पनौती-गैरआवासीय नेपाली संघ (एनआरएनए) ले काभ्रेमा बाढी र पहिरोपछि ध्वस्त भएका संरचनाको पुननिर्माणमा सघाउने प्रतिवद्धता जनाएको छ । काभ्रेको बाढी पहिरो संकटग्रस्त पालिका पनौती नगरपालिकाका वडा नम्वर १,२,३ ३ र १२ मा राहत वितरण गरेको संघले अहिलेलाई तत्कालिन राहत प्रदान गरिएको र आगामी दिनमा पुननिर्माणा पनि सघाउने प्रतिवद्धता जनाएको हो ।
संघका अध्यक्ष डाक्टर बद्री केसीले बाढी र पहिरोमा परेका नेपालीहरुको दुःखमा सघाउनका लागि विभिन्न देशबाट गैरआवासीय नेपालीहरु नेपाल आइपुगेको बताए । विदेशमा पनि एक अर्कालाई दुःख पर्दा नेपाली नेपालीबीच सहयोग आदान प्रदान हुने गरेको बताए । ‘नेपालमा सानो छिस्को खस्दा पनि तपाईंहरुलाई भन्दा बढी पीडा हामीलाई हुन्छ’ केसीले भने, ‘यहाँ बाढी पहिरो जाँदा तपाईंहरु जत्तिकै हामी पनि आत्तिएका छौं, त्यसैले हामी सबैले तुरुन्त सहयोगको अभियान सञ्चालन गरेका हौं ।’
पुर्व मन्त्री तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ का सांसद समेत रहेका गोकुल बाँस्कोटाले गैरआवासीय नेपाली संघलाई उक्त क्षेत्रमा राहत वितरणका लागि समन्वय गरिदिन अनुरोध गरेका थिए । राहत वितरण कार्यक्रममा सहभागी हुँद्यै बाँस्कोटाले विपत्तिमा रहेका नेपालीहरुलाई गैरआवासीय नेपाली संघले गरेको सहयोग महत्वपूर्ण रहेको बताए । ‘विपत्तिमा कुनै दलले झण्डा बोक्नु र राजनीति गर्नु उचित हुँदैन’ पुर्व मन्त्री बाँस्कोटाले भने, ‘सबै मिलेर नागरिकहरुलाई परेको विपत्तिमा मल्हम लगाउँ । राजनीति गर्ने समयमा सबै दलले आफ्ना एजेण्डा प्रस्तुत गरौला ।’
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को आहृवान सहयोग एवं समन्वयमा राष्ट्रिय समन्वय परिषद् यू.केद्वारा पठाइएको राहत पनौती वडा नम्वर १, २ र ३ का १ सय ७८ घर परिवारलाई खाद्यान्न र वडा नम्वर १२ का २ सय घर परिवारलाई टेन्ट ब्लान्केट लगायतका अन्य अत्यावश्यक सामाग्री उपलब्ध गराएको छ । संघकी उपाध्यक्ष राृजिना प्रधान राईले दुःखको समयमा एकले अर्कोलाई साथ दिनुपर्छ भन्दै पीडितको पीडामा मल्हम लगाउन विदेशदेखि आफूहरु आएको बताइन् ।
कार्यक्रममा गैरआवासीय संघका पदाधिकारी तथा केन्द्रीय सदस्यहरु, पुर्व सांसद बसुन्धरा हुमागाई, पूर्व नगरप्रमुख भीम न्यौपाने, वडा अध्यक्ष जयराम केसी, पुर्व वडा अध्यक्ष इश्वर जंगम लगायतका ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।
त्यस्तै आज सोमबार नै बेथान्चोकका वडा नम्वर २ र ३ मा १ सय ५ घर परिवारलाई खाद्यान्न सहितका राहात सामाग्री उपलब्ध गराईएको छ । पनौती ११ नम्वर वडामा नेपाल इन्भेस्टमेन्ट बैकका तर्फबाट पुर्व मन्त्री गोकुल बास्कोटाको समन्वयमा ३ सय ७३ घर परिवारलाई राहत सामाग्री उपलब्ध गराईएको छ । मण्डनदेउपुरको वडा नम्वर १०, ११ र १२ नम्वर वडाका ५३ घर परिवारलाई राहत उपलब्ध गराईएको छ । बाँस्कोटाले पहिलो चरणमा पनौती, बेथान्चोक, मण्डनदेउपुर लगायतका पालिकामा राहतका लागि समन्वय गरेका छन् भने दोश्रो चरणमा बेथान्चोक ४, भुम्लु र मण्डनका केहि क्षेत्रका लागि समन्वय गरिरहेका छन् । जिल्लाका विभिन्न स्थानमा समेत गरी सोमबार मात्रै १ हजार घर परिवारलाई राहत वितरण गरिएको छ ।