भक्तपुरका सम्पदाको कथा तस्बिरमा : अक्टोबर १० मा विशेष फोटोवाक


मेचीकाली , 

‘विकी लभ्स मोनुमेन्ट्स २०२६’ अन्तर्गत भक्तपुरका ऐतिहासिक सम्पदा र जीवन्त संस्कृतिलाई तस्बिरमा अभिलेखीकरण गरिँदै

काठमाडौं । नेपालको ऐतिहासिक तथा सांस्कृतिक सम्पदालाई तस्बिरमार्फत डिजिटल अभिलेखमा सुरक्षित गर्दै विश्वभर पुर्‍याउने उद्देश्यले सञ्चालन भइरहेको ‘विकी लभ्स मोनुमेन्ट्स २०२६’ अन्तर्गत आगामी अक्टोबर १० मा भक्तपुरमा विशेष फोटोवाक आयोजना हुने भएको छ।

Walk Through History: A Photowalk of Monuments & Heritage नारासहित आयोजना हुने फोटोवाक बिहान ८ बजे भक्तपुर दरबार क्षेत्रस्थित लुन ध्वाखा (Golden Gate) बाट सुरु हुनेछ। सहभागीहरूले भक्तपुरका ऐतिहासिक स्मारक, मन्दिर, मूर्ति, वास्तुकला, स्थानीय संस्कृति तथा जीवन्त परम्परालाई क्यामेरामा कैद गर्दै सम्पदा अभिलेखीकरणमा योगदान दिनेछन्।

फोटोवाकमा फोटोग्राफर मात्र नभई विद्यार्थी, युवा, पर्यटक, सम्पदा अभियन्ता, विकिमिडियन तथा फोटोग्राफीमा रुचि राख्ने जोकोही सहभागी हुन सक्ने आयोजकले जनाएको छ।

 

तस्बिरमार्फत विश्वसँग जोडिँदै नेपालको सम्पदा

‘विकी लभ्स मोनुमेन्ट्स’ विश्वव्यापी रूपमा सञ्चालन हुने सार्वजनिक फोटोग्राफी प्रतियोगिता हो। यसको सुरुआत सन् २०१० मा नेदरल्यान्ड्सबाट भएको थियो भने सन् २०१२ देखि विभिन्न देशमा वार्षिक रूपमा सञ्चालन हुँदै आएको छ।

प्रतियोगिताको मूल उद्देश्य नागरिक तथा फोटोग्राफरलाई आफ्नो आसपास रहेका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको फोटो खिच्न प्रोत्साहित गर्नु र ती तस्बिरलाई खुला लाइसेन्ससहित डिजिटल ज्ञानको साझा भण्डारमा पुर्‍याउनु हो।

नेपालमा यसअघि सन् २०१३ देखि २०२० सम्म विभिन्न संस्करणमा प्रतियोगिता सञ्चालन भएको थियो। ती अभियानबाट २५ हजार ९५० भन्दा बढी तस्बिर Creative Commons लाइसेन्सअन्तर्गत विकिमिडिया कमन्समा संकलन भइसकेका छन्।

‘विकी लभ्स मोनुमेन्ट्स २०२६’ नेपाल संस्करण सेप्टेम्बर १ देखि अक्टोबर १५, २०२६ सम्म सञ्चालन भइरहेको छ।

यस अभियानको उद्देश्य केवल फोटो प्रतियोगिता गर्नु मात्र नभई नेपालको विविध सम्पदा, लोकपरम्परा, पर्व, ऐतिहासिक स्मारक र तिनसँग जोडिएका कथालाई खुला डिजिटल ज्ञानका रूपमा विश्वसमक्ष पुर्‍याउनु हो।

 

सबैका लागि खुला फोटो प्रतियोगिता

‘‘विकी लभ्स मोनुमेन्ट्स’ मा सहभागी हुन कुनै विशेष पेशागत योग्यता आवश्यक छैन। जोकोहीले आफ्नै क्यामेराबाट खिचेका मौलिक तस्बिर अपलोड गरेर सहभागी हुन सक्छन्।

प्रतियोगितामा सहभागीले खुला लाइसेन्सअन्तर्गत आफ्ना तस्बिर विकिमिडिया कमन्समा उपलब्ध गराउनेछन्। उत्कृष्ट तस्बिरले नेपालका सम्पदालाई विश्वव्यापी रूपमा चिनाउन सहयोग गर्नुका साथै प्रतियोगिताका पुरस्कार जित्ने अवसरसमेत प्राप्त गर्नेछन्।

प्रतियोगितामा उत्कृष्ट तस्बिरका लागि विभिन्न पुरस्कारको व्यवस्था गरिएको छ। प्रथम हुनेलाई २० हजार रुपैयाँ, द्वितीयलाई १५ हजार रुपैयाँ, तृतीयलाई १० हजार रुपैयाँ तथा विशेष योगदानका लागि ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

यस अभियानको मुख्य उद्देश्य खुला ज्ञानमा योगदान, नेपालको विविध सांस्कृतिक सम्पदाको विश्वव्यापी प्रदर्शन र भावी पुस्ताका लागि डिजिटल अभिलेख निर्माण गर्नु रहेको आयोजकको भनाइ छ।


फोटोवाक कसरी सहभागी हुने ?

मिति: १० अक्टोबर २०२६

 समय: बिहान ८:०० बजे

 भेटघाट स्थल: भक्तपुर दरबार स्क्वायर, लुन ध्वाखा (Golden Gate) वरपर

 सहभागिता: सबैका लागि खुला

भक्तपुर फोटोवाकमा सहभागी भएर खिचिएका तस्बिरलाई पनि  ‘विकी लभ्स मोनुमेन्ट्स २०२६’ प्रतियोगितामा सहभागी गराउन सकिनेछ।

अभियानको आयोजना विकिमिडियन्स अफ नेपालले गरेको हो। युनेस्को रणनीतिक साझेदार, युथ हेरिटेज सोसाइटी सामुदायिक साझेदार तथा रोटरी क्लब अफ काठमाडौं हाइट साक्षरता साझेदारका रूपमा जोडिएका छन्।

आयोजकले “क्यामेरा बोकेर आउनुहोस् र आफ्ना तस्बिरमार्फत नेपालको जीवित सम्पदाका कथा विश्वलाई सुनाउनुहोस्” भन्दै सबैलाई फोटोवाक तथा प्रतियोगितामा सहभागी हुन आह्वान गरेको छ।

फोटो अपलोड तथा प्रतियोगितासम्बन्धी विस्तृत जानकारी ‘विकी लभ्स मोनुमेन्ट्स २०२६’ अभियान पृष्ठमा उपलब्ध छ।


प्रतिक्रिया



थप समाचारहरु