खेतीको सिजनमा जहिल्यै मल अभाव


मेचीकाली

काभ्रेपलाञ्चोक– वर्षेनी रासायनिक मलको अभाव व्यहोर्दै आएका काभ्रेपलाञ्चोकका कृषकहरुले यस वर्ष पनि रासायनिक मलको अभाव भोग्न बाध्य भएका छन् । कृषकहरुले यतिबेला मकैलगायतको खाद्यान्न तथा तरकारी बालीका लागि आवश्यक पर्ने रासायनिक मल नपाउँदा कृषकहरु मर्कामा परेका हुन् । 

सरकारले कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट्र ट्रेडिङ कर्पोरेशनमार्फत कृषकहरुलाई माग अनुसार रासायनिक मल उपलब्ध गराउन नसक्दा कृषकहरु मर्कामा परेका हुन् भने बालीका लागि आवश्यक पर्ने रासायनिक मल बिचौलियाहरुसँग चर्को मूल्य तिरेर किन्न बाध्य भएका छन् । जिल्लाका कृषकहरुले यतिबेला मकै बालीका लागि युरिया मलको माग बढी गरिरहेको बेला कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङले कृषकलाई युरिया मल उपलब्ध गराउन सकेको छैन । यी दुवै संस्थाले सहकारीमार्फत कृषकहरुका लागि कोटा प्रणालीमा रासायनिक मल उपलब्ध गराउँदै आएका छन् । कृषि सामाग्री कम्पनी लिमिटेड धुलिखेलका प्रमुख योगेन्द्रकुमार पराजुलीले संस्थामा कृषकहरुले तत्कालका लागि मकैलगायतका बालीका लागि युरिया मलको माग धेरै गरेकोले माग पुरा गराउन सक्ने अवस्था नरहेको बताउनुभयो । उहाँले प्रदेश सरकारले पाउने रासायनिक मलको कोटाबाट काभ्रेपलाञ्चोकले १७ दशमलव ५ प्रतिशत मात्रै पाउने भएकोले हरेक वर्ष कार्यालयले कृषकले माग गरे अनुसारको रासायनिक मल उपलब्ध गराउन नसकेको र यस वर्ष पनि नसक्ने बताउनुभयो । 

उहाँले काभ्रेपलाञ्चोक जिल्ला नेपालमा नै सबैभन्दा बढी रासायनिक मल खपत गर्ने जिल्ला भएपनि कोटा प्रणाली लागु गर्दा त्यसको मूल्याङ्कन नगरी कम कोटा निर्धारण गरिएको बताउनुभयो । कार्यालय प्रमुख पराजुलीले चालु आवका लागि कार्यालयले आठ हजार आठ सय मेट्रिक टन युरिया, छ हजार ५० मेट्रिक टन डिएपी र ४४० मेट्रिक टन पोटास मल गरी कुल १३ हजार नौ सय मेट्रिक टन मलको कार्यक्रम पेश गरेपनि केन्द्रबाट १३ हजार नौ सय मेट्रिक टन मात्रै स्वीकृत गरेको बताउनुभयो । उहाँले चालु आवको हालसम्म कृषि सामाग्री कम्पनीमा छ हजार २१ मेट्रिक टन युरिया, तीन हजार ३९ मेट्रिक टन डिएपी र २७४ दशमलव ७५मेट्रिक टन पोटास मल प्राप्त गरेको बताउनुभयो । उहाँले कम्पनीमा आएको रासायनिक मलमध्ये काभ्रेपलाञ्चोकमा पाँच हजार ७०४ मेट्रिक टन युरिया, दुई हजार ८७८ मेट्रिक टन डिएपी र २६० मेट्रिक टन पोटास मल जिल्लाका १३ वटा स्थानीत तहमा वितरण गरिएको बताउनुभयो । उहाँले चालु आवका लागि निर्धारण गरिएको कोटा अन्र्तगत करिब पाँच सय मेट्रिक टन डिएपी मल आउन बाँकी रहेको बताउनुभयो । 

यस्तै कोटाको युरिया मल भने असारको दोस्रो सातातिर आउने जानकारी प्राप्त भएको कम्पनीले जनाएको छ । पराजुलीले तत्कालका लागि काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका लागि करिब १५ सय मेट्रिक टन युरिया मलको आवश्यकता रहेको बताउनुभयो । उहाँले आर्थिक वर्ष २०६९÷०७० मा कम्पनीमार्फत जिल्लामा १९ हजार ७४८ मेट्रिक टन रासायनिक मल खपत भएको बताउँदै काभ्रेपलाञ्चोकमा रासायनिक मलको माग धेरै रहेको बताउनुभयो । आव २०६९÷०७० मा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा गरी युरिया १४ हजार ६०३ मेट्रिक टन, डिएपी पाँच हजार ७३ र पोटास ७२ दशमलव ५ मेट्रिक टन खपत भएको बताउनुभयो । उहाँले आगामी आवको लागि कार्यालयले दश हजार पाँच सय मेट्रिक टन युरिया, आठ हजार पाँच सय टन डिएपी र पाँच सय टन पोटास गरी १९ हजार पाँच सय मेट्रिक टनको कार्यक्रम बनाएको बताउनुभयो । 

कृषि सामाग्री र साल्ट टे«डिङले पर्याप्त मात्रामा युरिया मल उपलब्ध गराउन नसक्दा जिल्लाका कृषकहरुले करिब एक हजार रुपियाँ पर्ने युरिया मल बिचौलियासँग दुई हजार तीन सयदेखि दुई हजार पाँच सय रुपियाँसम्म मूल्य तिरेर मल किन्न बाध्य भएका छन् भने सम्बन्धित निकायले त्यस्ता कालोबजारीहरुलाई करावाहि गर्न सकेको छैन । साल्ट ट्रेडिङ कर्पोरेशन बनेपाका शाखा प्रमुख ईश्वर आचार्यले कार्यालयमा युरिया मलको अत्यधिक माग रहेको बताउनुभयो । उहाँले दैनिक २० भन्दा बढी सहकारी संस्थाले युरिया मलको माग धेरै गरेको बताउनुभयो । उहाँले संस्थाले करिब साढे पाँच सय सहकारीलाई युरिया मल जति दिए पनि लैजाने अवस्था रहेको बताउनुभयो । उहाँले किसानको माग अनुसार युरिया मल दिन सकिने अवस्था नरहेको बताउनुभयो ।

प्रतिक्रिया



थप समाचारहरु