केयू र धुलिखेल अस्पतालको विवाद उत्कर्षमा, छुट्टै शिक्षण अस्पताल चलाउने केयूको तयारी


मेचीकाली

काभ्रे– काठमाडौं विश्वविद्यालय केयू र धुलिखेल अस्पतालबीच केही वर्षयता सुरु भएको विवाद अन्ततः सहकार्य टुट्ने अवस्थामा पुगेको छ । दुई संस्थाबीचको विवाद चर्किँदै गएपछि काठमाडौं विश्वविद्यालयले छुट्टै शिक्षण अस्पताल सञ्चालन गर्ने तयारी अघि बढाएको छ । 

केयूले आगामी आर्थिक वर्षदेखि छुट्टै शिक्षण अस्पताल सञ्चालन गर्ने तयारी गरेको हो । केयूले छुट्टै शिक्षण अस्पताल सञ्चालनको लागि भन्दै सरकारसँग आगामी आर्थिक वर्षका लागि ५० करोड रुपियाँ बजेट माग गरेको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा भोला थापाले जेठ ६ गते विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेख्दै विश्वविद्यालयको प्रत्यक्ष व्यवस्थापनमा अस्पताल सञ्चालन र स्वास्थ्य सेवा सुचारु गर्नका आगामी आवको नीति तथा कार्यक्रममा बजेट व्यवस्थापन गर्न अनुरोध गरेका छन् । विश्वविद्यालयले विभिन्न नियामक निकायहरूबाट हालसम्म सञ्चालन अनुमति पाएका ४५० शैय्या अस्पतालमध्ये धुलिखेल अस्पतालले अनुमति पाएको जम्मा ५० शैय्या छोडी चार सय शय्याको शिक्षण अस्पताल तत्काल सञ्चालन गर्ने जनाएको छ । 

धुलिखेल अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रुपान्तरण हुने क्रममा रहेको छ । यसो भयो भने सो प्रतिष्ठान र विश्वविद्यालय दुवै संस्थाका मेडिकल शिक्षा कार्यक्रमहरु एकै अस्पतालको सुविधाबाट सञ्चालन गर्न नपाइने जनाइएको छ । ‘चिकित्सा शिक्षा प्रदान गर्ने शिक्षण संस्थाको गुणस्तर मूल्याङ्कन तथा सिट निर्धारण सम्बन्धी एकिकृत कार्यविधि २०७९’को दफा १२१ (ट) यस्तो कार्य गर्न गर्न बन्देज लगाएको छ । विश्वविद्यालयले शिक्षण अस्पताल सञ्चलनका लागि आवश्यक सहजीकरण गर्न अनुरोध समेत गरेको छ ।

 धुलिखेल अस्पतालले बिना सूचना एकतर्फी रुपमा बागमती प्रदेशमा धुलिखेल स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनको अनुमति माग गरेपछि यी दुई संस्थाबीच थप चिसोपना बढेको हो । विश्वविद्यालयले धुलिखेल अस्पताल प्रतिष्ठानमा रुपान्तरण भएको खण्डमा विश्वविद्यालयमा मेडिकल शिक्षा अध्ययनरत बिद्यार्थी तथा सम्बन्धन प्राप्त कलेजहरुलाई प्रभावकारी रुपमा चलाउने जिम्मेवारी विश्वविद्यालयमा यथावत रहेको पत्रमा उल्लेख छ । विश्वविद्यालयले शिक्षण अस्पताल सञ्चालन गर्नका लागि विश्वविद्यालयले विकास गरेका पूर्वाधार, अस्पताल सञ्चालनको प्रबन्धका लागि प्रधानमन्त्रीबाट २९ औँ दीक्षान्त समारोहको पहिलो चरणको समारोहमा प्राप्त निर्देशन बमोजिम आवश्यक पहल र निर्देशन दिन अनुरोध गरिएको छ । 



प्रतिक्रिया



थप समाचारहरु

 

बनेपामा टिभिएसको नयाँ शोरूम