काभ्रे–पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटाले काभ्रेको बाढी र पहिरो प्रभावित क्षेत्रको अवस्था भयावह रहेको भन्दै विपदबाट प्रभावित हजारौं परिवारलाई तत्काल पुनस्र्थापना गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
काभ्रेको पनौती नगरपालिका र बेथानचोक गाउँपालिकाका प्रभावित क्षेत्रको अवलोकनपछि बाँस्कोटाले प्रभावित क्षेत्रमा खानेपानी, सञ्चार, विद्युत लगायतबाट प्रभावित क्षेत्र बन्चित रहेको, बेथानचोक र खानीखोला तथा महाभारत गाउँपालिकाको कनेक्टिभिटी टुटेको भन्दै ती क्षेत्रमा खाद्यान्नको संकट हुनसक्ने बताए । भुकम्पपछि काभ्रेले ठूलो पीडा बेहोरेको बाँस्कोटाले बताए ।यो पीडामा सबै मिलेर काम गर्नुपर्ने भन्दै उनले पहिलो चरणमा उद्धारको काम लगभग सकिएको, अव राहतको कामलाई तीब्रता दिनुपर्ने र त्यसपछि पुनस्र्थापना र पुननिर्माणको अभियान सुरु गर्नुपर्ने बताए ।
नेकपा एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेलसहित नेकपा एमालेका नेताहरुको टोलीसहित पनौती नगरपालिका १, २, ३, ११ र १२ तथा बेथानचोक ४ पुगेका बाँस्कोटाले स्थानीय प्रभावितहरु र सँग उनीहरुको अवस्था, तत्कालिन र दीर्घकालिन आवश्यकताका विषयमा छलफल गरेका थिए ।स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकार र जनता तथा जनप्रतिनिधि सबै मिलेर अहिलेको पीडाबाट माथि उठेर पुननिर्माणको अभियान चलाउनुपर्ने बाँस्कोटाले बताए ।
बेथानचोक गाउँपालिकामा अहिले पालिकाको केन्द्र ढुंखर्कसम्म पुग्ने सडकको मर्मत भइरहेको छ । सडक मर्मतका लागि आफैं खटिएका गाउँपालिका अध्यक्ष भगवान अधिकारीसँग नेता बाँस्कोटाले सबै पक्ष हातेमालो गरे अघि बढ्नुपर्ने र अहिलेको संकटबाट मुक्त हुनुपर्ने बताए । ‘म यहाँ झण्डा गाड्न आएको होइन’ बाँस्कोटाले भने, ‘अहिले भत्किएको मन टाल्नुछ ।’