चितवन पहिरो : यात्रु र बसको अवस्था अझै अज्ञात


मेचीकाली

चितवन–चितनवको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा बेपत्ता भएका बस र यात्रुको अवस्था अझै पत्ता लाग्न सकेको छैन । झण्डै ८ घण्टादेखि वेपत्ता बस र यात्रुको खोजीका लागि सयौं सुरक्षाकर्मी परिचालन भएका छन् । 

तर, अहिलेसम्म केही फेला पार्न नसकेको प्रहरीले जनाएको छ । पहिरोले बगाउँदा बस  त्रिशूली नदीमा बेपत्ता भएको र ती बसमा चालकसहित झण्डै ६५ जना यात्रु रहेका प्रहरीले जनाएको छ । आज बिहान साढे ३ बजे दुईवटा बस त्रिशूलीमा खसेका हुन् । काठमाण्डौबाट रौतहटको गौरको लागि छुटेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाण्डौको लागि छुटेको एञ्जल बस त्रिशूलीमा खसेका हुन् ।  गौर जाँदै गरेको बसमा ४१ र काठमाण्डौ जाँदै गरेको बसमा २४ जना यात्रु रहेका प्रारम्भिक अनुमान छ ।

 तर यकिन विवरण थाहा भैनसकेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए ।  गणपति डिलक्स बसमा रहेका केही यात्रु भने हामफालेर ज्यान जोगाउन सफल भएका छन् । यसरी ज्यान जोगाउनेमा  रौतहटको देवाही गोनाहीका दुई जना र वृन्दावन नगरपालिकाको सिसवा धमौराका एक जना छन् । उनीहरुलाई बस खसेको स्थानबाट उद्धार गरेर अर्को बसमा चढाइ नारायणगढ पु¥याइएको छ । अर्को बस चढेर नारायणगढतर्फ जाँदै गर्दा सिसवाधमौराका एक यात्रुले घटनाबारे भनेको भिडियो सार्वजनिक भएको छ । ती यात्रुले बस खस्न थालेपछि आफू क्याबिनतिरको झ्यालबाट हाम फालेर ज्यान जोगाएको बताएका छन् । उनका अनुसार अरु दुई जनाले पनि त्यसैगरी ज्यान जोगाएका छन् । ती यात्रुका अनुसार उनीसँगै क्याबिनमा चार जना पनि थिए । चितवनकै मुग्लिङ नारायणगढ सडकमा पहिरोसँगै झरेको ढुंगाले लागेर अर्को एक बसका चालकको ज्यान गएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया



थप समाचारहरु