विषादी प्रयोग न्यूनिकरण गर्न सरोकारवालासँग छलफल


मेचीकाली

धुलिखेल- तरकारीसहित अन्य खाद्यबालीमा प्रयोग हुने किटनाशक तथा अन्य विषादी प्रयोगमा न्यूनिकरण गर्न आज धुलिखेलमा सरोकारवालासँग छलफल गरिएको छ । छलफलमा काभ्रेपलाञ्चोक जिल्ला र सिन्धुपाल्चोक जिल्लामा पछिल्लो समय विषादीको खपत तथा प्रयोगमा कमी आएको जानकारी पनि दिइयो । 

कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकले विषादी व्यवस्थापन तथा नियमन सम्बन्धी अन्तर्क्रिया कार्यक्रमको आयोजना गर्दै पछल्लो आर्थिक वर्ष २०८०-०८१ मा जिल्लामा अघिल्लो आवको तुलनामा समग्रमा विषदी खपत र प्रयोगमा कमी आएको जनाएको हो । 

कार्यालयका प्रमुख कुलप्रसाद दवाडीले आर्थिक वर्ष २०७९-०८० को तुलनामा गत आर्थिक वर्ष २०८०-०८१ मा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा विषादीको खपत र प्रयोग कम भएको बताए । उनले आर्थिक वर्ष २०८०-०८१ मा काभ्रेपलाञ्चोक जिल्लामा किटनाशक धुलो÷दानादार विषादी दश हजार पाँच सय किलोग्राम, तरल विषादी नौ हजार लिटर, ढुसीनाशक धुलो-दानादार ३८ हजार एक सय किलोग्राम, तरल विषादी दश हजार ३० लिटर, झारनाशक धुलो-दानादार तीन हजार पाँच सय किलोग्राम, तरल विषादी चार हजार तीन सय लिटर विषादी खपत भएको बताए । त्यस्तै जैविक विषादी धुलो-दानादार नौ सय किलोग्राम, तरल विषादी दुई हजार लिटर र अन्य धुलो-दानादार विषादी २५० किलोग्राम र एक हजार लिटर तरल विषादी खपत भएको प्रमुख दवाडीले बताए। 

२०८०-०८१ मा धुलो÷दानादार विषादी ५३ हजार दुई सय किलोग्राम र तरल विषादी २६ हजार ३३० लिटर खपत भएको छ भने  २०८०-०८१ मा सिन्धुपाल्चोक जिल्लामा किटनाशक धुलो/दानादार विषादी चार हजार ४०५ किलोग्राम, तरल विषादी तीन हजार लिटर, ढुसीनाशक धुलो/दानादार १५ हजार २० किलोग्राम, तरल विषादी पाँच हजार ३२५ लिटर, झारनाशक धुलो/दानादार  आठ सय किलोग्राम, तरल विषादी एक हजार ९२० लिटर विषादी खपत भएको छ । 

यस्तै सिन्धुपाल्चोक जिल्लामा जैविक विषादी धुलो/दानादार चार सय किलोग्राम, तरल विषादी ९१५ लिटर र अन्य धुलो/दानादार विषादी २५० किलोग्राम र ३१२ लिटर तरल विषादी खपत भएको थियो । दवाडीले आव २०८०/०८१ मा सिन्धुपाल्चोक जिल्लामा धुलो÷दानादार विषादी २० हजार ८७५ किलोग्राम र तरल विषादी ११ हजार ४७२ लिटर खपत भएको बताए । 

कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/०८० मा काभ्रेपलाञ्चोक जिल्लामा धुलो/दानादार विषादी ५६ हजार १६० किलोग्राम र तरल विषादी २८ हजार ९६४ लिटर र सिन्धुपाल्चोक जिल्लामा धुलो/दानादार २३ हजार १७५ किलोग्राम र तरल विषादी १५ हजार ७७० लिटर खपत भएको छ । 

 २०७९-०८० को तुलनामा पछिल्लो आव २०८०-०८१ मा काभ्रेपलाञ्चोकमा किटनाशक तरल विषादी, झारनाशक धुलो÷दानादार विषादी, जैविक विषादी धुलो/दानादार र तरल र अन्य तरल विषादीको प्रयोग भने बढेको बताए  । त्यसैगरी सिन्धुपाल्चोक जिल्लामा किटनाशक तरल विषादी, जैविक धुलो÷दानादार र तरल विषादीको प्रयोग बढेको छ । 

 कार्यक्रममा जिल्ला समन्वय प्रमुख दिपककुमार गौतमले विषादी विक्रेताको इजाजत दिने कुरालाई व्यस्थित गर्नुपर्ने बताउँदै किसानहरुलाई विषादी विक्रेताले प्रयोगको विधिको बारेमा समेत जानकारी दिनुपर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोदकुमार न्यौपानेले जिल्लामा समग्रमा विषादीको प्रयोग कमी हुनु खुसीको कुरा भएको बताउँदै किसानहरुलाई जैविक विषादी प्रयोगतर्फ आकर्षित गर्नुपर्ने बताए । 

कार्यक्रममा विषादी विक्रेता व्यवसायीहरुले विषादी विक्रेताको इजाजत प्रमाणपत्र नविकरणलगायतमा समस्या देखिएको बताएका थिए ।काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा बीउ बिजन तथा विषादी विक्रेताको सङ्ख्या १३६ रहेको छ । 

प्रतिक्रिया



थप समाचारहरु