सिमरा, बारा – शैक्षिक परामर्श संघ नेपाल (ECAN) द्वारा आयोजित ECAN Leaders’ Meet 2.0 को अवसरमा ECAN काभ्रेलाई ‘Emerging Branch of the Year 2025’ बाट सम्मानित गरिएको छ।
उक्त कार्यक्रम श्रावण ९ र १० गते सिमरास्थित होटल इच्छामा भव्य रूपमा सम्पन्न भएको हो, जसको आतिथ्य ECAN मकवानपुरले गरेको थियो।
संघको आन्तरिक सुदृढीकरण, शाखाहरूको क्रियाशीलता, र अन्तर्राष्ट्रिय शैक्षिक साझेदारीमा देखिएको प्रगतिको मूल्याङ्कनका आधारमा प्रदान गरिने यस सम्मानले ECAN काभ्रेको कार्यसम्पादनलाई संस्थागत रूपमा उच्च मूल्याङ्कन गरिएको पुष्टि गर्दछ।
उक्त सम्मान रास्वपा सांसद माननीय मनीष झा, ECAN का पूर्व अध्यक्ष प्रकाश पाण्डे, तथा हालका अध्यक्ष सेशराज भट्टाराईको संयुक्त उपस्थितिमा ECAN काभ्रेका अध्यक्ष भुवन रायमाझीलाई हस्तान्तरण गरिएको थियो।
सम्मान ग्रहणपछि अध्यक्ष रायमाझीले काभ्रे शाखाको तर्फबाट गहिरो आभार प्रकट गर्दै भन्नुभयो, “ECAN काभ्रेलाई यो सम्मान प्राप्त हुनु हाम्रो सम्पूर्ण टिमको समर्पण, पारदर्शिता र दूरदृष्टियुक्त नेतृत्वको प्रतिफल हो। हामीले संगठनको मापदण्ड र दृष्टिकोणलाई आत्मसात गर्दै आगामी दिनहरूमा अझ मजबुत सहभागिता, सहकार्य र परिणाममुखी गतिविधि विस्तार गर्दै जाने छौं।”
उहाँले थप भन्नुभयो, “यो सम्मानले हाम्रो जिम्मेवारीलाई झन् बढाएको छ। हामी आगामी दिनहरूमा पनि विद्यार्थी, अभिभावक र सरोकारवालाबीच प्रभावकारी सञ्जाल निर्माण गर्दै, गुणस्तरीय शैक्षिक परामर्श सेवामा योगदान पुर्याइरहनेछौं।”
कार्यक्रममा मुलुकभरका शाखा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। ECAN काभ्रेको सफल कार्य सम्पादनप्रति प्रशंसा व्यक्त गर्दै विभिन्न वक्ताहरूले शाखाको गतिशीलता र योगदानलाई उदाहरणीय मानेका थिए।