काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्लामा रहेका स्थानीय तहहरुले सेनेटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि २०७६ ले तोकेको मापदण्ड अनुसार स्थानीय तहहरुले सेनेटरी प्याड खरिद नगरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले गरेको आर्थिक वर्ष २०८०÷०८१ लेखा परीक्षणले जिल्लामा रहेका अधिकाँश स्थानीय तहले सेनेटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधि, २०७६ का दफा ४ अनुसार स्यानिटरी प्याडको ब्यबस्थापन नगरेको उल्लेख गरेको हो ।
सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत किशोरावस्थाका छात्राहरुलाई महिनावारीको समयमा आवश्यक पर्ने महिनावारी व्यवस्थापन सामाग्री उपलब्ध गराई उनीहरुको स्वास्थ्यमा सुधार गरी सोही कारण विद्यालय छाड्ने समस्या समाधान गर्न गुणस्तरीय शिक्षाको प्रत्याभूति गर्न र महिनावारी व्यवस्थापन सामाग्रीको दिगो विसर्जन तथा पुनः प्रयोग गर्न सकिने सामाग्रीको प्रयोग गर्नेतर्फ उत्प्रेरित गर्नका लागि विद्यालयमा सेनेटरी प्याड उपलब्ध गराउने व्यवस्था गरेको हो । महालेखा परीक्षकको कार्यालयले गरेको आर्थिक वर्ष २०८०÷०८१ को अन्तिम लेखापरीक्षण प्रतिवेदनमा जिल्लाको रोसी गाउँपालिका, धुलिखेल नगरपालिका, बनेपा नगरपालिका, पाँचखाल नगरपालिका, मण्डनदेउपुर नगरपालिका, नमोबुद्ध नगरपालिका, महाभारत गाउँपालिका, भुम्लु गाउँपालिका, बेथानचोक गाउँपालिका, खानीखोला गाउँपालिकाले खरिद गरेको सेनिटरी प्याडमा त्रुटि औँल्याएको हो । महालेखाको प्रतिवेदनले जिल्लाको रोसी गाउँपालिकाले आव २०८०÷०८१ मा पालिकाभित्रका सामुदायिक बिद्यालयको ६ कक्षाभन्दा माथिका एक हजार ५४९ छात्राहरुका लागि २२ हजार १२८ थान प्याड खरिद रेको उल्लेख छ ।
उक्त गाउँपालिकाले सेनेटरी प्याडको गुणस्तर नै परीक्षण नगरी १६ लाख ९५ हजार ३१४ रुपियाँको प्याड खरिद गरेको प्रतिवेदनमा उल्लेख छ । साथै प्रतिवेदनले गत विगतको खपतलाई आधार मानी समयमै उचित परिमाणमा खरिद विरतण गर्नुपर्नेमा १२ हजार १२८ थान मौज्दात रहेकोले बढी परिमाण मौज्दात रहँदा गुणस्तरमा ह्रास आउने भएकोले विद्यालयमा आवश्यकतका आधारमा अविलम्ब वितरण गर्नुपर्ने र सुरक्षित भण्डारण गर्न सुझाव दिएको छ । महालेखा परीक्षकको प्रतिवेदनले जिल्लाको धुलिखेल नगरपालिकाले नमूना परीक्षणका क्रममा सम्झौता बमोजिम एक प्याकेटमा २८० एमएम÷८ पिस हुनुपर्नेमा २६० एमएम÷६ पिस रहेको पाइएको उल्लेख छ । धुलिखेलले खरिद गरेको प्याडको गुणस्तर परीक्षण प्रतिवेदन समेत संलग्न नरहेको उल्लेख छ । धुलिखेलले आव २०८०÷०८१ मा पालिकाभित्रका २७ विद्यालयका छात्राहरुका लागि ठेक्कामार्फत १२ लाख ८६ हजार ५३ रुपियाँमा ११ हजार ९८० प्याकेट सेनेटरी प्याड खरिद गरेको थियो । प्रतिवेदनले धुलिखेलले खरिद गरेको मध्ये १० हजार ९५६ प्याकेट वितरण गरेको र एक हजार २४ प्याकेट मौज्दात देखिएकोले कार्यक्रमको उद्देश्य अनुरुप समयमा नै वितरण गर्नुपर्ने सुझाव दिएको छ । प्रतिवेदनमा कार्यक्रमको उद्देश्य अनुरुप छात्राहरुलाई समयमा नै तोकिएको गुणस्तर बमोजिम सेवा उपलब्ध भयो भएन, खरिद भण्डारण कार्य मापदण्ड अनुरुप गरिएको छ छैन भनेर आश्वस्त हुने अवस्थाको विश्लेषण गर्न नसकेको उल्लेख गरेको छ ।
महालेखाले जिल्लाको महाभारत गाउँपालिकाले गत विगतको खपतलाई आधार मानी समयमा नै उचित परिमाणमा खरिद गर्नुपर्नेमा वर्षान्तमा खरिद गरी मौज्दातमा राखेको उल्लेख गरेको छ । खरिद गरिएका प्याडहरु भण्डारण गर्दा गुणस्तरमा कमी नआउने गरी सुरक्षित रुपमा राख्ने सो को गुणस्तरको नमूना परीक्षण गरी प्रतिवेदन संलग्न गनुर््पर्नेमा उक्त कार्य नगरेको उल्लेख गरेको छ । उक्त गाउँपालिकाले छ हजार पाँच सय प्याकेट सेनेटरी प्याण्ड पाँच लाख ८७ हजार छ सयमा खरिद गरेको थियो । जिल्लाको भुम्लु गाउँपालिकाले प्याण्डको गुणस्तर परीक्षण नगरी सात लाख ३८ हजार ३४२ रुपियाँमा ६१९ छात्राका लागि प्याड खरिद गरेको थियो । बेथानचोक गाउँपालिकाले ६ कक्षामाथिका ७६४ जना छात्राहरुका लागि आठ लाख ४० रुपियाँमा आठ हजार थान प्याण्ड खरिद गरेको थियो । महालेखाले वि द्यालयमा वितरण भएकोमा प्रयोग भए नभएको र भण्डारण अवस्था बारे अनुगमन गरी प्रतिवेदन बनाउनुपर्नेमा सुझाव दिएको छ । महालेखाको प्रतिवेदनमा जिल्लाको खानीखोल गाउँपालिका, मण्डनदेउपुर नगरपालिका, बनेपा नगरपालिका, नमोबुद्ध नगरपालिकालगायतका स्थानीय तहले गुणस्तर परीक्षण नगरी प्याड खरिद गरेको उल्लेख छ ।
सेनेटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि २०७६ अनुसार विद्यालयले छात्रा विद्यार्थीको लगत तयार गरी सम्बन्धित स्थानीय तहमा लेखी पठाउने र स्थानीय तहले प्राप्त सङ्ख्याको आधारमा एक महिनामा एक छात्राले बढीम १६ वटा सेनेटरी प्याड प्राप्त गर्न सक्ने छन् । सरकारले कार्यविधि बनाई विद्यालयका छात्राहरुलाई वितरण गरिने सेनेटरी प्याडको लागि विभिन्न १२ वटा मापदण्ड तोकेको छ । महालेखाले उक्त कार्यविधि आर्थिक वर्ष २०७६÷०७७ सम्मको लागि मात्रै लागु हुने उल्लेख गर्दै त्यसपछि अन्य कुनै कार्यविधि स्वीकृत नभएकोले स्थानीय तहले कायविधि बेगर नै मनलाग्दी रुपमा प्याड खरिद गरेको उल्लेख छ ।