भारतीय राजदूत लिएर गृहमन्त्री लामिछाने पनौतीमा


रामहरि श्रेष्ठ

काभ्रेपलाञ्चोक– उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने भारतीय राजदूत लिएर पनौती आएका छन् । उनी काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–६ दलिन्चोकमा निर्माणाधिन राष्ट्रिय प्रहरी प्रतिष्ठानको अवलोकन गर्न आएका हुन्।

आज दिउँसो भारतीय राजदूतसँगै निर्माणाधिन प्रतिष्ठानको अवलोकन गर्ने क्रममा गृहमन्त्री लामिछानेले प्रतिष्ठानको काम समयमा नै सम्पन्न गर्नका लागि केही कठिनाई रहेको परामर्शदाता कम्पनीबाट जानकारी पाएको बताए । प्रतिष्ठान निर्माणका क्रममा देखिएका समस्या समाधानका लागि नेपाल सरकारले सहयोग गर्ने लामिछाने बताएका छन् ।

 गृहमन्त्री लामिछानेले भारत सरकारको सहयोगमा निर्माणाधिन प्रतिष्ठान गौरवको योजना रहेकोले प्रतिष्ठान निर्माण सम्पन्न भएपछि प्रहरीले गर्ने कारवाहिमा ठुलो प्रभाव पार्ने बताए । सुविधा सम्पन्न प्रतिष्ठानले प्रहरी सेवामा सकरात्मक प्रभाव पार्ने र त्यसको लाभ सिङ्गो देशलाई पुग्ने उनको भनाई छ । 

कार्यक्रममा नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले भारतीय सरकारको सहयोगमा निर्माण भईरहेको राष्ट्रिय प्रहरी प्रतिष्ठान सबैभन्दा ठुलो परियोजना रहेको बताए । उनले भारत सरकारले नेपालमा प्रतिष्ठानका साथै सुख्खा बन्दरगाहलगायतको काम गरिरहेको बताए । राजदुत श्रीवास्तवले प्रहरी प्रतिष्ठान समयमा नै निर्माण सम्पन्न गर्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले समय-समयमा कामको प्रगति विवरण माग गरेको जानकारीसमेत दिए । 

कार्यक्रममा परामर्शदाता केन्द्रीय सार्वजनिक निर्माण विभाग (सिपिडब्लुडि) भारतका तर्फबाट इन्जिनियर राजेश कुमारले हालसम्म परियोजनाको प्रगति प्रस्तुत गरेका थिए।  प्रतिष्ठानका लागि अन्र्तराष्ट्रिय स्तरका प्रशासकिय भवन, इनडोर तथा आउटडोर खेलकुद मैदान, स्विमिङ पुललगायतका आवश्यक संरचना निर्माणको लागि करिब दश अर्ब १५ करोड नेपाली रुपियाँ खर्च हुने बताइएको छ ।

प्रतिष्ठान निर्माणको लागि अहलुवालिया कन्ष्ट्रक्सन लिमिटेड (भारत) र रोशन कन्ष्ट्रक्सन प्रालिको संयुक्त जेभीबीच सम्झौता भएको थियो । ठेकेदार कम्पनीबीच २७ जुन २०२२ मा निर्माण सम्झौता भएको थियो भने निर्माण कम्पनीले निर्माण सम्झौता भएको मितिले एक हजार ९५ दिन अर्थात् तीन वर्ष अर्थात् १२ जुलाई २०२५ भित्र प्रतिष्ठानको सम्पूर्ण संरचना निर्माण गरि हस्तान्तरण गरिसक्नुपर्नेछ ।

प्रतिक्रिया



थप समाचारहरु

 

बनेपामा टिभिएसको नयाँ शोरूम