पाँचखाल–नवप्रतिभा मावि पाँचखाल–६ ढुंगानावेशीको ३८ औं वार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रमसहित सम्पन्न भएको छ । पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका जग्गादाता, पूर्व व्यवस्थापन समितिका अध्यक्ष एवं सदस्यहरु, सहयोगी तथा उत्कृष्ट शिक्षक र विद्यार्थीलाई सम्मान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरोज पराजुलीको अध्यक्षतामा भएकोका कार्यक्रममा नगर प्रमुख महेश खरेल पनि सम्मानित भए । प्रदेश सरकारबाट अनुदान प्राप्त विद्यालय बसका लागि नपुग रकम नगरपालिकामार्फत उपलव्ध गराएकोमा खरेल सम्मानित भएका हुन् । यस्तै विद्यालय बस उपलव्ध गराउन पहल गरेकोमा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोद न्यौपाने तथा बागमति प्रदेश सामाजिक विकास मन्त्रालयका तत्कालिन सचिव राजन पौडेललाई पनि सम्मानित गरियो । बागमति प्रदेश सरकारले विद्यालयका लागि बस खरिद गर्न आर्थिक वर्ष २०८१/८२ मा २५ लाख रुपैयाँ उपलव्ध गराएको थियो । यस्तै विद्यालयका लागि जग्गा प्रदान गर्ने स्वर्गीय बद्रीप्रसाद पराजुलीलाई मरणोपरान्त सम्मान अर्पण गरिएको थियो । स्वर्गीय बद्रीप्रसाद पराजुलीका सुपुत्र राजकुमार पराजुलीलाई उक्त सम्मान हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा २०८०÷८१ मा विद्यालयबाट एसईई उत्तीर्ण विद्यार्थीहलाई सम्मान गरिएको थियो । यस्तै वर्ष शिक्षक सम्मान २०८० पवित्रा चालिसे गौतम र २०८१ बाट प्रभात पन्त सम्मानित भए । दस वर्ष सेवारत शिक्षक बिमला तिमल्सिना र तिर्थलाल कायस्थ सम्मानित भए भने हरेक विधामा उत्कृष्ट शिक्षक प्रशांसा पत्रद्वारा प्रेमकला सापकोटालाई सम्मानित गरिएको छ । यसैगरी उत्कृष्ट डान्स कोरियोग्राफरको रुपमा सनिता दनुवारलाई सम्मानित गरियो । विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष सुदर्शन आचार्य, सदस्यहरु रामहरी ढुंगाना, सुनिता तिमल्सिना र राधाकृष्ण भट्टराईलाई सम्मान गरिएको कार्यक्रममा अक्षयकोष संरक्षक सम्मानबाट रामहरी आचार्य, उद्धव थापा र दिलिप थापालाई सम्माननित गरिएको थियो । 
वार्षिकोत्सवको उद्घाटन गर्दै नगर प्रमुख महेश खरेलले गुणस्तरीय शिक्षा प्रदान गर्न नवप्रतिभा स्कुलले खेलेको भूमिकाको प्रशंसा गरे । उनले पाँचखाल नगरपालिकामा देशकै नमुना विद्यालय र शिक्षा प्रणाली विकास गर्ने योजनामा नगरपालिका रहेको भन्दै विद्यालयको संख्या धेरै भन्दा पनि गुणस्तरमा ध्यान दिइने बताए । उनले नगरले ३७ वटा विद्यालयलाई मर्ज गरेर २७ मा झारेको जानकारी दिँदै सबैको साथ पाए २० वटामा झार्ने तथा भविश्यमा एउटा तहका लागि एउटै नमुना विद्यालय बनाउने हिसाबले अघि बढ्ने बताए । 
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सरोज न्यौपानेले विद्यालय सञ्चालनका लागि नगरपालिकाले जिम्मा लिएर नगरका सामूदायिक विद्यालयहरुझैं सहयोग गर्नुपर्ने बताए । उनले सार्वजनिक शैक्षिक गुठीबाट सञ्चालित विद्यालय नगरकै सम्पति भएकाले नगरबाट थप साथ र सहयोगको अपेक्षा गरिएको बताए । विद्यालयबाट ४ सय ५७ जनाले हालसम्म मावि तह उत्तीर्ण गरेको र तीमध्ये धेरैजसो विभिन्न क्षेत्रमा स्थापित व्यक्तित्वहरुसमेत रहेको उनले बताए । 
स्थानीय अभिभावकले देउसी भैलो खेलेर २०४४ सालमा स्थापना गरेको विद्यालयमा हाल ३ सय ८ जना विद्यार्थी अध्ययनरत छन् । विभिन्न समयमा विद्यालयका विद्यार्थीहरुले एसईईमा जिल्ला तथा नगर प्रथम स्थानसमेत हासिल गर्दै आएका छन् । विद्यालयले अहिले पनि ६२ जना विद्यार्थीलाई पूर्ण तथा आंशिक छात्रवृत्ति प्रदान गरेको छ ।
कार्यक्रममा नगर उपप्रमुख सुर्यमाया दनुवार, वडाअध्यक्ष रामशरण दुलाल, सार्वजनिक शैक्षिक गुठी विद्यालय संघका वरिष्ठ उपाध्यक्ष मेघराज दुलाल, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, प्याव्सन काभ्रेका अध्यक्ष श्याम भुजेल, पाँचखाल प्याव्सन अध्यक्ष रामप्रसाद कोइराला, पूर्व प्रअ बैकुण्ठ न्यौपाने, गुठी सञ्चालक समिति अध्यक्ष इश्वरीराजकुमार मैनाली, पत्रकार राजकुमार पराजुली लगायतले मन्तव्य राखेका थिए । वार्षिकोत्सवको अवसरमा विद्यार्थी तथा शिक्षकहरुले विभिन्न सांस्कृतिक प्रस्तुति पनि प्रदर्शन गरेका थिए । 
वार्षिकोत्सवकै अवसरमा भएको अभिभावक भेलाले पुन सुरोजकुमार पराजुलीको अध्यक्षमा आगामी ३ वर्षका लागि विद्यालय व्यवस्थापन समिति गठन गरेको छ भने टिका श्रेष्ठको नेतृत्वमा शिक्षक अभिभावक संघ गठन पनि गरेको छ ।