बेथिति : काभ्रेमा सञ्चालित एम्बुलेन्सले पालना गरेनन् निर्देशिका


मेचीकाली

काभ्रे-सरकारले देशभरका एम्बुलेन्स सेवाका लागि निर्देशिका बनाएको छ । तर, काभ्रेमा सञ्चालित एम्बुलेन्स सेवाले निर्देशिकालाई लत्याएको पाइएको छ । 

राष्ट्रिय एम्बुलेन्स निर्देशिकाले एम्बुलेन्सहरुमा जिपिएस जडान भएको हुनुपर्ने, तालिम प्राप्त चालक र उक्त एम्बुलेन्समा आकस्मिक चिकित्सकिय प्राविधिक रहनुपर्ने व्यवस्था गरेको छ । तर, काभ्रे जिल्लामा सञ्चालित अधिकाँश एम्बुलेन्समा यो व्यवस्था नरहेको पाइएको छ । जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले माग गरेको जिल्लाका स्थानीय तहमा सञ्चालित एम्बुलेन्सहरुको अवस्थाको विवरणमा निर्देशिकाले भने बमोजिमको मापदण्ड नरहेको पाइएको छ । 

समिितमा आएको विवरण अनुसार काभ्रेपलाञ्चोक जिल्लामा रहेका १३ वटा स्थानीय तहमा ४४ वटा एम्बुलेन्स रहेका छन् । जिल्लामा रहेका कुल एम्बुलेन्समध्ये मण्डनदेउपुर नगरपालिकामा रेडक्रसद्धारा सञ्चालित एम्बुलेन्स नचलेको र चौरीदेउराली केही समयअघि आएको एम्बुलेन्स सञ्चालनमा आउन बाँकी रहेको तथा गाउँपालिकाभित्र रहेको डिसिडब्लुसी आधारभूत अस्पतालद्धारा सञ्चालित एम्बुलेन्सले आँशिक रुपमा मात्रै सेवा प्रवाह गरेको विवरणमा उल्लेख छ । 

जिल्लामा रहेका कुल एम्बुलेन्समध्ये धुलिखेल अस्पतालका तीन वटा एम्बुलेन्समा १८ जना आकस्मिक चिकित्सकिय प्राविधिक (इएमटि) रहेका छन् । विवरणमा जिल्लामा रहेका ४० वटा एम्बुलेन्समा आकस्मिक चिकित्सकिय प्राविधिक (इएमटि) नभएको, ३५ वटा एम्बुलेन्समा जिपिएस प्रणालीमा आवद्ध नभएको, २८ वटा एम्बुलेन्सका चालकले प्राथमिक उपचार तालिम नलिएको पाइएको छ ।

जिल्लामा सञ्चालन रहेका एम्बुलेन्समध्ये खानीखोला गाउँपालिकामा सञ्चालित दुई वटा र बेथानचोकमा सञ्चालित एउटा एम्बुलेन्सको नविकरण नभएको देखिएको छ । स्थानीय तहहरुबाट प्राप्त विवरण अनुसार जिल्लाको बनेपा नगरपालिकामा सञ्चालित आठ वटा एम्बुलेन्समा सद्भाव सामुदायिक, शीर मेमोरियल, स्पाइनल इन्जुरी पुर्नस्थापना केन्द्र, अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र, रेयुकाई एईको मासुनागा अस्पताल, कृष्णप्रसाद अस्पताल, भोमी अस्पताल र आमा स्मृति क्लबद्धारा सञ्चालित एम्बुलेन्समा समेत जिपिएस प्रयोग नगरिएको, इएमटि नरहेको पाइएको छ । यस्तै जिल्लाको महाभारत गाउँपालिकामा एउटा एम्बुलेन्स सञ्चालनमा रहेपनि इएमटि, जिपिस प्रणालीमा आवद्ध नभएको, मण्डनदेउपुर नगरपालिकामा तीन वटा एम्बुलेन्स सञ्चालनमा रहेकोमा एउटा एम्बुलेन्स बन्द, जिपिएस प्रणाली जडान नभएको, इएमटि नभएको, चौरीदेउराली गाउँपालिकामा रहेका आठ वटा एम्बुलेन्समध्ये सात वटा सञ्चालनमा एक जना चालकले तालिम नलिएको, जिपिएसमा आवद्ध नभएको र इएमटि नरहेको देखिएको छ । 

