केयुमा भोलि उपकुलपतिको राष्ट्रिय सम्मेलन


मेचीकाली

धुलिखेल- काभ्रेको धुलिखेलमा भोलि शुक्रबार विश्वविद्यालयका उपकुलपतिहरूको राष्ट्रिय सम्मेलन हुने भएको छ । काठमाडौं विश्वविद्यालय केयुले नेपालमै पहिलोपटक यस्तो सम्मेलन आयोजना गरेको हो। 

नेपालको उच्च शिक्षाको क्षेत्रमा रहेका चुनौती लगायतको विषयमा सम्मेलनमा छलफल हुनेछ । काठमाडौँ विश्व विद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले विश्वविद्यालयले उच्च शिक्षाको बारेमा एकै स्थानमा बसेर प्राज्ञिक बहस गर्ने उद्देश्यले नेपालमा नै पहिलो पटक उपकुलपतिहरुको राष्ट्रिय सम्मेलनको आयोजना गरेको बताउनुभयो । “पछिल्लो समय उच्च शिक्षाको लागि बिद्यार्थीहरु विदेशिने क्रम बढ्दो छ, नेपालका विश्वविद्यालयहरुमा बिद्यार्थी टिकाउन मुश्किल छ, उच्च शिक्षाको क्षेत्रमा भएका समस्यालगायतको विषयमा सम्मेलनमा बृहत छलफल हुनेछ” उपकुलपति डा. थापाले भन्नुभयो । उहाँले सम्मेलनले नेपालमा रहेका विश्वविद्यालयबीच समाजस्यता कायम गर्ने, समन्वयमा कार्यक्रमहरु सञ्चालन गर्ने, नेपालको उच्च शिक्षालाई कसरी विश्वव्यापीकरण गर्ने भन्ने विषयमा समेत छलफल गरिने बताउनुभयो ।

 सम्मेलनमा नेपालका विभिन्न विश्वविद्यालय, प्रतिष्ठानमा गरी कुल २८ जना उपकुलपतिमध्ये हालसम्म १७ जना उपकुलपतिले कार्यक्रममा सहभागिता जनाउने प्रतिबद्धता जनाउनुभएको विश्वविद्यालयले जनाएको छ । 

सम्मेलनमा उपकुलपतिका साथै विश्वविद्यालय तथा प्रतिष्ठानका पूर्व उपकुलपति, रजिष्ट्रार, डिन गरी करिब एक सय पचास जनाको सहभागिता रहनेछ । 

नेपालमा रहेका उपकुलपतिको सम्मेलनले नेपालमा उच्च शिक्षाको अवस्था, अवसर, चुनौतीलगायतको विषयमा छलफल गरी आगामी कार्यदिशाको मार्ग चित्र कोर्ने आयोजक काठमाडौँ विश्वविद्यालयले जनाएको छ । सम्मेलनको  उद्घाटन प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ गर्नुहुनेछ । सम्मेलनमा विश्वविद्यालयका सहकुलपति तथा शिक्षामन्त्री, शिक्षा राज्यमन्त्रीले समेत सहभागिता जनाउनुहुने विश्वविद्यालयले जनाएको छ । 

नेपालमा रहेका उपकुलपतिको सम्मेलन सकिएसँगै केयूले नै आगामी सन् २०२४ को फेब्रुअरी १५ र १६ गते धुलिखेलमा एसोशियसन अफ इण्डियन युनिभर्सिटीज् अन्र्तगतका विश्वविद्यालयका उपकुपतिको अन्र्तराष्ट्रिय सम्मेलन आयोजना गर्ने विश्वविद्यालयका उपकुलपति प्रा.डा. थापाले बताउनुभयो । नेपालका उपकुलपतिको सम्मेलनले आगामी फेब्रुअरी महिनामा हुने अन्र्तराष्ट्रिय उपकुलपति सम्मेलनमा प्रस्तुत गर्ने नेपालको एजेण्डमा समेत तयार गर्नेछ ।  


प्रतिक्रिया



थप समाचारहरु