चितेमा ड्याम थुनी मूहानबाट ६ इन्च पानी तान्ने कुराले चाखोलाको शीरदेखि तिरसम्मै तनाव


मेचीकाली

-होमप्रसाद चौंलागाँईं


मण्डनदेउपुर खासमा कृषि नगर हो । वालुवापाटी, नयाँगाउँ र गैह्रिविसौना देउपुर सहितको ३ देउपुर र ज्याम्दी, चण्डेनी, जैसिथोक र महादेवस्थान सहितको ४ मण्डनको ७ ओटा गाउँ विकास समिति मिलेर बनेको नगरपालिकाका नागरिकहरुको आम्दानीको मुख्य स्रोत भनेको कृषि नै हो । धेरै कृषि र केहि पर्यटन यस नगरपालिकाको आम्दानीको प्रमुख स्रोत हो । 

सायद देशकै र वागमती प्रदेशमा चैत्र र असार गरी २ पटक धान फल्ने फाँट मण्डनदेउपुरमा धेरै छ । यसको मतलव यो काभ्रेको उर्वर कृषि भूमी हो । यहाँको वेसी भेगहरुमा आलु, गोलभेंडा, फर्सी, खुर्सानी लगायतका थुप्रै तरकारी बाली उत्पादन हुने गर्दछ । यो खालको कृषि उत्पादनको सिंचाइको एक मात्र स्रोत भनेको एउटा सानो खोला–चाखोला नै हो । सानै भएपनि बाह्रै महिना सामान्य ढंगको पानी उपलब्ध भइरहने यो खोलाको रसिलो विशेषता हो । 

नगरकोट आसपासबाट प्रारम्भ हुने चाखोलाको मुहान भनेकै चिते हो । माथिबाट स–साना मूलहरुको रुपमा सामान्य ढंगले संकलन हुने पानी चितेमा जम्मा हुन्छ र त्यहाँबाट उर्वर फाँटहरुमा पानीको सर्कुलेशन हुने गर्दछ । नगरको नयाँगाउँ, देउपुर र महादेवस्थान, जैसिथोक लगायतको धेरै भूगोलहरुमा यसैको पानीले सिंचित गरिन्छ । वर्षायाममा समान्य मात्रामा पानी देखिने गरेपनि हिउँदमा कमिलो तर्ने चाखोलामा पानीको अन्य साखै कुनै स्रोत छैन ।

देउपुर र मण्डन कृषि र पर्यटन भन्ने कुराको आत्मासात गर्ने हो भने यो नगरपालिकाको एउटा बहुप्रतिष्ठत पर्यटकीय गन्तब्यको रुपमा नगरकोट पर्दछ । नगरकोट आसपासमा जम्माजम्मी ६८ भन्दा वढी होटल ब्यवसायहरु संचालिन छन् । त्यसमध्ये यो योजनाले कभर गर्ने नगरभित्रको २५–२६ ओटा होटल व्यवसायहरु हो । संख्या जतिसुकै भएपनि पानीको सुविधा पु¥याउनु स्थानीय सरकारको दायित्व हो । 

यसै सन्दर्भमा नाल्दुम नगरकोट लिफ्ट खानेपानी योजनाको लागि वागमती प्रदेश सरकारको तर्फबाट २७ करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन गर्न लगाई मण्डनदेउपुरको चितेमा बाँध बाँधी नगरकोट आसपासका ३०० भन्दा वढी घरहरुमा खानेपानीको प्रबन्ध मिलाउने कुरा यस अघि नै चलेको विषय हो । भ्रम राख्नु जरुरी छैन । योजनाले ३ सए भन्दा वढी घरधुरीहरु समेटेपनि १ सए घरधुरी भक्तपुरस्थित चाँगुनारयण नगरपालिकाको भएपनि २ सएभन्दा वढी घरधुरी मण्डनदेउपुर नगरपालिका भित्रै पर्दछ । 

