स्वास्थ्य चौकी बन्यो, मजदूरले ज्याला भने पाएनन् !


मेचीकाली

महाभारत (काभ्रे)–काभ्रेको महाभारत गाउँपालिका ८ मा चिटिक्कको स्वास्थ्यचौकी भवन बनेको छ । तीन वर्ष भयो यो स्वास्थ्यचौकी निर्माण भएको  । स्वास्थ्यचौकी निर्माण भएपछि स्थानीय बासिन्दालाई स्वास्थ्य सेवा पाउन सहज हुने देखिएकोे छ तर यसको निर्माणको क्रममा भएको अँध्यारो पाटोले स्थानीयलाई पीडितसमेत बनाएको छ ।

स्वास्थ्यचौकी निर्माण भएको तीन वर्ष वितिसक्यो, तर न स्थानीय होटलवालाले रकम पाएका छन् न दिनरात मेहनत गर्ने मजदूरले । “स्वास्थ्य चौकी निर्माणको काम गर्ने मजदुरलाई खाना खुवाउनु भन्दै खाना खुवाएँ, स्थानीइ धुर्वकुमार दर्लामी भन्छन्, ‘खाना खुवाए वापत मैले निर्माण व्यवसायीबाट सात लाख भन्दा बढी रकम लिन बाँकी छ, अहिलेसम्म जम्मा दुई हजार रुपियाँ मात्रै पाएको छु ।’

काम गर्ने मजदूर र ठेकेदार तथा कामदारलाई खाना खुवाउने हपीडितहरु प्रहरीसम्म पुगेका छन् । उनीहरुले गाउँपालिककै न्यायिक समितिमा पनि निवेदन दिएका छन् । शहरी विकास मन्त्रालयको सहयोगमा सुनकोशी निर्माण सेवाले वि.सं. २०७२ सालबाट घर्तीछाप स्वास्थ्य चौकी निर्माण सुरु गरेको थियो । स्वास्थ्य चौकी निर्माण सुरु गरिएको पाँच वर्षपछि अर्थात् २०७७ सालमा स्वास्थ्य चौकी निर्माणको काम सम्पन्न भएको थियो । स्वास्थ्य चौकी निर्माण सम्पन्न भएको तीन वर्ष हुँदा पनि निर्माण व्यवसायी विरबल लामाले मजदुर र होटल, पसलको रकम नदिएका कारण हालसम्म पनि भवन हस्तान्तरण समेत हुन सकेको छैन । 

महाभारत गाउँपालिकाका उपाध्यक्ष सागर मोक्तानले स्वास्थ्य चौकी निर्माण गर्ने निर्माण व्यवसायीले स्थानीय मजदुर र पसलहरुको रकम नतिरेपछि रकम उपलब्ध गराइदिन २९ जना मजदुर, होटल तथा पसल सञ्चालकले वि.सं. २०७९ साउन ११ गते न्यायिक समितिमा निवेदन दिएको बताए । स्थानीयको निवेदनपछि न्यायिक समितिले निर्माण व्यवसायी विरबल लामालाई पत्र र फोन गरेर छलफलमा आउन आग्रह गरेपनि वेवास्ता गरेपछि छलफलका लागि गत जेठ ७ गते जिल्ला प्रशासन प्रशासन कार्यालय काभ्रेपलाञ्चोकलाई अनुरोध गरेको थियो । 

‘प्रहरीको छलफल गर्दा भदौ महिनामा मजदुर र होटल तथा पसलहरुको रकम तिर्छु भनेपनि मङ्सिरको अन्तिम हुँदा समेत रकम दिइएको छैन’ उपाध्यक्ष मोक्ताले भने । स्वास्थ्य चौकी निर्माण व्यवसायीले स्थानीय मजदुरहरुको ज्याला, होटल, पसलको रकम वर्षौसम्म नतिर्दा समस्यामा परेको बताए । निर्माण व्यवसायीले स्थानीय मजदुर, पसल तथा होटलको गरी करिब ३६ लाख रकम भुक्तानी दिन बाँकी रहेको उनले बताए । 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले स्वास्थ्य चौकी निर्माण वापतको रकमको ज्याला नपाएको विषयमा प्रशासन कार्यालयबाट छलफल गराउनका लागि निर्देशन भएको बताए । यस सम्बन्धमा बुझ्ने प्रयास गर्दा निर्माण व्यवसायी लामाको मोबाइल अफ रहेको छ । स्वास्थ्य चौकी निर्माण गर्ने व्यवसायीले टायल, मार्वलको काम गर्ने, सिमेन्ट घोल्ने, झ्यालढोकाको खापा, खाना खुवाएको, पसलबाट सामान लगेको, वालुवा ढुवानी गरेको वापतको रकम पाउँ भन्दै २९जनाले ५६ लाख ३९ हजार ६५८ रुपियाँ रकम पाउनुपर्ने दावी गर्दै गाउँपालिकाको न्यायिक समितिमा निवेदन दिएका छन् । 


प्रतिक्रिया



थप समाचारहरु