बनेपामा ल्होछार मेला हुने


मेचीकाली

बनेपा–काभ्रेको बनेपामा यही माघ १६ गतेदेखि सोनाम ल्होछार मेला तथा महोत्सव २०८१ आयोजना हुने भएको छ । बनेपा नगरपालिका वडा नं. ७ उग्रेश्वर मन्दिर परिसरमा आयोजना गरिएको मेला माघ २२ गतेसम्म सञ्चालन हुनेछ । 

औद्योगिक मेला महोत्सव प्रतिष्ठान नेपालको आयोजनामा मेला हुन लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । तामाङ जातिको बाक्लो बसोबास रहेको यस जिल्लामा सांस्कृतिक रूपमा संरक्षण, प्रचारप्रसार गर्ने र सुस्त रहेको अर्थतन्त्रलाई चलायमान बनाउने हेतुले पनि यो मेला तथा महोत्सव गर्न लागिएको मेलाका संयोजक क्षेत्रवहादुर वाइवाले जानकारी दिए । 

कृषि क्षेत्रको प्रवद्र्धन तथा आधुनिक कृषि तर्फ किसानहरुलाई उजागर गराई स्थानिय स्तरमा तथा स्वदेशमै उत्पादित वस्तु र सेवाको विकास तथा वजार विस्तार गर्न, सम्पूर्ण धार्मिक तथा पर्यटकिय क्षेत्रहरुको प्रचार–प्रसार तथा प्रवद्र्धन गर्न, घरेलु, साना तथा मझौला उद्योगहरुले उत्पादन गरेका वस्तुको वजार प्रवद्र्धनमा टेवा पुर्याउन, मेलाको ध्येय रहेको छ । ग्रामिण क्षेत्रमा उत्पादन हुने हस्तकलाका सामग्रीहरु, सीप मुलक तालिम र तालिमवाट उत्पादन वस्तुको प्रवद्र्धन गर्ने मेलाका मुख्य उद्देश्य रहेका छन् ।

मेलामा लघु उद्यम प्रर्दशनी, अटो प्रर्दशनी, कृषि प्रर्दशनी, गार्मेन्टका उत्पादन, जुत्ता चप्पल, वैकल्पिक उर्जा, पर्यटन प्रवद्र्धन, गुणस्तरिय दैनिक उपभोग्य सामग्री, निर्माण सामग्री तथा औजार, सूचना प्रविधि तथा विद्युतिय सामाग्री, शिक्षा तथा स्वास्थ्य क्षेत्रका सेवाहरु, सास्कृतिक कार्यक्रम, हास्यव्यङ्ग, स्थानीय पहिचान झल्काउने झाँकी तथा जातविशेषको नाच, पर्यटन क्षेत्रको विस्तृत जानकारी, स्थानीय खानाका विशेष परिकारहरु, वाल उद्यानहरु यस मेलाका मुख्य आकर्षण रहने छन् । मेलामा तामाङ समुदायका रहनसहन, भेषभुषा र खानामा परिकार तथा नृत्य प्रस्तुत हुने समेत आयोजकले जनाएको छ । 

मेलामा काभ्रे जिल्लाको डाँडापारि क्षेत्रमा उत्पादित कृषिजन्य सामग्रीहरूको प्रदर्शन पनि हुनेछ । ६० वटा स्टल रहने मेलाको २ लाख जनाले अवलोकन गर्ने अनुमान गरिएको छ ।


प्रतिक्रिया



थप समाचारहरु