काभ्रेपलाञ्चोकका तेह्र वटै स्थानीय तहमा लम्पी स्किन


मेचीकाली

काभ्रेपलाञ्चोक– बैशाख पहिलो सातामा जिल्लाको धुलिखेल नगरपालिका–२ रविगाउँमा देखिएको ‘लम्पी स्किन’ रोग जिल्लाका तेह्र वटै स्थानीय तहमा देखिएको छ । पक्स समूहको काप्रीपक्स भाइरसबाट गाई, भैँसीमा लाग्ने लम्पी स्किन रोग जिल्लाका सबै स्थानीय तहको गाउँ तहमा पुगेपछि किसानहरु चिन्तित बनेका छन् ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेपलाञ्चोकका अनुसार जिल्लाको १३ वटा स्थानीय तहका करिब ३५ हजार गाई तथा भैसीमा लम्पी स्किन रोग देखिएको जनाएको छ । केन्द्रका निमिक्त प्रमुख डा. नितेष कार्कीले लम्पीका कारण जिल्लामा हालसम्म करिब ४५ वटा गाई मरेको बताउनुभयो । उहाँले सङ्क्रमिते करिब ३५ हजार पशुमध्ये दुई हजार वटा भैँसी रहेको बताउनुभयो । रोगका कारण हालसम्म भैँसी भने नमरेको डा. कार्कीले बताउनुभयो । उहाँले जिल्लाका १३ वटा स्थानीय तहमा कहिले कुन पालिका त कहिले कुन पालिकामा बढी पशु सङ्क्रमित हुने गरेको बताउनुभयो । केहीदिन अघिसम्म जिल्लाको महाभारत र खानीखोला गाउँपालिकामा बढी पशुमा सङ्क्रमण देखिएपनि हाल जिल्लाको बनेपा नगरपालिकाभित्र पालिएका पशुमा उक्त रोग देखिएको छ । केन्द्रले बढी पशुपालन भएको स्थानमा रोगको बढी सङ्क्रमण रहेको जनाएको छ । जिल्लामा लम्पी स्किन रोग फैलिएपछि केन्द्रले जिल्लाका १३ वटै स्थानीय तहमा सचेतानामूलक जानकारी पठाउनुको साथै चार हजार मात्रा खोप गरि एउटा पालिकालाई तीन सय मात्रा खोपका दरले सबै स्थानीय तहमा खोप ठाइएको डा. कार्कीले बताउनुभयो ।
जिल्लामा रोगको सङ्क्रमण बढेसँगै केन्द्रले लम्पि स्किन बिरुद्धको थप मात्रा खोप खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । जिल्लामा देखिएको रोगका कारण करिब ४५ लाख रुपियाँ बराबरको पशुधन क्षति र रोगका कारण पशुले दिने दुधमा कमी आउँदा करिब छ करोड रुपियाँ बराबरको दुध उत्पादनमा कमी आएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । लम्पी स्किन रोग सन् १८८८ मा अफ्रिाकाबाट सुरु भएको पाइन्छ । सन् २०१२ पछि मध्य पूर्व, दक्षिण पूर्वी युरोप, रसिया, काजकिस्तानहुँदै बङ्गलादेश हुँदै वि.सं. २०७७ साल असारमा नेपालको मोरङ जिल्लामा देखिएको थियो । यो रोग लागेपछि गाई, भैँसीले कचेरा निकाल्ने, सिंगान बग्ने, तथा फिँज धेरै निकाल्ने, शरीरका विभिन्न भागमा विशेष गरी घाँटी, पछाडिको खुट्टाहरुमा, पेट तथा थ्ुन वरिपरी साना, ठूला गिर्खा तथा फोकाहरु देखिन्छ । यो रोग लागेपछि पशुमा २५ देखि ८० प्रतिशतसम्म दुघ उत्पादन घट्छ, पशुको गर्भ तुहिने, मृत्युदर कम भएपनि धेरै पशुहरु बिरामी हुने लक्षण देखिन्छ । यो रोगको हालसम्म कुनै ठोस उपचार छैन ।


प्रतिक्रिया



थप समाचारहरु