नागरिकता ऐन संशोधनसँगै काभ्रेमा पहिलोपटक ३ जनालाई आमाको नाममा नागरिकता


मेचीकाली

धुलिखेल- नागरिकता ऐन संशोधनसँगै काभ्रेमा तीन जनालाई आमाको नाममा नागरिकता प्रदान गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले बाबुको पहिचान हुन नसकेका नेपाली आमाबाट जन्मिएर नेपालमा बसोबास गरेका तीन जनालाई आमाको नामबाट नेपाली नागरिकता प्रदान गरेको हो । 

कार्यालयले आज जिल्लामा नै पहिलो पटक आमाको नामबाट नागरिक दिएको काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताए । 

नेपाल नागरिकता ऐन २०६३ (पहिलो संशोधन २०७९) मा भएको व्यवस्था अनुसार बाबुको पहिचान हुन नसकेका नेपाली आमाबाट जन्म भएका बनेपा नगरपालिका–५ का १९ वर्षीया रिमा कपाली उहाँकी १७ वर्षीया बहिनी टिना कपाली र जिल्लाको मण्डनदेउपुर नगरपालिका–७ का सुसान श्रेष्ठलाई आमाको नामबाट वंशजको आधारमा नागरिकता प्रदान गरिएको पोखरेलले बताए । 

कार्यालयले सुसानलाई आमा माईली श्रेष्ठ तथा रिमा र टिनालाई आमा हिरामाया कपालीको नामबाट नागरिकता प्रदान गरेको हो । 

नेपाल नागरिकता ऐन २०६३ मुल ऐनको दफा ८ को उपदफा (१) को खण्ड क पछि खण्ड (क १) थप गरी नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बासोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिको हकमा निजको बाबुको पहिचान हुन नसकेको व्यहोराको निज र निजको आमाले गरेको स्वघोषणाको आधारमा आमाको नामबाट नागरिकता लिन सक्ने उल्लेख छ । बाबुको पहिचान नभएका कारण नागरिकता लिनबाट बञ्चित भएका १६ वर्ष उमेर पुगेका नेपाली आमाका सन्तानले नयाँ नागरिकता ऐन अनुसार आमाको नामबाट नागरिकता लिन पाउने भएपछि धेरै बालबालिका खुसी भएका छन् । 

कार्यालयले यसअघि जन्मसिद्ध नेपाली नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन सुरु गरेको थियो । एक साताको अवधिमा कार्यालयले दुई जनालाई जन्मसिद्ध नेपाली नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताएका छन् ।


प्रतिक्रिया



थप समाचारहरु