भन्दै उद्योग तथा व्यवसाय बन्द गराउन आउनेको सङ्ख्या बढ्दै गएको उनले बताए ।

 जिल्लाको समग्र अवस्था हेर्दा कोरोनाभन्दा अघि बैँकहरुले कृषि क्षेत्र तथा उद्योग, व्यवसाय सञ्चालनको लागि ऋण प्रवाह सहज रुपमा उपलब्ध गराउने समयमा उद्योग तथा व्यवसाय दर्ता हुने क्रम बढेको थियो भने मूलुकमा आर्थिक अवस्था कमजोर बन्दै बैँक तथा वित्तीय संस्थाहरुले कर्जा लगानीमा कडाई गरेपछि र आर्थिक मन्दी बढेपछि भने उद्योग तथा व्यवसाय दर्तामा कमी आएको पाइन्छ । 


प्रतिक्रिया



थप समाचारहरु