धुलिखेल- काठमाडौं विश्वविद्यालयको ३०औं दीक्षान्त समारोह (दोस्रो चरण) २०८२ जेठ ३० गते शुक्रबार हुने भएको छ । दीक्षान्त समारोह प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा विश्वविद्यालयको केन्द्रीय परिसर धुलिखेलमा बिहान ११ बजे सुरु हुने कार्यक्रम रहेको प्रवक्ता एक्कुमाया पुनले जानकारी दिइन् ।
अमेरिकास्थित माउन्ट साइनाई हेल्थ सिस्टम्सका प्रमुख कार्यकारी अधिकृत ब्रेन्डन जी कारको प्रमुख आतिथ्य र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति रघुजी पन्तको समुपस्थितिमा उक्त कार्यक्रम आयोजना हुन लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
समारोहमा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा. डा. अच्युत वाग्लेले स्वागत मन्तव्य दिनुहुनेछ भने रजिष्ट्रार प्रा. डा. राजीव श्रेष्ठले समारोह सञ्चालन गर्नुहुनेछ ।
सो समारोहमा काठमाडौं विश्वविद्यालयबाट स्कुल अफ आर्ट्सका १६३ जना, स्कुल अफ एजुकेसनका १०२ जना, स्कुल अफ इन्जिनियरिङका ६८ जना, स्कुल अफ मेनेजमेन्टका ११० जना, स्कुल अफ मेडिकल साइन्सेजका ६६१ जना र स्कुल अफ साइन्सका २५ जना गरी जम्मा १ हजार १ सय २९ जना विद्यार्थी दीक्षित हुनेछन् । समारोहमा विश्वविद्यालयका आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, मेनेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स सङ्कायका पीएचडी तहका १४ जना, डीएम तहका ८ जना, एमसीएच तहका १० जना, एमफिल तहका ६९ जना, स्नातकोत्तर तहका ५ सय १३ जना, पीजीडी तहका ४ जना र स्नातक तहका ५ सय ११ जना रहनेछन् ।
दीक्षित हुने विद्यार्थीहरूमध्ये पुरुषको प्रतिशत ५०.९३ (५ सय ७५ जना) र महिलाको प्रतिशत ४९.०७ (५ सय ५४ जना) रहनेछ । दीक्षित हुने विदेशी विद्यार्थीहरू भुटान, भारत, श्रीलङ्का र माल्दिभ्स गरी ४ देशका ११८ जना अर्थात् १०.४५ प्रतिशत छन् ।
सो समारोहमा काठमाडौं विश्वविद्यालयको इतिहासमा पहिलोपटक स्कुल अफ इन्जिनियरिङ अन्तर्गत Doctor of Philosophy in Geomatics Engineering मा १ जना, स्कुल अफ मेनेजमेन्ट अन्तर्गत Bachelor of Professional Hospitality मा २० जना र स्कुल अफ मेडिकल साइन्सेज अन्तर्गत Doctor of Medicinae in Critical Care Medicine मा १ जना, Doctor of Medicinae in Pulmonary Critical Care and Sleep Medicine मा १ जना, MSc in Community Health Nursing मा १ जना, MSc in Psychiatric Nursing मा २ जना र Master of Physiotherapy in Musculoskeletal Physiotherapy मा ५ जनालाई उपाधि प्रदान गरिनेछ ।
तीसौं दीक्षान्त समारोहको दोस्रो चरणको कार्यक्रमसम्ममा गरी काठमाडौं विश्वविद्यालयबाट ४७ हजार ८ सय ३१ जना उत्तीर्ण भएका छन् । जसमध्ये ५ हजार ६ सय ६० जना (११.८३ प्रतिशत) विदेशी विद्यार्थी छन् ।
समारोहमा विश्वविद्यालयका सर्वोत्कृष्ट विद्यार्थीलाई स्वर्णपदक वितरण गरिनेछ ।
जसमा स्नातकोत्तर तहमा सबैभन्दा बढी CGPA प्राप्त गर्ने विद्यार्थीलाई दिइने चान्सलर पदक स्कुल अफ एजुकेसनका दयाराम सिंखडा, स्नातक तहमा सबैभन्दा बढी CGPA प्राप्त गर्ने विद्यार्थीलाई दिइने भाइस चान्सलर स्वर्णपदक स्कुल अफ मेनेजमेन्टका एजल सुखजू, MBA तहमा सबैभन्दा बढी CGPA प्राप्त गर्ने विद्यार्थीलाई दिइने जुद्धबहादुर श्रेष्ठ स्वर्णपदक स्कुल अफ मेनेजमेन्टका कृष्णबाबु भट्टराईलाई प्रदान गरिनेछ । यस्तै रमेशप्रसाद सिंह स्वर्णपदक स्कुल अफ मेडिकल साइन्सेजका सुयस तिमल्सिनालाई, महेशनाथ पराजुली स्वर्णपदक स्कुल अफ एजुकेसनका युरिशा उपाध्याय र प्रेमराज पन्त स्वर्णपदक स्कुल अफ स्कुल अफ मेनेजमेन्टका एजल सुखजुलाई दिइनेछ ।
पत्रकार सम्मेलनमा उपकुलपती प्रा.डा अच्युत वाग्लेले समारोहको सबै तयारी पूरा भएको भन्दै भोलि सिनेट बैठक बोलाइएको र भोलिको बैठकले धुलिखेल अस्पतालसँगको सहकार्यको नयाँ आयाम सुरु गर्ने वताए ।