मण्डनदेउपुरमा ‘थकान विदा’पछि ‘मेला समापन विदा !’


मेचीकाली

काभ्रे–सरकारले स्थानीय तहलाई स्थानीयस्तरका चाडपर्व मेला आदिमा विदा दिने अधिकार दिएको छ । तर, त्यसको चरम दुरुपयोगमा काभ्रेको मण्डनदेउपुर नगरपालिका अग्रपंक्तिमा देखिएको छ । यसअघि कर्मचारीलाई थकान विदा दिएर विवादमा आएको मण्डनदेउपुर नगरपालिकाले अहिले फेरि मेलाको समापन विदा दिएको छ ।

काभ्रेको मण्डनदेउपुर र बनेपा नगरपालिका तथा भक्तपुरको चाँगुनारायण तथा काठमाडौंको शंकरापुर नगरपालिकाको आयोजनामा हिजोबाट नगरकोट भ्रमण वर्ष २०८२ सुरु भएको छ । भ्रमण वर्षको उद्घाटन कार्यक्रम भोलीसम्म सञ्चालन हुनेछ । भोली उद्घाटन कार्यक्रमको अवसर भन्दै मण्डनदेउपुर नगरपालिकाले नगरभरि विदा दिएको हो । भ्रमण वर्षका अन्य तीन आयोजक नगरपालिकाले भने विदा दिएको खबर अहिलेसम्म आएको छैन । मण्डनदेउपुर नगरका प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठले आज जारी गरेको सूचनामा भनिएको छ : उपर्युक्त सम्बन्धमा मण्डनदेउपुर नगरपालिका, काभ्रेपलाञ्चोक, चाँगुनारायण नगरपालिका, भक्तपुर; बनेपा नगरपालिका, काभ्रेपलाञ्चोक र शंकरापुर नगरपालिका, काठमाण्डौंको संयुक्त आयोजनामा मनाउन लागिएको नगरकोट भ्रमण वर्ष, २०८२ को मिति २०८२ वैशाख १ देखी ३ गते सम्म भईरहेको उ‌द्घाटन समारोहको समापन कार्यक्रम यही मिति २०८२ वैशाख ३ गते बुधबारका दिन मण्डनदेउपुर नगरपालिका वडा नं. २ बतासे डाँडामा हुने भएकोले उपरोक्त अवसरमा कर्मचारी, नगरबासी तथा सरोकारवाला सम्पुर्णलाई निमन्त्रणा गर्दै मिति २०८२ वैशाख ३ गते बुधबारका दिन मण्डनदेउपुर नगरपालिका, नगरकार्यपालिकाको कार्यालय तथा मातहतका कार्यालय, विद्यालय तथा संघसंस्थामा स्थानीय बिदा गर्ने नगर प्रमुखस्तरीय निर्णय भएको व्यहोरा सरोकारवाला सम्पुर्णमा जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ।


यसअघि २०८० असोज ३ गते मण्डनदेउपुर नगरपालिकाको कार्यालय नयाँ भवनमा सारिएको थियो । भवन उद्घाटनको भोलीपल्ट कर्मचारीहरु थाकेको भन्दै असोज ४ गते नगरभरि सार्वजनिक विदा दिइएको थियो । 

संघीय सरकारबाहेक प्रदेश सरकार र स्थानीय तहले आफूखुशी विदा दिने चलन रहँदै आएको विगतदेखि नै हो । विगतमा प्रदेशहरुमा पनि सार्वजनिक बिदा दिने सवालमा यस्तै अभ्यास देखिएको थियो । चैत २०७५ मा बसेको अन्तरप्रदेश समन्वय परिषदको बैठकमा संघीय सरकारले दिएकोबाहेक प्रदेश सरकारले थप ६ दिनसम्म बिदा दिनसक्ने व्यवस्था गर्ने सहमति जुटेको थियो ।

त्यसै अनुसार गृह मन्त्रालयले राजपत्रमा एक सूचना जारी गर्दै नेपाल सरकारले निर्णय गरी तोकेका सार्वजनिक बिदाका अतिरिक्त प्रदेश सरकारहरुले आ–आफ्नो प्रदेशमा प्रचलित धर्म, रितिस्थितिसमेतलाई दृष्टिगत गरी बढीमा ६ दिनसम्म बिदा दिन पाउने व्यवस्था गरेको थियो ।

नेपालको संविधान २०७२ ले स्थानीय सरकारलाई विभिन्न काम, कर्तव्य र अधिकारहरु तोकेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा सार्वजनिक बिदाबारे केही उल्लेख छैन । तर, बिदा दिन नपाइने भन्ने पनि उल्लेख नभएकाले स्वायत्त सरकारका रुपमा स्थानीय तहरुले स्थानीय बिदा दिने अभ्यास चलाइरहेका छन् । काभ्रेकै महाभारत, चौरीदेउराली गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा विदा दिएको विषयमा सर्वोच्च अदालतमा मुद्दासमेत परेको थियो ।

 


प्रतिक्रिया



थप समाचारहरु