काभ्रेको शंखुमा टेलिकमको फाइबर नेट


मेचीकाली

शंखु- नेपाल टेलिकमले काभ्रेको शंखुमा फाइबर नेट सेवा सुरु गरेको छ । टेलिकमले (फाइबर टु दि होम) अन्तर्गत धुलिखेल नगरपालिका–१२ शंखु क्षेत्रमा फाइबर नेट र पिएसटिएन फोन सेवा सुरु गरेको हो । 

नेपाल टेलिकम बनेपा शाखाले आयोजमा गरेको एक कार्यक्रमबीच सेवाको शुभारम्भ गरिएको छ । कार्यक्रममा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले नेपाल टेलिकम प्रादेशिक निर्देशनालयकी निर्देशक रिना डङ्गोललाई फोन गरेर सेवाको सुरुवात गरेकी थिइन् ।

कार्यक्रममा पहाडीले टेलिकमले पछिल्लो तीन वर्षदेखि नागरिकलाई दु्रत गतिको (हाइ स्पीड) इन्टरनेट सेवा प्रदान गर्नका लागि कामहरु अघि बढाएको बताइन् । टेलिकमले तीन वर्षको अवधिमा देशभरका तीन लाख ग्राहकलाई द्रुृत गतिको इन्टरनेट सेवा पुर्‍याएको बताउँदै उनले १५ लाख ग्राहकहरु समक्ष द्रुत गतिको इन्टरनेट सेवा प्रवाह गर्नका लागि पूर्वाधार निर्माण सम्पन्न गरेको वताइन् ।

कार्यक्रममा नेपाल टेलिकम प्रादेशिक निर्देशनालयकी निर्देशक रिना डङ्गोलले टेलिकले स्थानीय नागरिकको मागको आधारमा फाइबर नेट सेवा विस्तार गर्ने काम गर्दै आएको बताइन् ।

कार्यक्रममा नेपाल टेलिकम बनेपा शाखाका प्रमुख जगदिश लेखकले बनेपा शाखाले आफ्नो सेवा क्षेत्रभित्र फाइबर नेट विस्तार गर्ने कामलाई तीव्रता दिइएको जानकारी दिए ।

बनेपा कार्यालय अन्तर्गत काभ्रेपलाञ्चोकमा चार हजार ४९६ टेलिफोन, फाइबर नेट चार हजार ५५५, सिन्धुपाल्चोकमा टेलिफोन ९३४, फाइबर नेट एक हजार १४४, दोलखामा टेलिफोन ७७९, फाइबर नेट एक हजार ४७०, रामेछाप जिल्लामा टेलिफोन ८२१, फाइबर नेट ८७० तथा सिन्धुली जिल्लामा टेलिफोनका ८४४ ग्राहक र फाइबर नेटका ८४३ ग्राहक र आइपी टिभिका ६३५ ग्राहक रहेको कार्यक्रममा जानकारी दिइयो। 



प्रतिक्रिया



थप समाचारहरु