काभ्रेमा ‘भदौ २४’ का आरोपी धमाधम पक्राउ


मेचीकाली

काभ्रे – जेन्जी आन्दोलनको बहानामा काभ्रेमा सरकारी र निजी सम्पतिमाथि तोडफोड र आगजनी गर्नेहरु धमाधम पक्राउ पर्न थालेका छन् । काभ्रेमा गत भदौ २४ गते सार्वजनिक र निजी सम्पतिमा विध्वंश मच्चाइएको थियो । सो घटनामा संलग्न रहेको आरोपमा ७ जनालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको हो ।

जिल्लाका विभिन्न सरकारी तथा प्रहरीको कार्यालय भवन र सम्पति माथि तोडफोड, आगजनि र लुरपाटमा संलग्न  व्यक्तिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए । उक्त दिन बनेपा नगरपालिका, इलाका प्रहरी कार्यालय बनेपा, जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे, नेकपा एमाले र नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालय, व्यवसायी रामेश्वर थापाको घर, धुलिखेलका नगर प्रमुख अशोक व्याञ्जुको घर, पनौतीका पूर्वमेयर भीम न्यौपानेको घर जलाइएको थियो । 

प्रहरीका अनुसार ती घटनामा संलग्न रहेको आरोपमा पक्राउ पर्नेहरुमा पनौती नगरपालिका वडा नं ३ का २८ वर्षीय अनिष सापकोटा, पनौती नगरपालिका वडा नं ८ का २६ वर्षीय सुमन के.सी, बनेपा नगरपालिका वडा नं १० का २१ वर्षीय साकार के.सी, बेथानचोक गाउँपालिका वडा नं ६ का १९ वर्षीय समिर तामाङ, बेथानचोक  गाउँपालिका    वडा नं ३ का ३२ वर्षीय चिउरे भन्ने होम प्रसाद तिमिल्सना, पनौती नगरपालिका वडा नं २ का २४ वर्षीय स्यान्जी भन्ने सुवास तामाङ, महाभारत गाउँपालिका वडा नं ४ का २३ वर्षीय नेमासाङ मोक्तान रहेका छन् । पक्राउ परेकाहरुमध्ये केही पटक अवराधी भएकोसमेत पाइएको छ । पनौती ३ का अनिस सापकोटा विरुद्ध २०७२ सालमा अभद्र व्यवहार मुद्धा दर्ता भएको, होम प्रसाद तिमिल्सना विरुद्ध २०८१ सालमा अभद्र व्यवहार मुद्धा दर्ता भएको, सुवास तामाङ विरुद्ध २०८१ मा तीन पटक चोरी मुद्धा २ वटा र २०८२ सालमा एक वटा मुद्धा दर्ता भएको प्रहरीले जनाएको छ । 

अनिस सापकोटाले केही दिनअघि मात्र आफ्नो बारेमा समाचार लेख्ने पत्रकारविरुद्ध समेत सामाजिक सञ्जालमा तथानाम लेखेका थिए । 

पक्राउ परेकाहरुमाथि जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट ७ दिनको म्याद थप भइ आवश्यक अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया



थप समाचारहरु