काभ्रेपलाञ्चोक– दुग्ध उत्पादनमा आत्मनिर्भर जिल्ला भएको काभ्रेपलाञ्चोक जिल्लामा बार्षिक करिब डेढ लाख मेट्रिक टन दुग्ध उत्पादन हुने गरेको छ । पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकले जिल्लामा बार्षिक एक लाख ४९ हजार २८० मेट्रिक टन अर्थात् १४ करोड ९२ लाख ८० हजार लिटर दुग्ध उत्पादन हुने गरेको जनाएको छ । पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा. सृजा वाग्लेले दुग्धमा आत्मनिर्भर रहेको जिल्लामा एक लाख ४७ हजार ८७४ वटा गाई र एक लाख ३८ हजार ४९९ वटा भैँसी रहको बताउनुभयो । उहाँले जिल्लामा रहेका कुल गाईमध्ये ४३ हजार १०७ वटा दुधालु गाई र ५९ हजार ३२० वटा दुधालु भैँसी रहेको बताउनुभयो । उहाँले जिल्लामा रहेका दुधालु गाईमध्ये २३ हजार ८३५ वटा स्थानीय, १९ हजार २७२ वटा उन्नत जातको गाई रहको बताउनुभयो । डा. वाग्लेले जिल्लामा रहेका कुल दुधालु भैँसीमध्ये ३४ हजार ३४० वटा स्थानीय र २४ हजार ९८० वटा उन्नत जातको रहेको बताउनुभयो । डा. वाग्लेले पछिल्लो समय जिल्लाको कुल दुग्ध उत्पादन, यसको बिक्री र यसबाट जिल्लामा भित्रने रकमको विषयमा आधिकारिक तथ्याङ्क सङ्कलन हुन नसकेको बताउनुभयो । जिल्लामा पनौती नगरपालिका, बनेपा नगरपालिका, मण्डनदेउपुर नगरपालिका, पाँचखाल नगरपालिकामा सबैभन्दा बढी दुध उत्पादन हुँदै आएको छ । जिल्लालाई २०७३ साल साउनमा दुधमा आत्मनिर्भर जिल्ला घोषणा गरिएको थियो ।
जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ काभ्रेका अध्यक्ष नारायणप्रसाद बडालले काभ्रेमा २००९ सालदेखि दुध बिक्री हुँदै आएको इतिहास रहेको बताउनुभयो । उहाँले जिल्लामा करिब ७० वटा सहकारीले व्यवस्थित र एक सय भन्दा बढी निजी तवरबाट दुध सङ्कलन हुँदै आएको बताउनुभयो । उहाँले जिल्लामा दैनिक करिब पाँच लाख लिटर दुध उत्पादन हुने गरेपनि बजारामा तीन लाख लिटर दुध बिक्रीका लागि पठाइने गरिएको बताउनुभयो । १३ वटा स्थानीय तह रहेको जिल्लामा डाडाँपारीको खानीखोला, महाभारत र कोशिपारीको चौरीदेउराली तथा भुम्लु गाउँपालिकाबाट तरल दुध बजारमा नआएको बताउँदै अन्य नौ वटा गाउँपालिकाबाट जिल्लामा तरल दुध सङ्कलन हुने गरेको बताउनुभयो । उहाँले तरल दुध नआउने स्थानीय तहबाट मख्खन, छुर्पी, खुवा, पनिरलगायतका दुग्धजन्य पदार्थ बजारमा आउने गरेको बताउनुभयो । उहाँले बजारमा बिक्रीका लागि पठाइएको दुधमध्ये जिल्लामा ३० प्रतिशत खपत हुने गरेको बताउनुभयो । उहाँले जिल्लाबाट विशेष गरी काठमाडौँमा दुध पठाइनुको साथै पाण्डर बनाउनका लागि पोखरा, चितवन, हेटौँडा समेत दुध पठाइने गरिएको बताउनुभयो ।
पशु सेवा कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा स्थानीय जातको ३१ हजार ३७२ वटा र उन्नत आठ हजार १२६ वटा गरी कुल ३९ हजार ४९८ वटा थारो गाई रहेका छन् । त्यस्तै स्थानीय जातको १६ हजार ७० वटा र उन्नत जातको दुई हजार ९५० वटा गरी १९ हजार २० वटा कोरली गाई र स्थानीय जातको १० हजार १७६ र उन्नत जातको दुई हजार ९११ वटा कुल १३ हजार ८७ वटा बाच्छी रहेको छ । कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा स्थानीय जातका २६ हजार ८६३ वटा र उन्नत जातको सात हजार ८७० वटा गरी कुल ३४ हजार ७३३ वटा थारो भैँसी रहेका छन् । स्थानीय जातको १० हजार ८३९ वटा र उन्नत जातको ११ हजार ९५३ गरी कुल २२ हजार ७९२ वटा थोरे, स्थानीय जातको तीन हजार २९६ वटा र उन्नत जातको दुई हजार ७५७ गरी कुल छ हजार ५३ वटा पाडी रहेका छन् ।