काभ्रे-हनी ट्रयापमा पारेर हत्या गरिएका काठमाडौँ किर्तिपुर नगरपालिका––५ का ५० वर्षीय विनोद खड्गीको हत्यामा संलग्न ५ जनालाई जिल्ला अदालत काभ्रेले पुर्पक्षका लागि थुनामा पठाएको छ । यस्तै दुई जनालाई धरौटीमा छोड्ने आदेश दिएको छ । जिल्ला न्यायाधिश मातृकाप्रसाद आचार्यको इजलाशले थुनछेक बहसको क्रममा उक्त आदेश दिएको हो ।
खड्गीको हत्याको आरोपमा पक्राउ परेकामध्ये सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–२ घर भई हाल मध्यपुर ठिमी नगरपालिका–९ बस्ने २१ वर्षीया मनिषा महत, काठमाडौँ शङ्करापुर नगरपालिका–५ का २२ वर्षीय सरिन घिमिरे, महोत्तरी जिल्ला गौशला नगरपालिका–६ घरभई हाल भक्तपुर कौशलटार बस्ने २० वर्षीय आशिष पासवानलाई पूर्पक्ष थुनामा राख्ने आदेश भएको छ । अदालतले हत्याको आरोपमा पक्राउ परेका बाग्लुङ गलकोट नगरपालिका–७ घरभई हाल काठमाडौँ कोटेश्वर बस्ने १९ वर्षीय प्रतिक गौतम र मध्यपुर ठिमी नगरपालिका–४ कौशलटारकी रोशनी महतलाई पूर्पक्ष थुनामा राख्ने आदेश दिएको छ ।
अदालतले हत्या आरोपमा पक्राउ परेका काठमाडौँ काठमाडौँ शङ्करापुर नगरपालिका–५ का २१ वर्षीय रिकेश पौडेललाई नगद दुई लाख धरौटी, मध्यपुर ठिमी नगरपालिका–४३ कौशलटारका सङ्जय खत्रीलाई नगद २५ हजार रुपियाँमा छोड्ने आदेश दिएको थियो । पौडेल र खत्री दुवै धरौटी रकम बुझाएर रिहा भइसकेका छन् ।
काठमाडौँ किर्तिपुर नगरपालिका–५ मा मासु पसल सञ्चालन गर्दै आएका खड्गीलाई उक्त समुहले असोज ५ गते राती अपहरण, फिरौती रकम असुल गरी हत्या गरेका थिए । असोज ५ गते मनिषाले बिनोदलाई मेरो नागरिकताको प्रतिलिपी बनाउन जान सहयोग गर्नुप¥यो भनी बिनोदलाई खाना खानको लागि कोठामा बोलाएकी थिईन् । कोठामा खाना खाएर बसेका बिनोदलाई कुटपिट गरी घाईते बनाई ३० लाख रुपियाँ फिरौती रकम मागेका थिए । सुरुमा ३० लाख रुपियाँ फिरौती माग गरेपनि मनिषाले ३० लाख रुपियाँ बढी हुन्छ १० लाख मागौँ भन्दा विनोदले आफुसँग त्यती पैसा नभएकोले पाँच लाख दिन तयार रहेको बताउँदै आफ्नोमा काम गर्ने कर्मचारीलाई फोन गरी पाँच लाख रुपियाँ लिई राधेराधेमा रहेको भाटभटेनी अगाडि आउने व्यक्तिलाई रकम समेत दिन आफ्ना कर्मचारीलाई भनी फिरौती वापत पाँच लाख रुपियाँ बुझाएका थिए ।
फिरौती रकम लिएपछि मनिषा, अन्सु, शिवम, आशिष र प्रतिक मिलेर यसले हामीलाई भोलीको दिनमा छोड्दैन यसलाई मारेर फालिदिम भन्ने योजना बनाएर असोज ५ गते राती मृतकको हात, खुट्टामा डोरीले बाँधी खड्गीको संवेदनशिल अङ्गलगायतको शरीरका विभिन्न भागमा कुटपिट गरी भक्तपुरको गुण्डुमा लगेर छातीलगातको संवेदनशिल अङ्गमा इट्टाले हानी हत्या गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । हत्यापछि उक्त शवलाई उनीहरुले पाँचखाल–८ स्थित ४९ किलोमा लगि फालेका थिए । विनोदको हत्यापछि असोज ६ गते अन्सुले मनिषालाई १ लाख, प्रतिकलाई १० हजार आशिषलाई २० हजार र अन्सुले आफ्नो दिदी रोश्नी महतलाई ५० हजार गरी एक लाख ८० हजार रकम बाँडेको प्रहरी अनुसन्धानबाट खुलेको छ । घटनामा संलग्न रहेका भारतीय नागरिक अंशु र शिवम् फरार रहेका छन् ।