तिनपिप्लेको पहिचान मास्दै पाँचखाल नगर, जोगाउन अघि सरे श्रीकृष्ण


मेचीकाली

पाँचखाल–दुर्घटना नियन्त्रण गर्न भन्दै पाँचखाल नगरपालिका ६ तिनपिप्लेमा रहेको ऐतिहासिक वरपिपलको रुख मास्न लागिएपछि यसको चौतर्फी विरोध भएको छ । 

पाँचखाल नगरपालिकाले तिनपिप्लेको घुम्तीमा रहेको वरपिपलको रुखसमेत मासिनेगरी सडक विस्तार गर्न लागेपछि सम्पदा संरक्षणका अभियन्ता श्रीकृष्ण धिमाल पुरातत्व विभाग पुगेका छन् । स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय सरकारलाई पुरातात्विक महत्वका सम्पदाको संरक्षण गर्ने दायित्व प्रदान गरेको छ । तर, सडक विस्तारको नाममा पुरातात्विक चौतारो र वरपिपलको रुख मास्न लागिएपछि धिमालले पुरातत्व विभागमा प्राचिन चौतारो र वरपिपल बचाउन निवेदन दिएका छन् ।

धिमालले तिनवटा पिपल वृक्षबाट नामाकरण भएको तिनपिप्लेको इतिहास नामेट पार्न पाँचखाल नगरपालिकाका जनप्रतिनिधिहरु लागिरिेको आरोप लगाउँदै वरपिपल र चौतारो संरक्षणका लागि आवश्यक कार्बाही गर्न विभागसँग माग गरेका छन् । 

धिमालको निवेदनपछि आजै पुरातत्व विभागले स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरलाई पत्र पठाउँदै यसबारे के भएको हो स्थलगत निरिक्षण गरी प्रतिवेदन पेश गर्न भनेको छ । चीन सरकारको सहयोगमा निर्माण गरिएको अरनिको राजमार्ग बनाउँदा पनि तिनपिप्लेको घुम्तीमा रहेको चौतारो र वरपिपल जोगाइएको थियो । पटकपटक राजमार्ग विस्तार गर्दा पनि सरकारले पुरातात्विक सम्पदा मास्ने काम गरेन । तर, अहिले यसको संरक्षण गर्ने दायित्व भएको स्थानीय सरकारले नै सम्पदा मास्न लागेपछि आफूले यसलाई जोगाउन अघि सरेको धिमालले बताए । 

प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार यस्ता सम्पदा  मास्नु परे वा भत्काउनु परे पुरातत्व विभागको अनुमति अनिवार्य छ । कसैले प्राचीन स्मारक संरक्षण ऐन २०१३ विरुद्ध कार्य गरे कानुन अनुसार  १५ बर्ष सम्म जेल सजायको व्यवस्था छ।

 धिमालले आफू विकास विरोधी नभएको पनि प्रष्ट पारेका छन् । उनले भनेका छन्, ‘तिनपिप्लेको इतिहास सँग जोडिएको प्राचीन धरोहर नष्ट गर्न १८ जना मरिसके भनेर राजमार्गमा भएको दुर्घटनालाई वरपिपललसँग जोड्ने ? के त्यो सडक दुर्घटनाहरु राजमार्गबाट  ७ मिटर दुरिमा टाढा रहेको वरपिपलको वृक्षले गराएको हो भनेर बोल्न तिमीहरुलाई लज्जाबोध हुँदैन ? प्रमाणित गर्न सक्नुहुन्छ , त्यो दुखद् मृत्यु वरपिपलको वृक्षले गराएको हो भनेर ? मन लाग्दि बोल्ने ? के भोलि सडक चौडाभएर  दुर्घटना भएपछि १०० जनाको मृत्यु हुँदैन भनेर कागज गर्न सक्नुहुन्छ ? इश्वर बन्न नखोज्नुस्, एक थोपो रगत र एक मुठि श्वास रहुन्जेल तिमीहरुका कानुन विपरीत कार्यको भण्डाफोर गरिने छ । विकासको विरोध गरेको हैन विकल्प हुँदा हुँदै  वरपिपल काट्न पाइँदैन ।  वरपिपल बचाएर सडक बनाऔँ ।’


प्रतिक्रिया



थप समाचारहरु