मानिसको जीवन धान्नका लागि जतिबेलै आवश्यक पर्ने पानीजस्तो संवेदनशिल चिजको व्यवस्था हुनु पर्ने कुरा कसैलेपनि विरोध गर्न मिल्दैन । त्यसो भनिंरहँदा प्रकृतिक रुपमा एकतारि प्रयोग भइरहेको पानी अर्कोतिर लिफ्टिङ गरेर डाइभर्ट गर्दा पर्ने दीर्घकालिन प्रभावको सन्दर्भमा जन आक्रोस हुने कुरालाई सामान्यमात्र नभई महत्वपूर्ण रुपमा लिनु पर्दछ । 

त्यसै भैरहेको छ, हाल मण्डनदेउपुरमा । मण्डनदेउपुरको लुभागाउँ फेदी चिते स्थित स्थानीय बलराम रञ्जितकारको नाममा रहेको ९ रोपनी क्षेत्रफलको जग्गाबाट करिब ४ रोपनी क्षेत्रफलको जग्गा बाँध बाँध्नको लागि खरिद गरी बाँध बाँध्न शुरु भएको थाहा पाएपछि मण्डनदेउपुरको वेसी भेगमा सर्वत्र खैलाबैला मात्र नभएर विरोध भैरहेको छ । 

खास गरी नेपाल सरकारबाट ठूलो भोलुममा बजेट ब्यवस्थापन भई संचालनमा आएको चाखोला सिंगे चैनपुर कूलो, चाखोला किन्देउ किर्तेटार कूलो, चितेदोभान देउपुर कूलो, टटले छेडा धाइटार कूलो, मूहाने मेले सालठाँटी धाइटार कूलो, चाखोला मैता कुन्ता कुन्ता, चाखोला चनौटे कूलो, चाखोला बेलबोटे लगायतका विभिन्न कूलो र राजकूलाको बाँध र मुहानहरु आसपासमा हाहाकारमा चलेको छ । 

हिउँदे धानमा सिंचाई गर्ने बेलामा रातभर नसुती पालो कुर्दा समेत सिंचाई गर्न मुस्किल हुने मोहीहरु चितेमा ड्याम थुनी ६ ईन्च पानी नगरकोट र चागुनारायणको वडा नं. ६ (साबिकको वडा नं. ७ र ८) को भट्टीडाँडा आसपासका केहि वस्तीहरुमा पु¥याउने कुराले वेसी भेगका किसानहरु चिन्तित मात्र छैनन् । आन्दोलिन र न्यायको ढोका ढक्ढकाउने तहको चिन्तामा डुब्न थालेका छन् । हिजो निर्वाचित गरिएको आज निर्वाचितहरुबाटै लात हान्ने काम भयो भनेर स्थानीयहरु आक्रोसित बनिरहेका छन् । 

 यो र यति सन्दर्भ उठाइरहँदा नगरकोट भेगको पानीको समस्या समाधानको विरोध भएको बुझ्नु हुँदैन । त्यहाँको पानीको समस्या समाधानको लागि बैकल्पिक मूलको खोजी गरिनु पर्दछ । जसले गर्दा वेसी भेगमा मानव सिर्जित समस्या नहोस् र माथिल्लो भेगको पानीको समस्या समाधानपनि । सरकारको काम एकातिरको समाधान खोज्दा अर्कोतिर पीडा निम्ताउने खालको बन्नु हुँदैन । यसको लागि समयमै सोच्न जरुरी छ । स्थानीय राजनितिक दलका प्रतिनिधिहरुपनि यसमा चनाखो बन्नु पर्दछ । एउटै नगरपालिका भित्रका नागरिकहरुलाई कतै काखा र कतै पाखा गरिनु हुँदैन । यसको लागि एकमात्र उपाय भनेको बैकल्पिक मूलको खोजी गरी वेसी भेगको फाँटहरुमा असर नपार्ने र माथील्लो भेगका नागरिकहरुलाई पानीको सहज व्यवस्थापन नै हो । 

प्रतिक्रिया



थप समाचारहरु