५० वर्षपछि लालपूर्जा हातमा पर्दा भुम्लुबासीमा छायो खुशीयाली


मेचीकाली

भुम्लु (काभ्रे)–५० वर्षदेखि आफ्नो जग्गाको लालपूर्जाको प्रतिक्षामा रहेका काभ्रेको भुम्लु गाउँपालिकाको दुईवटा वडाका स्थानीयको प्रतिक्षा समाप्त भएको छ । आज मंगलबारदेखि भुम्लुको वडा नं ७ र ८ का स्थानीयले जग्गाधनी प्रमाण पूर्जा अर्थात लालपूर्जा प्राप्त गर्न थालेका छन् । 

आज लालपूर्जा पाउनेमध्येका एक दिए भुम्लु ८ का ८६ बर्षिय गिर्वराज उप्रेती । उनी आज निकै खुशी देखिएका थिए । आफुले भोगचलन गर्दै आएको जमिनको ५० बर्षपछि भुमी ब्यबस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको हातबाट आफ्नो जग्गाको जग्गाधनी प्रमाण पुर्जा प्राप्त गरेपछि उनको मुहारमा खुशी झल्किएको हो  ।

बि. सं. २०३२ सालदेखि लालपुर्जाको आशामा रहेका भुम्लु गाउँपालिकामा दुई वडाका जग्गाधनीले लालपुर्जा पाएका थिएनन् । नापी कार्यालय काभ्रेपलान्चोकले नापी टोलीलाई गाउँमा खटाएर स्थानीयबासीको समस्या समाधान गरेपछि स्थानीयले आफ्नो जग्गाको लालपुर्जा पाएका हुन् । 

भुमी ब्यबस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले स्थानीय जग्गाधनीलाई लालपुर्जा वितरण कार्यको सुरु गरेका छन् । कार्यक्रममा मन्त्री अधिकारीले वर्तमान सरकार जनताको समस्या समाधान गर्नका लागि अग्रसर रहेर काम गरिरहेको बताए । मन्त्री अधिकारीले विभिन्न समितिले दिएको प्रतिवेदनको आधारमा भुम्लुको जग्गाको समस्या समाधान गरिएको बताए । सरकारले आगामी पुस मसान्तभित्र भुम्लुका लालपुर्जाविहिन नागरिकलाई लालपुर्जा दिनेगरी काम अघि बढाइएको उनको भनाई छ ।

कार्यक्रममा प्रदेश सभा सदस्य रुकु चौलागाईंले लालपुर्जा नहुँदा स्थानीय नागरिकले समस्या ब्यहोर्नु परेको बताइन् । नापी बिभागका महानिर्देशक प्रकाश जोशीले लामो समयको प्रयासपछि भुम्लुका नागरिकलाई लालपुर्जा वितरण गर्न सफल भएको बताऐ । कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेल, उपाध्यक्ष जितेन्द्रमान तामाङ, गाउँपालिकाका पुर्व अध्यक्ष गुमानध्वज कुँवरले लालपुर्जा नहुँदा नागरिक पाएको सास्तीको बारेमा आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा नापी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख नापी अधिकृत अशोककुमार भुसालले हालसम्म वडा नम्बर–७ बाट लालपुर्जा प्राप्त गर्नका लागि ६२७ जनाले निवेदन दिएको बताए । निवेदन दिएकामध्ये हालसम्म लगत भिडाउनका लागि मालपोत कार्यालयमा ४७३ वटा निवेदन पठाइएको हालसम्म १८५ वटा निवेदनको लगत भिडेर आएको उनको भनाई छ । लगत भिडेर आएकामध्ये सात वटा सरकारी र १७७ वटा घरपरिवारको लालपुर्जा तयार भएको छ ।

यस्तै वडा नम्बर–८ मा लालपुर्जाका लागि ८७० वटा निवेदन परेको नापी कार्यालयले जनाएको छ । वडा नम्बर–८ बाट आएको निवेदनमध्ये ७०४ वटा निवेदनको लगत भिडाउनका लागि मालपोत कार्यालय पठाइएकोमा ४२८ वटा निवेदनको लगत भिडेर आएको प्रमुख नापी अधिकृत भुसालले बताए । लगत भिडेर आएकामध्ये हालसम्म २४६ वटाको लालपुर्जा तयार भएको र हालसम्म १७ वटा निवेदनको लगत नभिडेको उनले जानकारी दिए । भुम्लु गाउँपालिका–७ मा तीन सय घरधुरी रहेको र वडा नम्बर–८ मा छ सय घरधुरी रहेको नापी कार्यालयले जनाएको छ । कार्यालयले वडा नम्बर–७ को तुलनामा वडा नम्बर–८ मा जग्गाको स्वामित्व धेरैमा गएकोले उक्त वडामा जग्गाको कारोबार धेरै भएको जनाएको छ । 

साविकको पिपलटार गाविस हुँदादेखि नै कमाई गर्दै आएको खेतियोग्य जमिन पिपलटार गाविस फुट्दा भुम्लुटार र फलाँटे गाविस दुवैमा परेपछि त्यो खेतियोग्य जमिन कुन गाविसले लिने भन्ने विषयमा विवाद हुँदा वि.सं. २०३२ सालमा नापी गर्न गएको टोली र दुई गाविसका नेतृत्वको विवादका कारण नापी टोली फर्किएपछि स्थानीयबासीले लालपुर्जा पाउन सकेका थिएनन् । वि.सं.२०३२ सालमा विवाद भएपछि २०३५ सालमा पुनः नापी टोली उक्त गाविसमा नापीका लागि गएको थियो । उक्त समयमा पनि दुई गाविसबीच उक्त जग्गाको विषयमा विवाद चर्किएपछि नापी टोली काम नगरी फर्किएको थियो । 


प्रतिक्रिया



थप समाचारहरु