कांग्रेस महाधिवेशनको बन्दसत्र आज, नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्दै


मेचीकाली , 

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि बन्दसत्र र नयाँ केन्द्रीय कार्यसमिति चयनको प्रक्रियामा प्रवेश गर्दैछ । काठमाडौंको खुलामञ्चमा हिजो उद्घाटन भएको महाधिवेशनअन्तर्गत आज बिहान ९ बजेदेखि बन्दसत्र शुरु हुने कार्यक्रम छ ।

बन्दसत्रअघि वर्तमान केन्द्रीय कार्यसमितिको अन्तिम बैठक बस्नेछ । बन्दसत्रमा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक तथा समसामयिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ ।

यसैबीच, निर्वाचन समितिले नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि चुनावी कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिकाअनुसार आज बेलुकी ५ बजे मतदाता नामावली प्रकाशन हुनेछ । नामावलीमाथि साँझ ६ः३० बजेसम्म दाबीविरोध गर्न सकिनेछ भने राति ८ः३० बजे अन्तिम मतदाता नामावली सार्वजनिक गरिनेछ ।

भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको छ । सोही दिन दिउँसो ४ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ । त्यसपछि दाबीविरोधका लागि एक घण्टाको समय दिइनेछ भने बेलुकी ७ बजे उम्मेदवारको दोस्रो नामावली सार्वजनिक हुनेछ ।

पर्सि २१ गते बिहान ९ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ । बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि दिनभर प्रचारप्रसार गर्न पाइनेछ । निर्वाचन समितिले २२ गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ ।


थापाको प्रतिवेदनमा आत्मसमीक्षादेखि राष्ट्रिय पुनर्जागरणसम्म

महाधिवेशनको बन्दसत्रमा सभापति गगनकुमार थापाले ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को अवधारणासहित राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने तयारी गरेका छन् । प्रतिवेदनमा कांग्रेसको वैचारिक, राजनीतिक तथा संगठनात्मक दिशा निर्धारण गर्नुका साथै आगामी दशकमा देशलाई समुन्नतिको बाटोमा अघि बढाउने दृष्टिकोण समेटिएको छ ।

प्रतिवेदनले कांग्रेसको ऐतिहासिक यात्रा, राजनीतिक संघर्षबाट प्राप्त उपलब्धि र पूरा हुन बाँकी दायित्वको समीक्षा गरेको छ । पार्टीको विगतको अभ्यासबाट सिक्दै १५औँ महाधिवेशनले आगामी चार वर्षका लागि चयन गर्ने नेतृत्वले लिनुपर्ने जिम्मेवारी र त्यसपछिको राजनीतिक दिशालाई समेत प्राथमिकता दिइएको छ ।

पछिल्लो समय कांग्रेसमा देखिएको सत्ता–केन्द्रित राजनीति, संगठनात्मक कमजोरी र युवा पुस्तासँग बढ्दो दूरीलाई पनि थापाले आत्मसमीक्षाको विषय बनाएका छन् । निर्वाचनमा भएको पराजय तथा पछिल्ला दुई दशकको राजनीतिक अभ्यासको समीक्षा गर्दै परिवर्तनका उपलब्धि र जनतासँग गरिएका अधुरा वाचाबीचको अन्तर पहिचान गर्नुपर्नेमा प्रतिवेदनले जोड दिएको छ ।

त्यस्तै, भदौको जनउभारदेखि १५औँ महाधिवेशनसम्मका राजनीतिक घटनाक्रम, बदलिँदो सामाजिक मनोविज्ञान, पुस्ताबीचको दूरी, अर्थतन्त्रको अवस्था, बसाइँसराइ र विश्वव्यापी परिवर्तनलाई राष्ट्रिय चुनौतीका रूपमा विश्लेषण गरिएको छ ।

लोकतन्त्रप्रतिको असन्तुष्टि विस्तारै लोकतन्त्रकै अस्वीकारमा परिणत हुन सक्ने जोखिमप्रति पनि प्रतिवेदनले सचेत गराएको छ । जनताको जायज असन्तुष्टिलाई लोकरिझ्याइँले गलत राजनीतिक निष्कर्षतर्फ लैजान सक्ने भन्दै लोकतन्त्रको संरक्षण र सुदृढीकरणमा कांग्रेसले आफ्नो ऐतिहासिक तथा समकालीन दायित्व स्पष्ट रूपमा निर्वाह गर्नुपर्ने थापाको दृष्टिकोण छ ।

यसरी बन्दसत्रमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनले पार्टीको विगतको समीक्षा मात्र नभई आगामी नेतृत्वको कार्यदिशा र राष्ट्रिय राजनीतिको भावी दृष्टिकोणसमेत तय गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया



थप समाचारहरु