त्यस्तै धुलिखेल नगरपालिकाभित्र सञ्चालित चार मध्ये नगरपालिकाको एम्बुलेन्समा जिपिएस नभएको, इमटि नभएको, पाँचखाल नगरपालिकामा रहेका चार वटा एम्बुलेन्सका चालकले तालिम नलिएको, इएमटिको व्यवस्था नभएको र जिपिएस प्रणालीमा नचलेको पाइएको छ । जिल्लाको भुम्लु गाउँपालिकाभित्र तीन वटा एम्बुलेन्स सञ्चालनमा रहेकोमा तीन वटै एम्बुलेन्समा आपतकालिन चिकित्सकिय प्राविधिक (इएमटि) नरहेको, बेथानचोक गाउँपालिकामा रहेका दुई एम्बुलेन्समध्ये एउटाको नविकरण नभएको, चालकले तालिम नलिएको, जिपिएस र इएमटिको व्यवस्था छैन । जिल्लाको खानीखोला गाउँपालिकामा सञ्चालित दुई वटै एम्बुलेन्सको नविकरण नभएको, चालकले तालिम नलिएको, जिपिएसमा आवद्ध नभएको र इएमटिको व्यवस्था नभएको, तेमाल गाउँपालिकामा सञ्चालित एउटा एम्बुलेन्स जिपिएसमा आवद्ध नभएको र इएमटि रहेको स्थानीय तहले पठाएको विवरणमा उल्लेख छ । 

रोशी गाउँपालिकाभित्र सञ्चालित तीन वटै एम्बुलेन्सका चालकले तालिम नलिएको, जिपिएसमा नरहेको र इएमटिको व्यवस्था नभएको, नमोबुद्ध नगरपालिकामा सञ्चालन भएको तीन वटा एम्बुलेन्सका चालकले तालिम नलिएको, इएमटि नभएको र जिपिसमा आवद्ध नभएको, पनौती नगरपालिकामा सञ्चालित दुई वटै एम्बुलेन्समा इएमटिको व्यवस्था नरहेको पाइएको छ । 

धुलिखेल अस्पालका आकस्मिक विभाग प्रमुख डा. सानुकृष्ण श्रेष्ठले जिल्लामा सञ्चालित एम्बुलेन्सहरुमा राष्ट्रिय एम्बुलेन्स निर्देशिकाले भने बमोजिमको सुविधा नरहेको बताए । जिल्लामा सञ्चालित अधिकाँश एम्बुलेन्सका चालकले प्राथमिक उपचारको तालिम नलिएको, इएमटिको व्यवस्था नगरेको, जिपिएसमा नभएको र धुलिखेल अस्पतालमा रहेको डिस्प्याच सेन्टर (प्रेषण केन्द्र) अन्र्तगत सञ्चालनमा नरहेको उनको भनाई छ । स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोककी निमिक्त प्रमुख अनिता खनालले जिल्लामा रहेका एम्बुलेन्समा एकरुपता ल्याउन तथ्याङ्क सङ्कलन गरिएको बताइन् । उनले जिल्लामा रहेका एम्बुलेन्सहरु निर्देशिका बमोजिम नरहेको, भाडादरमा एकरुपता नरहेको र आफ्नै हिसाबले सञ्चालनमा रहेकोले सबै एम्बुलेन्सहरुलाई एकै प्रणालीमा ल्याउन जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले काम गर्न लागेको बताएकी छन् । 


प्रतिक्रिया



थप समाचारहरु