काभ्रे– प्रतिनिधि सभा सदस्य निर्वाचनको दिन आउन अब ९ दिनमात्रै बाँकी छ । निर्वाचनको दिन नजिँिदै गर्दा काभ्रेमा व्यवस्थापकीय तयारी पनि लगभग अन्तिम चरणमा पुगेको छ । जिल्लाको दुवै क्षेत्रको मतपत्र जिल्ला आईपुगेको छ । निर्वाचन आयोगले जिल्लाको दुई निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष र समानुपातिकतर्फको मतपत्र सोमबार जिल्ला पठाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेले सोमबार बिहान निर्वाचन आयोगले जिल्लाका दुवै क्षेत्रका लागि प्रत्यक्षतर्फ तीन लाख ५१ हजार र समानुपातिकतर्फको तीन लाख ५६ हजार मतपत्र जिल्लामा पठाएको बताउनुभयो । उहाँले जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर–१ का लागि प्रत्यक्षतर्फ एक लाख ७३ हजार र समानुपातिकतर्फको लागि समेत एक लाख ७३ हजार मतपत्र र क्षेत्र नम्बर–२ का लागि प्रत्यक्षतर्फ एक लाख ७८ हजार र समानुपातिकतर्फ एक लाख ८३ हजार मतपत्र जिल्लामा पठाएको बताउनुभयो । मुख्य निर्वाचन अधिकृत न्यौपानेले जिल्लाको दुवै क्षेत्रका लागि आएको मतपत्रको रुजु गर्ने र मतदान केन्द्रमा पठाउनका लागि मङ्गलबारबाट मतपत्र पोको पार्ने काम सुरु गरिने बताउनुभयो ।
उहाँले निर्वाचनमा खटिने कर्मचारीको अन्तिम नामावली प्रकाशन भएको र नामावलीमा भएका दोहोरोपना र अन्य विभिन्न त्रुटी सच्याउने काम भएको बताउँदै निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतको लागि बुधबार र बिहिबार अभिमुखीकरण तालिम सञ्चालन गर्ने तयारी भएको बताउनुभयो ।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जिल्लाको दुई क्षेत्रमा कुल १८९ मतदानस्थल र चार सय मतदान केन्द्र कायम गरिएको छ । जिल्लाको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि क्षेत्र नम्बर–१ मा एक लाख ६१ हजार एक सय र क्षेत्र नम्बर–२ मा एक लाख ६५ हजार ५११ गरी कुल तीन लाख २६ हजार ६११ मतदाता रहेका छन् । यसैबीच जिल्ला निर्वाचन अधिकारी दिनेश सिवाकोटीले निर्वाचनका लागि आवश्यक पर्ने निर्वाचन सामाग्री तयार पार्ने काम अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले मतदानका लागि प्रयोग गरिने निर्वाचन सामाग्री निर्वाचनमा खटिने कर्मचारीसँगै पठाइने बताउनुभयो ।