धर्म, संस्कृति र राष्ट्रिय अस्तित्व जोगाउन मेरो उम्मेदवारी : नवराज सत्याल


मेचीकाली

काभ्रे–काभ्रेको नमोबुद्ध नगरपालिका २ मथुरापाटीका नवराज सत्याल काभ्रेको प्रतिनिधि सभा क्षेत्र नं. १ मा  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार हुन् । 

राप्रपाका काभ्रे जिल्ला वरिष्ठ उपाध्यक्ष रहेका सत्याल गत स्थानीय तह निर्वाचनमा नमोबुद्ध नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका थिए । अहिले प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रुपमा अघि बढेका सत्यालको चुनावी अभियान उम्मेदवारी दर्तासँगै सुरु भइसकेको छ ।

देशको धर्म, संस्कृति र राष्ट्रिय अस्तित्व जोगाउने उद्देश्यसहित आफू २०७९ सालमा राजनीतिमा प्रवेश गरेको उनले बताए ।  पृथ्वी नारायण शाहले एकीकरण गरेको देश अहिले विदेशी प्रभावको अखडा बन्दै गएको, युवा जनशक्ति विदेश पलायन भइरहेको र गाउँमा वृद्ध–वृद्धामात्र सीमित बनेको अवस्थाप्रति उनले चिन्ता व्यक्त गरे  । भ्रष्टाचारविरुद्ध संघर्ष गर्ने र विदेशिएका युवालाई स्वदेश फर्काउने अभियान सहित आफूले उम्मेदवारी दिएको उनको भनाइ छ । 

काभ्रे जिल्लालाई पर्यटनको केन्द्रका रूपमा विकास गर्ने, भित्री सडक, यातायात र पूर्वाधार समस्याको समाधान गर्ने आफ्नो प्रमुख एजेन्डा रहेको उनले बताए । व्यापार–व्यवसाय छोडेर देश जोगाउने उद्देश्यले राजनीतिमा होमिएको बताउँदै उनले राष्ट्रिय प्रजातन्त्र पार्टी नै माटो, धर्म र राष्ट्रियताको रक्षा गर्ने पार्टी भएकाले त्यसमा आबद्ध भएको स्पष्ट पारेका छन् ।


प्रतिक्रिया



थप समाचारहरु