मोटरसाइकललाई ठक्कर दिएर भाग्दा नालीमा खस्यो गाडी, एकजनाको मृत्यु


मेचीकाली

काभ्रे–विपी राजमार्गअन्तर्गत पनौती ५ सुन्दरवस्तीमा आज बिहान भएको सवारी दुर्घटनामा परी एकजनाको ज्यान गएको छ । 

मोटरसाइकललाई ठक्कर दिएर भाग्ने क्रममा इलेक्ट्रिक गाडी सडकको नालीमा खस्दा गाडीमा सवार एकजनाको मृत्यु भएको हो । बिहान पौने ७ बजे काठमाडौंबाट इलामतर्फ जाँदै गरेको बा ६४ प १७७२ नंवरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेका बागमति प्रदेश ०३–००१ ज ०२९८ नंवरको इलेक्ट्रिक गाडीले ठक्कर दिएको थियो । मोटरसाइकललाई ठक्कर दिएर भाग्ने क्रममा सोही ठाउँको सडकको नालीमा गाडी खसेको थियो । 

गाडीमा रहेकी रामेछापको मन्थली नगरपालिका १२ की २० वर्षीया रमिला बुढाथोकीको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । दुर्घटनामा परी गाडीमा सवार मन्थलीकै २३ वर्षीया पुष्पा तामाङ, रामेछापको लिखुतामाकोशी गाउँपालिका ५ का ५१ बर्षीय टंकप्रसाद दाहाल तथा मोटरसाइकल चालक इलामको थाकाथुम गाउँपालिकाका ४० वर्षीय रामुकमार राई र उनकी श्रीमत ३९ वर्षीया प्रविशा सुनुवार घाइते भएका छन् । चारजना घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहरीले इलेक्ट्रिक गाडीका चालक पनौती ५ का उपेन्द्र थापालाई नियन्त्रणमा लिएको छ । 

चाडपर्व सुरु भएसँगै जिल्लामा दुर्घटनाको क्रम पनि बढ्न थालेको छ । हिजो साँझ पनौतीमा भएको दुर्घटनामा परी एकजनाको ज्यान गएको थियो । साँझ पनौती १० दाहालटारमा रोकी राखेको  बा ७ च ६२७७ नंवरको बोलेरोमा पनौतीबाट दाहालटार तर्फ जादै गरेको बा ६५ प ७१३९ नं. को स्कुटर आफैं ठोकिँदा घाइते भएका पनौती ७ बसपार्कका १६ बर्सिय  ईरोज ताम्राकारको उपचारका क्रममा मृत्यु भएको थियो ।


प्रतिक्रिया



थप समाचारहरु